पोखरा विश्वविद्यालयको शिक्षण अस्पताल सञ्चालनमा

कास्की/७ जेठ – पोखरा विश्वविद्यालय अन्तर्गतको शिक्षण अस्पताल सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका–३० खुदीमा रहेको शिक्षण अस्पतालको उद्घाटनसँग सञ्चालनमा आएको हो ।


१ सय बेडको शिक्षण अस्पतालको आज सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेका हुन् । विश्वविद्यालयले गत भदौ २२ देखि आंशिक रुपमा सञ्चालन गरे पनि भवन निर्माण सकिएपछि सोमबारदेखि पूर्ण रुपमा अस्पताल सञ्चालन गरेको हो ।


बालरोग, स्त्री तथा प्रसुति, हाडजोर्नी तथा नशा, दन्त चिकित्सा लगायतका सेवा अस्पतालबाट सुरु भइसकेको छ । अस्पतालमा डेन्टल कार्यक्रम चलाउन पूर्वाधार तयार भइसकेको विश्वविद्यालयले जनाएको छ ।


चिकित्सा शिक्षाका कार्यक्रमहरुलाई प्रयोगात्मक अभ्यास गर्न अस्पताल आवश्यक पर्ने भएकाले विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालनमा ल्याएको जनाएको छ । साथै स्वास्थ्य विज्ञानतर्फ चिकित्सा शिक्षा आयोगले दिएको कोटामा विश्वविद्यालयले पब्लिक हेल्थ, फार्मेसी, बीपीटी, बीएस्सी नर्सिङ, बीएनएस कार्यक्रममा पठनपाठन सञ्चालनमा आएको छ ।


१ सय बेडसम्मको शिक्षण अस्पतालको अनुमति गण्डकी प्रदेश सरकारले दिएको बताउँदै मेडिकल शिक्षासँगै गुणस्तरीय सेवा प्रदान गरेर नागरिकको विश्वास जित्न मुख्यमन्त्री खगराज अधिकारीले आग्रह गरे ।