विद्यालय हिँडेका अपकोस बेपत्ता, खोजिदिन परिवारको आग्रह

युवराज रेग्मी
दमक/२८ बैशाख – झापाको कमल गाउँपालिका स्थित श्री मङ्गलमय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत एक विद्यार्थी बेपत्ता भएका छन् ।


कमल गाउँपालिका वडा न ५ स्थित देबि थापाको घरमा आफन्त पर्ने दाइ रामकुमार नेपालीको डेरामा बस्दै आएका गहुँगोरो वर्ष १६ को अपकोस दर्जी नाम गरेका बालक हिजो बिहिवार देखि बेपत्ता भएको उनका बुबा रमेश दर्जीले बताएका छन् ।


२७ गते बिहिवार विद्यालय हिँडेका अपकोस विद्यालय नपुगेको जानकारी पाएपश्चात् निजका दाइ राम कुमारले इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराएका थिए ।


विद्यालय जान्छु भनी हिँडेको र हालसम्म बेपत्ता रहेका अपकोसले पुस्तक कोठामै छोडेको र पुस्तक बोक्ने झोलामा केही लुगाहरू र साथमा रु १००० नगद समेत लगेको पाइएको निजका दाजु राम कुमारले बताए ।


विद्यालय जान्छु भनी हिडेर विद्यालयमा हाजिर नै नभइ अन्यत्र गएको र हिजो बिहिवार साँझसम्म कोठामा नफर्किएकोले उनलाई कसैले ललाइफकाइ अनुचित प्रभावमा पारी अन्यत्र लगेको हुनसक्ने निजका बुबा रमेश दर्जीले बताए ।


बेपत्ता बालकको आमा गान्धिरा दर्जी हाल वैदेशिक रोजगारीको क्रममा कुबेतमा रहेको र बुबा रमेश पनि सुनसरी जिल्लाको धरानमा रोजगारीमा रहेकाले उतै बस्दै आएका थिए ।


रोजगारीका क्रममा घरबाहिर रहेकोले उनका अभिभावकले आफन्त पर्ने दाजु राम कुमार सँग अध्ययन तथा हेरचाहको लागि निज बालक अध्ययन गर्ने विद्यालय नजिकै रहेको डेरामा राखिदिएको बेपत्ता बालकका बुबा रमेशले बताए ।


बिहिवार विद्यालय समयदेखि बेपत्ता रहेका बालक यो समाचार तयार पार्दासम्म कहि कतै नभेटिएको तथा आफ्नो कोही साथी या आफन्तकोमा समेत गएको नपाइएकोले निजका बुबा रमेशले आफ्नो छोरा खोजिदिन अपिल गरेका छन् ।


साथै कसैले माथिको तस्बिर भएका बेपत्ता निज बालकलाई कतै देख्नुभएमा नजिकको प्रहरी कार्यालय या आफ्नो सम्पर्क नम्बर ९८१४३५३९५२ मा खबर गरीदिन बालकका बुबाले अनुरोध गरेका छन् ।