काठमाडौँ /२७ बैशाख – नेपाल शिक्षक महासङ्घको अध्यक्ष पदमा लक्ष्मीकिशोर सुवेदीलाई चयन गरिएको छ । महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनबाट उनलाई अध्यक्ष पदका लागि चयन गरिएको हो ।
यस अघि नेपाल शिक्षक महासङ्घमा महासचिव रहेका सुवेदी नेपाल शिक्षक संघको तर्फबाट अध्यक्ष पदमा चयन भएका हुन् । त्यसैगरी सहअध्यक्षमा नानु माया पराजुलीलाई चयन गरिएको छ । उपाध्यक्षमा गंगा पौडेल, जयानन्द ठाकुर, हरेन्द्र प्रसाद चौरसिया, पुष्पराज कुँवर, विक्रम झा, देविदत्त पौडेल रहेका छन् । उपमहासचिव अर्थमा मदनराज जोशीलाई ल्याइएको छ । त्यसैगरी उपमहासचिव गुरु प्रसाद पौडेल र पुष्कर सापकोटा बनेका छन् ।
सचिवमा कल्पना पनेरु, केशव राज रेग्मी, अर्जुन नगरकोटी, जगदीश शाह, लालबाबु प्रसाद जोशी, हरी प्रसाद जोशी र सुरेश शाह सोमार रहेका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठन घोषणा कार्यक्रममा नआएपछि संगठनको भागमा परेका पदाधिकारीहरूको पद खाली राखेर अन्यमा घोषणा गरिएको छ । संगठनको भागमा उपाध्यक्ष १, महासचिव १, उपमहासचिव १, सचिव १ र सदस्य ६ गरी ११ जनाको पद खाली राखिएको छ ।
विवाद कायमै
नेपाल शिक्षक महासङ्घको महाधिवेशन वैधानिक तरीकाले नगरिएको भन्दै बहिस्कार गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन र आबद्ध घटक संगठनहरुविच अझै सहमति जुट्न सकेको छैन । संगठनले विधानमा व्यवस्था भए अनुसार २०७८ पछि स्थायी शिक्षकहरूलाई समावेश गर्नुपर्ने, स्थानीय तह, जिल्ला, प्रदेशदेखिनै अधिवेशन गरेर महाधिवेशन गर्नुपर्ने र महासङ्घ पुनर्गठन गर्नुपर्ने अडान राख्दै आएको छ ।
आज नेपाल शिक्षक महासङ्घका पदाधिकारी घोषणा गरिएपछि महासङ्घलाई वैधानिक बनाउन हरेक विकल्पमा जाने नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव हंस शाहीले बताएका छन् । उनले विधिसङ्गत वैधानिक नभएकोले मान्य नहुने बताउँदै भोलि पत्रकार सम्मेलन गरेर यसबारे धारणा सार्वजनिक गरिने बताए ।
कानुनी उपचारमा जानु हुन्छ की हुँदैन भन्ने खबर एजुकेशनको प्रश्नमा महासङ्घलाई वैधानिक बनाउन हरेक विकल्पमा जाने तयारी रहेको जानकारी दिए ।
नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले धेरै पटक आग्रह गर्दा पनि संगठन सहमतिमा नआएको बताए । उनले महाधिवेशन गर्नका लागि नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्षले निर्णयहरूमा हस्ताक्षर गरेको बताउँदै सहमतिमा नआएपछि घोषणा गर्न बाध्य भएको बताए ।



