राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको रकम सिधै स्थानीय तहमा पठाइने

काठमाडौं/२४ बैशाख – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको रकम सिधै पालिकाहरूलाई नै उपलब्ध गराउने प्रस्ताव अघि सारेको छ । आर्थिक वर्ष २०८१ ०८२ मा आर्थिक वर्षको सरुमा नै पालिकाहरूलाई रकम उपलब्ध गराउने गरी प्रस्ताव अघि सारेको हो ।


पालिकाहरूले नै विद्यालयहरूलाई आवेदन माग गरेर आवश्यकता अनुसार रकम उपलब्ध गराउने छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको रकम शिक्षा मन्त्रालयले आवेदन मागेर वितरण गर्दा रकम ढिलो जाने, बेरुजु धरै हुने लगायतका कुराहरूलाई रोक्न सिधै पालिकाहरूलाई पठाउने गरी प्रस्ताव अघि सारिएको छ ।


चालु आर्थिक वर्षमा भवन निर्माणका लागि समय कम भएपछि यो वर्षको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत चैतमा स्थगन गरेको थियो । मन्त्री स्तरीय निर्णय गर्दै स्थगन गरेको थियो ।


साथै विद्यालय भवन निर्माण, सूचना प्रविधि ल्याब र प्राविधिक धार सञ्चालनको लागि आगामी आर्थिक वर्षदेखि बजेट निर्माणकै क्रममा स्थानीय तहमा पठाउने गरी आवश्यक तयारी गर्ने मन्त्री स्तरीय निर्णय गरेको थियो ।


मेघा किचनको प्रस्ताव


मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को बजेट मार्फत दिवा खाजाका लागि मेघा किचेनको प्रस्ताव गरेको छ । दिवा खाजाको रकम थोरै भएपछि मेघा किचेनको प्रस्ताव गरेको हो ।


सम्भव हुने र सहरी क्षेत्रका पालिकाहरूमा विद्यार्थीहरूका लागि दिवा खाजा एकै ठाउँमा पकाउने र विद्यालयहरूलाई वितरण गरिने प्रस्तावमा छ ।


छात्रवृत्तिको रकम बढाउन प्रस्ताव


मन्त्रालयले गरिब विद्यार्थीहरूका लागि छात्रवृत्तिको रकम बढाउन प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०८१ ०८२ को बजेट मार्फत सो रकम बढाउनु पर्ने प्रस्ताव गरेको छ । कक्षा ६ भन्दा माथिका गरिब बालबालिकाहरूका लागि शैक्षिक सामग्री किन्न पुग्नेगरी रकम उपलब्ध गराउनु पर्ने भन्दै प्रस्ताव गरिएको जनाएको छ ।