झापा/२१ बैशाख – कक्षा १२ को परीक्षा दिएर फर्कदै गरेकी छात्रामाथि गोली प्रहार भएको छ । उदयपुर घर भई झापाको दमकमा डेरा गरी बस्दै आएकी एलिका गजमेर माथि गोली प्रहार भएको हो ।
दमकस्थित हिमाली माविकी कक्षा १२ की छात्रा मोडेल क्याम्पसबाट परीक्षा दिएर कोठातर्फ जाँदै गर्दा शुक्रबार दिउँसो करिब साढे ११ बजेतिर दमक–५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान नजिकै गोली प्रहार भएको स्थानीयले बताएका छन् ।
पेटमा एक राउन्ड गोली लागेको उनको लाइफलाइन अस्पतालमा उपचार भइरहेको स्थानीयले खबर एजुकेशनलाई जानकारी दिएका छन् । प्रत्यक्षदर्शीका अनुसार गोलीको आवाज सुनेर हेर्दा एलिका गजमेर पेट समात्दै उठेको र हस्पिटल पठाइएको बताएका छन् । उनीहरूले प्राप्त गरेको प्रवेशपत्र समेत प्रहरीलाई दिएको बताए । यस विषयमा घटना बुझ्न प्रहरी टोली अस्पताल पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



