काठमाडौँ /१४ बैशाख- नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले शिक्षकको विचार कसैसँग मिल्यो भन्दैमा शिक्षा मन्त्रीले कारबाही गर्न नमिल्ने बताएका छन् । शिक्षकहरू पेसागत हकहित र मर्यादाको सुनिश्चितताका लागि लोकतन्त्रको पक्षमा उभिएको भन्दै कारबाही गर्न नमिल्ने बताएका हुन् ।
आज युनाइटले आयोजना गरेको कार्यक्रममा बोल्दै विद्यालयमा शिक्षक र विद्यालय कर्मचारीहरूको समस्या रहेको बताउँदै शिक्षा मन्त्रीले दिएका अभिव्यक्तिहरू उल्टो भएको बताए ।
उनले भने “शिक्षा मन्त्रीलाई भेटेर शिक्षामा यस्ता समस्या छन्, अवस्था यो यो हो भन्यौँ, ठिकै व्यवहार गर्नुभयो, तर हामी फर्किसकेपछि उहाँले अभिव्यक्तिहरू दिनु भएको छ । हामीलाई त के लागेको थियो भने सच्चा अभिभावक, शिक्षा क्षेत्रको कमान्डर, यो शिक्षा क्षेत्रको विकृति कसरी हटाउने होला, शिक्षकहरूले तलब खान पाएका छैनन्, बाल शिक्षक , विद्यालय कर्मचारी, राहत, अनुदान शिक्षक, साविक उच्च माध्यमिक शिक्षक लगायत सबैको अवस्था बिजोक छ । यसलाई कसरी राम्रो गर्ने होला छिटो भन्दा भन्दा छिटो शिक्षा ऐन ल्याउन तिर लाग्नु हुन्छकी भन्ने आशा राखेको त उल्टो को शिक्षकको विचार को पार्टीसँग मिल्छ भन्नु भयो ।”
गिरीले पार्टीसँग विचार मिल्छ त भन्दै शिक्षक बौद्धिक जमात रहेको र हरेक घटना परी घटनाको विश्लेषण गर्ने बताए । त्यसलाई राजनीति मान्ने हो भने निरन्तर गर्ने उनको भनाई थियो ।
उनले शिक्षकले विश्लेषण र विचार नराखे कस्ले राख्ने प्रश्न गरेका छन् । शिक्षकको विचार कसैसँग मिल्यो भन्दैमा कारबाही गर्न नमिल्ने उनको धारणा थियो । साथै पेसागत संगठनहरू लोकतन्त्रका लागि योगदान गरेको भन्दै लोकतन्त्रमै पेसागत हकहित मर्यादाको सुनिश्चितता हुने बताए । उनले भने “हाम्रो पेसागत हकहित मर्यादाको सुनिश्चितताका लागि लोकतन्त्रको पक्षमा उभिन्छौँ । त्यसलाई राजनीति मान्ने हो भने हामी गरिरहन्छौँ । किनभने हाम्रो पेसागत सुरक्षा त्यही लोकतन्त्रमा हुन्छ ।”
सरकारी राजस्व खाएर शिक्षकले राजनीति गर्न पाईदैन भन्ने हो भने, शिक्षा मन्त्रीले पनि देशकै राजस्व खाएर राजनीति गरेको र पार्टीको भाषण गरेको आरोप उनको छ ।