मेरो सबै जीवन विद्यालय मै घण्टी बजाएर बित्यो, राज्यबाट सेवा सुविधा केही पाएको छैन

हेटौंडा/११ बैशाख – सामुदायिक विद्यालयका कर्मचारीहरूले आफ्नो समस्याबारे मुद्दा उठाइरहेका छन् । आफूहरूले पाउँदै आएको सेवा सुविधा लगायत राज्यले दरबन्दीको व्यवस्था गर्नुपर्ने उनिहरूको मूल माग रहेको छ । लामो समयदेखि विद्यालयमा काम गर्दा पनि उमेर सकिएसँगै रित्तो हात फर्कनुपर्ने पिडा एकातिर छ भने न्यूनतम तलब, सेवा सुविधामा काम गर्न बाध्यछन् । कतिपय विद्यालयले सङ्घीय सरकारले दिएको अनुदानबाट कर्मचारी राख्ने गरेका छन् । तर त्यो रकम न्यून रहेको उनिहरूको भनाई छ । अर्को तर्फ केही विद्यालयले आफ्नो निजी स्रोतबाट तथा स्थानीय तहको सहयोगमा अपुग रकम थपेर दिने गरेका छन् । यसै सवालमा हेटौंडा ४ कर्रामा रहेको श्री श्रमिक माध्यमिक विद्यालयका कार्यालय सहयोगी अर्जुन रिजाल सँग खबर एजुकेशनले गरेको छोटो संवाद ।


हजुर कहीलेदेखि कुन पदमा यो विद्यालयमा कार्यरत हुनुहुन्छ ?


म २०४२ साल फागुन १ गतेदेखि कार्यालय सहयोगीका रूपमा यो विद्यालयमा काम गर्दै आइराखेको छु । म ४५ सालमा स्थायी भएको हुँ । हामी पहिला दुई जना थिएउँ कोभिड १९ को लकडाउन पछि एक जनालाई मात्रै राखिएको छ ।


नेपाल सरकारले कर्मचारीलाई स्थायी गर्ने व्यवस्था गरेको छैन नि ?


नेपाल सरकारबाट त्यस्तो व्यवस्था भएको छैन । हाम्रो माग र सङ्घर्ष नै स्थायी हुन पाउनु पर्यो भन्ने हो । हामी यसैका लागि राज्यसँग लडिराखेका छौँ ।


अहिले सेवा सुविधा कस्तो पाउनु भएको छ ?


अहिले आउँदासम्म मैले २२ हजारसम्म पाएको छु । त्यसमा सञ्चय कोष पनि काटिएको छ । तर, विद्यालय छोड्ने वेलामा उपदान, विरामी विदाको रकम, औषधि उपचार केही पाउने आशा थियो । केही पाईदैन भन्ने छ । यत्रो वर्ष सेवा सुविधा गरेपछि जाने बेलामा केही सेवा सुविधा पाउनु पर्छ भन्ने सरकारसँग हाम्रो माग हो । यही आशामा अल्झेर बसेको छु ।


यो तलबमा काम गर्दै गर्दा हजुरलाई कस्तो महसुस हुन्छ ?


एक दमै अप्ठेरो महसुस हुन्छ । किनभने काममा बिहान देखि बेलुकासम्म खटिरहनु पर्छ तर सुविधामा भने कन्जुसाई भएको छ । हामीलाई सरकारले पनि दिएको छैन । विद्यालयले कहिलेकाहीँ तलब जुटाउन गाह्रो भयो भन्नु हुन्छ त्यसमा एकदमै असहज महसुस हुन्छ ।


तपाईको विद्यालयमा काम गर्ने समय कति हो ? कति घण्टा विद्यालयको काममा खटिनु हुन्छ ?


मलाई आवासीय भनेर राती पनि बस्ने गरेको छु । दिउसो पनि खट्ने गरेको छु ।


राति के गर्नु हुन्छ र दिउसो के काम गर्नु हुन्छ ?


दिनभरी घण्टी बजाउने, गेटमा हेर्ने काम गर्छु । रातीमा विद्यालय मै बसेर रेखदेख गर्ने गरेको छु ।


२४ घण्टा खट्दा २२ हजार बुझनु हुन्छ । यसले तपाईको दैनिकी चल्छ त ?


यो तलबले घर व्यवहार चलाउनु निकै गाह्रो भएको छ । त्यही भएर सरकारले हामीलाई केही गरिदिए हनेथियो भन्ने मेरो मनसाय हो ।


उमेर कति भयो ? कति वर्षको हुँदादेखि यो विद्यालयमा काम गर्न थाल्नु भयो ?


मेरो उमेर अहिले ५८ वर्ष भयो । म १९ वर्षको हुँदा देखि यो विद्यालयमा काम गर्न थालेको हुँ । मेरो सबै जीवन विद्यालय मै घण्टी बजाएर बित्यो तर मैले अहिलेसम्म न्यूनतम तलब बाहेक सेवा सुविधा पाएको छैन ।


अन्तिममा तपाईको राज्यसँग माग के छ ?


सरकारले अब विद्यालय कर्मचारीहरूलाई पनि दरबन्दीमा राख्नुपर्छ । तलब सङ्घीय सरकारले नै पठाउनु पर्यो, विद्यालय छोड्ने बेलामा सेवा सुविधा केही पाए हुने थियो भन्ने माग छ । हामीले त अब छोड्ने बेला भयो तर अब अन्य कार्यरतहरूलाई, अब आउनेलाई दरबन्दी कायम गरेर सरकारले तलब, सेवा सुविधा दिने व्यवस्था गरिदयो भने राम्रो हनेथियो भन्ने छ । विद्यालयबाट जाने बेलामा रित्तो हात जान नपरे हुन्थ्यो केही सेवा सुविधा दिए खुसी भएर जान पाए हुन्थ्यो जस्तो लाग्छ । अब यसरी टासी रहन मन पटक्कै छैन ।