ढल्केबर /१२ वैशाख – संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ को दफा ४.२.७ ले कुनै कक्षामा भर्ना भइसकेका विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा जाँदा भर्ना शुल्क लिन नपाइने स्पष्ट व्यवस्था गरेको छ । तर पनि मधेश प्रदेशमा सञ्चालित निजी विद्यालयले एक पटक भर्ना भइसकेका विद्यार्थीबाट पुनः भर्नाका नाममा शुल्क असुलिरहेको अभिभावकको गुनासो छ ।
संस्थागत विद्यालयले कक्षा उक्लिएका विद्यार्थीबाट नयाँ भर्नाजत्तिकै रकम असुल्ने गरेको धनुषाका एक अभिभावक रामपुकार यादवले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “यो संस्थागत विद्यालयको गैरकानुनी कार्य र ठगी धन्दा हो । एउटै विद्यालयमा बर्सेनि नयाँ भर्ना भन्दै शुल्क तिर्नु पर्छ । राज्यको सम्बन्धित निकायले यसमा किन ध्यान दिँदैन ।”
यस्तै अर्का अभिभावक मकेश्वर महतोले मासिक, परीक्षा, कम्प्युटरलगायत पोसाक शुल्कसँग बर्सेनि भर्ना शुल्क बुझाउँदै आएको बताउनुभयो । सामाजिक अभियन्ता डा. सोहन साहले निजी लगानीका विद्यालयले अभिभावकबाट कुनै पनि बहानामा अतिरिक्त शुल्क उठाउन नहुने बताउनुभयो । संस्थागत विद्यालयले गरिरहेको मापदण्ड विपरीत क्रियाकलाप रोक्न स्थानीय तह कडाइका साथ लाग्नुपर्ने जानकारी दिनुभयो ।
शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका निर्देशक दिलीपकुमार ठाकुरले विद्यालयको अनुगमन तथा नियमन गर्ने दायित्व स्थानीय तहको भएको बताउनुभयो । सङ्घीय शिक्षा ऐनलाई टेकेर स्थानीय तहले शिक्षा नियमावली बनाएर त्यसलाई कार्यान्वयन गर्नुपर्ने उहाँले जानकारी दिनुभयो । मधेश प्रदेशमा कति वटा संस्थागत विद्यालय र कति जना विद्यार्थी भर्ना छन् भन्नेबारे कार्यालयमा कुनै तथ्याङ्क नभएको निर्देशक ठाकुर बताउनुहुन्छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रीय सदस्य नरेन्द्र शर्माले संस्थागत विद्यालयले नयाँ भर्नाका बेला लिने शुल्क विद्यार्थी भर्ना शुल्क नभई वार्षिक सेवा शुल्क भएको बताउनुभयो । सोही विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थी अर्को कक्षामा जाँदा पुनः भर्ना शुल्क लिएको भन्दै गलत प्रचार भइरहेको बताउँदै उहाँले खासमा विद्यालयले उपलब्ध गराउने सेवा सुविधाबापत केही मात्रामा वार्षिक रकम लिने गरेको स्पष्ट पार्नुभयो ।
प्याब्सनका केन्द्रीय सदस्य शर्माले निजी विद्यालय गठन गरिएको विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार विद्यालयले सो सेवा शुल्क लिने गरिएको बताउँदै प्रदेशभरका तथ्याङ्क आफूसँग उपलब्ध नभए पनि धनुषामा १६४ वटा संस्थागत विद्यालय प्याब्सनसँग आबद्ध रहेको बताउनुभयो । आजको गोरखापत्रमा समाचार छ ।