विद्यालय सञ्चालकको कार्यकक्षमा गोली फेला

झापा/१३ मङ्सिर – झापाको कनकाई नगरपालिका–८ स्थित माउन्ट अन्नपूर्ण बोर्डिङ स्कुलका सञ्चालकको कार्यकक्षमा एक थान गोली फेला परेको छ । विद्यालयका सञ्चालक ४० वर्षीय प्रशान्त न्यौपानेले शनिवार राति करिब ९ः३० बजे कार्यालयको काम गर्ने क्रममा आफ्नो कार्यकक्षमा रहेको टेबुलको घर्राभित्र गोली फेला पारेका हुन् ।


गोली फेला परेपछि उनले तत्काल इलाका प्रहरी कार्यालय घैलाडुब्बालाई जानकारी गराएका थिए । सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर आवश्यक जाँच तथा मुचुल्काको प्रक्रिया अघि बढाएको जनाइएको छ ।


प्रहरीले गरेको प्रारम्भिक जाँचका क्रममा फेला परेको गोली लामो हतियार इन्सासमा प्रयोग हुने ५.५६×४५ एमएमको रहेको खुलेको छ । गोलीमा समेत ५.५६×४५ एमएम उल्लेख भएको बताइएको छ ।


प्रारम्भिक अनुमानअनुसार उक्त गोली गत वर्ष भएको जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका गोलीमध्ये एक हुन सक्ने आशङ्का गरिएको छ । यद्यपि गोली विद्यालयको कार्यकक्षसम्म कसरी पुग्यो र कसले त्यहाँ राखेको हो भन्ने विषयमा पुष्टि हुन बाँकी छ ।


विद्यालयजस्तो शैक्षिक संस्थाको सञ्चालकको कार्यकक्षमा गोली फेला परेपछि घटनालाई सुरक्षा संवेदनशीलताका दृष्टिले हेरिएको छ । प्रहरीले गोलीको स्रोत, त्यसको प्रयोग तथा घटनासँग सम्बन्धित अन्य सम्भावित पक्षबारे अनुसन्धान गर्नुपर्ने देखिएको छ । राजकुमार ओली, झापा ।