काठमाडौँ /३ बैशाख – सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न विभिन्न योजना अगाडी सारे पनि विषयगत शिक्षकको अभावमा सामुदायिक विद्यालयले पठनपाठन सञ्चालन गर्न बाध्य भएका छन् । शिक्षा मन्त्रालयले माध्यमिक तहमा विषयगत शिक्षक उपलब्ध गराउन नसक्दा तल्लो तहका शिक्षकबाट पठनपाठन गराउँन बाध्य भएका हुन् ।
काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं.९ मा रहेको मनमैजु माध्यमिक विद्यालयमा नेपाली र विज्ञान विषयका शिक्षक दरबन्दी नहुँदा तल्लो तहका शिक्षकहरूलाई कक्षा सञ्चालन गर्न लगाइएको छ । विद्यालयमा २०७७ साउन ८ गतेपछि नेपाली र विज्ञान विषयका शिक्षक दरबन्दी छैन । विद्यालयले प्राथमिक तहका शिक्षकहरूलाई आग्रह गरेर कक्षा १२ सम्म पठनपाठन गर्न लगाएको छ ।
२०७७ साउन ८ गते भन्दा अगाडी विषयगत शिक्षक भएपनि दरबन्दी मिलानका नाममा विषयगत शिक्षकको दरबन्दी काटिए पछि त्यसयता दुई विषयका शिक्षक नै नभएको विद्यालयले जनाएको छ ।
कुनै विद्यालयमा विद्यार्थी सङ्ख्या कम भएपनि अत्यधिक दरबन्दी रहेको र कुनै विद्यालयमा विद्यार्थी सङ्ख्या धेरै भएपनि दरबन्दी कम भएको बताउँदै यसलाई संघीय सरकारले व्यवस्थापन गर्नुपर्ने विद्यालयकी प्रधानाध्यापक रविना महर्जनले बताइन । आफ्नो विद्यालयमा नेपाली र विज्ञान विषयका विषयगत शिक्षकको दरबन्दी नै नहुँदा पठनपाठन गर्न निकै असहज भएको उनको भनाई छ । अविद्यालयको समस्या बुझेर अहिले २ मावि, २ आधारभूत तह र १ इसिडी गरी ५ दरबन्दी नगरपालिकाले अनुदान अन्तर्गत दरबन्दी थप्ने तयारीमा रहेको छ । स्थानीय सरकारको सहयोगका कारण विद्यालयलाई सहज भएको उनले बताइन । तर, सङ्घीय सरकारले नै दरबन्दी व्यवस्थापनमा ध्यान दिनुपर्ने महर्जनको सुझाब छ ।
उनले भनिन् “विद्यालयमा विद्यार्थी सङ्ख्या वृद्धि हुँदै गएको छ । अझै पनि हाम्रो विद्यालयमा नेपाली र विज्ञानका विषयगत शिक्षक दरबन्दी छैन । शिक्षकको अभावमा तल्लो तहका शिक्षकहरूलाई आग्रह गरेर पठनपाठन गरिएको छ । धन्न शिक्षकहरूले विद्यालयलाई सहयोग गर्न मान्नु भएको छ र केही हदमा सजिलो भएको छ । सामुदायिक विद्यालयको स्तर वृद्धि गर्नका लागि शिक्षा मन्त्रालयले बुझ्न आवश्यक छ ।” त्यसैगरी शिक्षक अभावकै कारण एउटै कक्षामा ८७ जनासम्म विद्यार्थी राखेर पढाउन बाध्य भएको उनले बताइन ।
एकातिर कक्षा कोठाको अभाव अर्को तिर प्रायप्त शिक्षक नहुँदा एउटै कक्षामा धेरै विद्यार्थी राखेर पढाउनु पर्ने बाध्यता धेरै सामुदायिक विद्यालयमा रहेको महर्जनको भनाई छ । “थोरै शिक्षकले पढाउनु पर्दा निकै अप्ठेरो हुने अपुग शिक्षक राख्दा रकमको आवश्यकता पर्ने हुँदा अभिभावकसँग सहयोग मागेर चलाउन बाध्य छन्” उनले भनिन् ।
अहिले मनमैजु माध्यमिक विद्यालयमा कुल ८ सय ५९ जना विद्यार्थी छन् भने २८ जना शिक्षक रहेका छन् ।