सरोज लामिछाने
हेटौँडा/९ बैशाख – विद्यालयमा शिक्षण सिकाइ त्यति बेला प्रभावकारी हुन्छ जतिबेला शिक्षक, अभिभावक र विद्यार्थीको त्रिपक्षीय सम्बन्ध सुमधुर हुन्छ । सिकाइ भनेको पाठ्यक्रम र पाठ्यपुस्तकमा मात्र सीमित नराखी बालबालिकाको सर्वाङ्गीण विकासमा जोड दिनु हो । कुनै पनि विद्यालय सफल हुन विद्यालयको वार्षिक योजना निर्माणको साथै शैक्षिक सत्र भरि त्यसको कार्यान्वयन पक्षको महत्वपूर्ण भूमिका हुन्छ ।
हेटौँडा–६, चौघडामा रहेको वंशगोपाल माविले विद्यार्थी भर्ना अभियान अन्तर्गत घरदैलो कार्यक्रम सञ्चालन गरेको छ । विद्यालयले नयाँ विद्यार्थी भर्नाका लागि तिन दिन विद्यालय सेवा क्षेत्र भित्र भर्ना अभियान कार्यक्रम सञ्चालन गरेको हो । शैक्षिक सत्र २०८१ मा विद्यालयको २ सय जना नयाँ विद्यार्थी भर्ना गराउने लक्ष्य रहेको र हाल सम्म १ सय १३ जना नयाँ विद्यार्थीले फारम लगिसकेको विद्यालयका निमित्त प्रधानाध्यापक ललन पाण्डेले जानकारी दिए । उनले नयाँ भर्ना हुने विद्यार्थीका लागि बैशाख ९ गते आइतवार प्रवेश परीक्षाको कार्यक्रम राखिएको बताए ।
शैक्षिक सत्र २०८१ को लागि प्रभावकारी योजना निर्माण र त्यसको कार्यान्वयनमा वंशगोपाल मावि, हेटौँडा ६, चौघडा लागिसकेको उनको भनाइ छ । विद्यालयका निमित्त प्रधानाध्यापक ललन पाण्डे यस वर्ष २ सय नयाँ विद्यार्थी भर्ना गराउने लक्ष्य राखेको विद्यालयले विभिन्न कक्षामा नव प्रवेशी विद्यार्थीको लागि विगत वर्ष जस्तै उनीहरूको पूर्व ज्ञान र क्षमता पत्तालगाउन प्रवेश परीक्षा लिन शिक्षकहरूको समिति निर्माण गरिएको छ । पहिलो चरणको प्रवेश परीक्षा वैशाख ९ गते तय गरिएको हो । यस्तो परीक्षाको उदेश्य कसैलाई अनुत्तीर्ण गर्ने नभइ उसको वास्तविक अवस्था सुरु देखि नै अभिभावकलाई जानकारी गराउनु रहेको पाण्डेले बताए ।
गत वर्षको वार्षिक परीक्षाको नतिजा चैत्र २०, २१ र २२ गते कक्षागत रूपमा सम्पन्न भएको र नतिजा प्रकाशन पश्चात् क्षेत्रगत रूपमा भर्ना अभियानको लागि घरदैलो कार्यक्रमको लागि शिक्षकहरूको समिति तयार भएको प्रधानाध्यापक पाण्डेले जानकारी दिए । भर्ना अभियानमा आफ्ना कुरा मात्र नसुनाइ विद्यार्थी र अभिभावकको विद्यालय प्रतिको अपेक्षा सुनेर सम्बोधन गर्न विद्यालय प्रतिबद्ध रहेको उनले व्यक्त गरे ।
शैक्षिक सत्र २०८१ मा शिक्षण सिकाइका थप प्रभावकारीता बृद्धि गर्न विद्यार्थी सङ्ख्या सीमित राखी शिक्षण सिकाइ गर्ने, अभिभावक सँगको अन्तरक्रियामा जोड दिने, आवश्यकता अनुसार अतिरिक्त कक्षा सञ्चालन र विषयवस्तुलाई प्रविधि र परियोजना कार्यसँग जोडेर अघि बढ्ने योजना रहेको निमित्त प्रधानाध्यापक पाण्डेको भनाई छ । घरदैलोको क्रममा अभिभावकहरू सँग प्रत्यक्ष संवाद गरी सिकाइको बारेमा पृष्ठपोषण पनि लिइएको र धेरै अभिभावकको रुचि अङ्ग्रेजी माध्यमतर्फ रहेको पाइयो शिक्षक रबिन्द्र कुमार गौतमले बताए । विद्यालयले अङ्ग्रेजी माध्यमको पाठ्यपुस्तक पनि निःशुल्क प्रदान गरेको छ ।
साथै विद्यालयको कार्यक्रम समावेश गरी विद्यालयको शैक्षिक क्यालेन्डर प्रकाशन गरिने छ । बदलिदो परिवेश र विद्यार्थीको चाहना अनुसार सिकाइ अगाडि बढाउन प्रोजेक्टर जडान गर्न बाँकी कक्षा कोठामा प्रोजेक्टरको व्यवस्था गर्ने । प्रत्येक कक्षा कोठामा विद्यार्थीको विभिन्न दस समितिहरू जस्तै अनुशासन समिति, प्राविधिक समिति, सरसफाइ समितिलाई निरन्तरता दिने । विद्यार्थीको सृजनात्मक क्षमता विकासको लागि मासिक रूपमा नेपाली र अङ्ग्रेजी भाषामा वंशगोपाल बाल वाणी ’नामक भित्ते पत्रिका ५ वर्ष देखि निरन्तर प्रकाशन गर्दै आएको छ । विद्यालयमा स्क्रयाबल क्लब, रेडक्रस, स्काउटका समितिहरू सक्रिय छन । विद्यालयमा कक्षा १ देखि ५ सम्म पूर्ण रूपमा अङ्ग्रेजी माध्यम र ६ देखि १० सम्म दुबै माध्यममा अध्यापन हुँदै आइरहेको छ । साथै विद्यालयमा कक्षा ११ र १२ तथा सिटीइभिटी अन्तर्गत तिन वर्षीय सिभिल र जियोम्याटिक्स इन्जिनियरिङका कक्षाहरू सञ्चालित छन् । विद्यालयमा ९ सय २१ जना विद्यार्थी अध्ययनरत छन् ।