काठमाडौँ /२ बैशाख – शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षक, कर्मचारी, अभिभावक र समाजका प्रबुद्ध वर्गहरूको सक्रिय सहभागितामा विद्यार्थी भर्नाको अभियान सञ्चालन गर्न सबै सरोकारवालाहरूलाई आह्वान गरेकी छन् । वैशाख २ गतेदेखि नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना अभियान सुरू भएको भन्दै आह्वान गरेकी हुन् ।
“विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराई शिक्षा सम्बन्धी मौलिक हक कार्यान्वयनको सुनिश्चितता गर्न नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दैछ । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहहरू र समुदायको समेत सक्रिय सहभागिताले मात्रै नयाँ भर्ना र सामुदायिक शिक्षा सुधारको अभियान सफल हुन्छ । शिक्षक, कर्मचारी, अभिभावक र समाजका प्रबुद्ध वर्गहरूको सक्रिय सहभागितामा विद्यार्थी भर्नाको अभियान सञ्चालन गर्न सबै सरोकारवालाहरूलाई मन्त्रालय हार्दिक आह्वान गर्दछ” उनले भनेकी छन् ।
जीवनमा सफलताका लागि सिकाइ र सीप अपरिहार्य रहेकोले समाज परिवर्तनका लागि हामीले हाम्रो रैथाने ज्ञान, नयाँ ज्ञान र सीपको पुस्तान्तरण गर्न तथा चेतनाको क्षेत्र सुधार गर्नुपर्ने बताएकी छन् । मन्त्री श्रेष्ठले नयाँ पुस्तालाई समाजमा सकारात्मक योगदान दिन सक्ने करूणा र विनम्रता सहितका असल नागरिक बनाउन आधार र प्रेरणा शिक्षा प्रणाली हुनुपर्ने उल्लेख गरेकी छन् ।
उनले भर्ना अभियानमा लाग्न सबैलाई आग्रह गर्दै भनेकी छन् “अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ अनुसार आगामी २०८५ वैशाख १ गतेबाट आधारभूत शिक्षा प्राप्त नगरेको व्यक्ति कुनै पनि कम्पनी तथा फर्महरूमा संस्थापक सदस्य, शेयर धनी सञ्चालक वा कुनै पनि पदमा निर्वाचित वा नियुक्त हुन पाउने छैनन् र कुनै पनि सरकारी सेवामा प्रवेश गर्न सक्ने छैनन् । त्यसैले पनि आधारभूत शिक्षाको महत्त्वबारे जनस्तरमा सन्देश फैलाउन र नयाँ भर्नाको सूचना लक्षित वर्गसम्म पुरÞ्याउन नागरिक समाज, शैक्षिक जगत्, कलाकारिता क्षेत्र र सबै सरोकारवालाहरूलाई सहजीकरण गर्न मन्त्रालय अनुरोध गर्दछ ।”
साथै “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने आदर्श वाक्यसँगै आजबाट नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान सरु हुँदैछ ।