विद्यालयको रकम हिनामिना गर्ने तत्कालीन प्रधानाध्यापक र लेखापरीक्षक विरुद्ध मुद्दा

काठमाडौँ /२८ चैत – अख्तियार अनुसन्धान आयोगले विद्यालयमा भ्रष्टाचार गर्ने तत्कालीन प्रधानाध्यापक र लेखापरीक्षक विरुद्ध मुद्दा दायर गरेको छ । साविक कास्कीकोट गा.वि.स वडा नं.१ स्थित श्री सदाशिव प्राथमिक विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदी र लेखापरीक्षक कृष्ण प्रसाद गौतम विरुद्ध मुद्दा दायर गरेको हो ।


उनिहरुले विद्यालयको भवन निर्माण गर्दा हिसाब किताब आम्दानी खर्च विवरणको हरहिसाब नबुझाएको, लेखापरीक्षण प्रतिवेदन यथार्थ नभएको देखिएको भन्दै आयोगले आज विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिले लेखापरीक्षण प्रतिवेदनमा भएको शंकाको बारेमा निर्णय गरेकोमा उक्त प्रतिवेदनमा पनि स्क्यानिङ गरी शीर्षक मिलान गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा भ्रष्टाचार गरेको देखिएको विज्ञप्तिमा उल्लेख छ ।


आ.ब. २०६८ साल श्रावणदेखि ०६९ आषाढ र आ.व. २०६९ साल श्रावणदेखि ०७० आषाढ महिनासम्मको आम्दानी खर्च विवरणमा आयतर्फका शीर्षकहरूमा जिल्ला शिक्षा कार्यालय कास्कीबाट निकासा भएको रकम आय शीर्षकमा नदेखाई नभएको आम्दानीलाई लेखापरीक्षण प्रतिवेदनमा भएको देखाई नगरेको कामलाई खर्च पुस्ट्याई गर्ने बिल भरपाई समावेश नगरी लेखापरीक्षण प्रतिवेदनमा प्रविष्ट गरी, लेखापरीक्षण प्रतिवेदन विद्युतीय माध्यमबाट तयार गरी, विद्यालयको रकम खाने नियत राखी विद्यालयमा भएको भवन निर्माण समितिको निर्णयमा आफूखुसी थपघट समेत गरेको जनाएको छ ।


साथै नेपाल सरकारलाई हानिनोक्सानी पु¥याउने बदनियतले विद्यालयको रु ३ लाख ७७ हजार २ सय ३६ रकम हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आयोगले जनाएको छ ।