काठमाडौँ /२४ चैत – काठमाडौँ विश्वविद्यालय र काठमाडौँ महानगरपालिकाको सहकार्यमा ’शिक्षक कलेज कार्यक्रम’ सुरु गरिएको छ । स्टिम शिक्षण पद्धति मार्फत बालबालिकाको सिकाइलाई थप प्रभावकारी बनाउन र शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको सुरुवात गरिएको हो ।
शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै महानगरपालिका उपमेयर सुनीता डङ्गोलले शिक्षक कलेज कार्यक्रमकोे सुरुवात गरिएको घोषणा गरिन् । त्यसैगरी स्टिम शिक्षण सिकाई अन्तर्गत प्रशिक्षणमा सहभागी ३९ जना शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको छ ।
महानगरकी उपमेयर सुनीता डङ्गोलले उक्त कार्यक्रममा सहभागी शिक्षकलाई पेसागत क्षमता विकासका लागि महानगरको योजना अनुरूप अगाडी बढिरेहेको बताउँदै शिक्षकहरूले तालिम मात्रै लिएर नपुग्ने र त्यसलाई कक्षाकोठामा प्रयोग गर्न आग्रह गरिन । महानगरले विद्यार्थीका लागि सिपसहितको शिक्षा दिईरहेको जानकारी दिँदै अबको शिक्षा शिक्षक केन्द्रीत हुने र अपग्रेड तथा दक्षता अभिवृद्धिका लागि तालिमको सुरुवात गरिएको बताइन । उनले त्यसबाट विद्यार्थीले धेरै सिक्न पाओस् भन्ने अपेक्षा रहेको भनाइ राखिन ।
काठमाडौँ विश्वविद्यालयका डीन प्रा.डा. बालचन्द्र लुईंटेलले बालबालिकाको सिकाइमा प्रत्यक्ष सहभागी हुने शिक्षकलाई नै केन्द्रमा राख्ने र सिकाइ सुधार गर्ने कार्यक्रमको अवधारणा भएको बताए । उनले गफ मात्रै गरेर भन्दा पनि काम गर्नुपर्नेमा जोड् दिँदै हरेक बनाइएका योजनालाई कार्यान्वयनमा ध्यान दिन आग्रह गरे । महानगरसँगको सहकार्यमा शिक्षकलाई गर्न सिकाउने र त्यसले सामुदायिक विद्यालयको सिकाइ सुधार हुने अपेक्षा रहेको बताए ।
कार्यक्रमकी संयोजक एवं विश्वविद्यालयकी प्राध्यापक डा. पार्वती ढुगांनाले बालबालिकाको सिकाइका सवालमा निर्धारण गरिएका ६ विधामा आवश्यकता पहिचान गरि कार्यक्रम लागु गरिएको बताइन । साथै सहभागी शिक्षकहरूले तोकिएको असाईन्मेण्ट, तोकिएको समयमा अनिवार्य बुझाउनु पर्ने र ग्रेडसिटका लागि प्रशिक्षण दिने शिक्षक नै सर्वाधिकार रहने जानकारी दिइन । साथै तोकिएको समयमा असाईन्मेण्ट नबुझाउनेलाई ग्रेडसीट उपलब्ध नहुने बताइन ।
कार्यक्रममा महानगरका कार्यकारी प्रमुख प्रदीप परियार, शिक्षा शाखा प्रमुख सरस्वती पोखरेल, विश्वविद्यालयका स्टिम विभाग प्रमुख विनोद प्रसाद पन्त लगायतले शिक्षक कलेज कार्यक्रमको आवश्यकता र औचित्यबारे आफ्नो भनाई राखेका थिए । कार्यक्रम आगामी आइतवारबाट बैशाख ३१ गते सम्म सञ्चालन हुने उक्त कार्यक्रम १६ घण्टाको हुने छ । जसमा ३ दिन विद्यालयमै प्रत्यक्ष कक्षा हुने छ । त्यसका लागि विश्वविद्यालयले विज्ञहरूलाई सम्बन्धित विद्यालयमै खटाउने छ ।
कार्यक्रमको कुल लागत ३१ करोड १५ लाख हुने र सुरुवातमा २ हजार शिक्षकहरूलाई तालिम दिनका लागि २ करोड ५० लाख छुट्याएको छ ।



