बालबालिकाको मस्तिष्क तथा शारीरिक विकासका लागि न्यूट्रिसन

काठमाडौँ/२३ चैत – राम्रो पोषण नपाएको अवस्थामा साना बालबालिकाहरू उच्च जोखिममा पर्न सक्छन् । खासगरी मस्तिष्क विकासको मुख्य समय भएकोले पूर्व प्राथमिक विद्यालयका बालबालिकाहरूलाई संवेदनशील भई उत्तम आहार तथा आहार चयन सम्बन्धी व्यवहारमा सहयोग गर्न अति आवश्यक हुन्छ । सुनौलो हजार दिन जसमा बच्चा पेटमा भएदेखि नै गिन्ती हुन्छ , यस अवस्थामा बच्चालाई कस्तो आहारा आवश्यक हुन्छ र आहार नपुगेको खण्डमा कस्ता समस्याहरू देखिन सक्छन् । दुई वर्षसम्ममा बालबालिकाको ८०% मस्तिष्क विकास भइसकेको हुन्छ यस्तो अवस्थामा आहारको विषयलाई लिएर हेलचेक्राई गर्नु जोखिमलाई निम्त्याउने कार्य हुन सक्छ ।


आहारसँगै खानै नमान्ने बालबालिकाहरूलाई के गर्ने त ? नराम्रो खानाले मानसिक अवस्थामा कस्तो असर पारिरहेको हुन्छ ? राम्रो खानाको मानसिक विकासमा कस्तो भूमिका रहन्छ ? पौष्टिक खाना खाने व्यवहार कसरी विकास गर्न सकिन्छ ? आदि जस्ता प्रश्नहरूलाई समेत संवेदनशील रूपमा नहेरिने हो भने बाल विकासमा निकै त्रुटि आउन सक्छन् ।


यस्तै विषयहरूको समाधान दिने हेतुले गत चैत्र २१ गते बालबालिकाहरूको स्वास्थ्यलाई ध्यानमा राखेर न्युट्रिसन तथा आहारको मनोविज्ञान विषयमा पूर्व प्राथमिक विद्यालयका शिक्षक तथा लिडरहरूलाई लक्षित गर्दै सेमिनार तथा तालिम सञ्चालन गरिएको थियो । एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स नेपाल अपेन ललितपुर तथा अपेन काठमाडौँले आयोजना गरेको उक्त कार्यक्रम आयोजना गरेको हो ।


कार्यक्रममा काठमाडौँ र ललितपुर गरी ६० भन्दा बढी शिक्षकहरूले भाग लिए थिए । व्यवहार मनोविज्ञान तथा न्युट्रिसनमा आधारित भएर उक्त कार्यक्रममा नेपाल एकेडेमी अफ साइकोलोजीका मुख्य वक्ता द्वय मनोविद् उमङ्ग जङ्ग शाह तथा न्युट्रिसनिस्ट कविता दाहालले आफ्ना प्राज्ञिक विषयवस्तु प्रस्तुत गरेका थिए ।