कार्यान्वयनमा समस्या देखिएपछि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगन

काठमाडौँ /१४ चैत – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगन गरेको छ । चालु आर्थिक वर्षमा भवन निर्माणका लागि समय कम भएपछि यो वर्षका लागि स्थगन गरेको हो ।


कार्यक्रमको कार्यान्वयन गर्न यो आर्थिक वर्षमा समस्या देखिएपछि मन्त्री स्तरीय निर्णयले स्थगन गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ । मंगलबारको बैठकले विद्यालय भवन निर्माण, सूचना प्रविधि ल्याब र प्राविधिक धार सञ्चालनको लागि आगामी आर्थिक वर्षदेखि बजेट निर्माणकै क्रममा स्थानीय तहमा पठाउने गरी आवश्यक तयारी गर्ने निर्णय गरेको छ ।


साथै बैठकले आगामी आर्थिक वर्षमा मुसहर, चेपाङ लगायत सीमान्तकृत समुदाय रहेको स्थानमा नमुना सामुदायिक विद्यालय सञ्चालन गर्नका लागि आवश्यक रकम विनियोजन गर्न अर्थ मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको छ ।