शिक्षा मन्त्रीले शिक्षक महासङ्घसँग छलफल गर्न नचाहानु राम्रो संकेत होइन

काठमाडौँ /१३ चैत – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले कसैसँग पनि कुराकानी नगर्ने अडानले राम्रो संकेत नगरेको नेपाल शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधरले बताएकी छन् । पूर्व शिक्षा मन्त्रीहरूले महासङ्घसँग भेटघाट र छलफल गरेर अगाडी बढ्ने गरेको बताउँदै छलफल गर्न नचाहेको देखिएको बताएकी हुन् ।


तुलाधरले श्रेष्ठको कार्यशैली महासङ्घसँग मात्रै नभएर सबैसँग त्यस्तै व्यवहार गर्ने, कुराकानी नै नगर्ने, भेटघाट नगर्ने अडान लिएको बताइन । उनले भनिन् “पूर्व शिक्षा मन्त्रीहरूले भेट्नको लागि समय माग्दा एक दिनमा भेट्न नसके दुई तीन दिनमा भनेपनि भेट्नु हुन्थ्यो, कुराकानी गर्नु हुन्थ्यो, छलफल गर्नु हुन्थ्यो । तर उहाँले छलफल गर्न चाहिरहनु भएको जस्तो देखिएको छैन । यसो हुनु भनेको राम्रो संकेत होइन ।”


त्यसैगरी निःशुल्क शिक्षाको सवालमा नेपाल शिक्षक महासङ्घ पक्षमा भएपनि विद्यालय सुधार भएन भनेर शिक्षकलाई मात्रै आरोप लगाउनु ठिक नभएको बताइन । उनले एक पैसापनि नलिइ कति सम्भव हुन्छ, त्यसरी कति विद्यालय चल्न सक्छन त्यसका लागि विचार गर्नुपर्ने बताइन ।


तुलाधरले मार्कर र थोरै शैक्षिक सामाग्री किन्न मात्रै पुग्ने मसलन्दको भरमा विद्यालय चल्न सक्छन की सक्दैनन त्यसबारे शिक्षा मन्त्रीले विचार गरेर आगामी बजेटमा शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताएकी छन् । साथै शिक्षामा लगानी वृद्धि नभए मन्त्रीको निर्णय कागजी खोष्टा हुने अनुमान गरेको उनको भनाई छ ।


नयाँ शैक्षिक सत्रमा विद्यालय खुल्ने बित्तिकै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेन भने शिक्षकलाई मात्रै आरोप लगाउन नपाइने बताइन । पुस्तक समयमा पाउने विद्यार्थी अभिभावकको अधिकार भएको र अब शिक्षा मन्त्रीको लेखाइ र बोलाइमा कति तारतम्य मिल्छ हेर्न बाकी रहेको बताइन ।