काठमाडौँ /१ चैत – प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा तहका सम्पूर्ण कार्यक्रमहरूको आंशिक परीक्षाको आवेदन फाराम खुला गरेको छ ।
परिषद्बाट सम्बन्धन÷स्वीकृत प्राप्त गरी प्रि–डिप्लोमा (साबिक प्राविधिक एस.एल.सी.) तहको कार्यक्रम सञ्चालित शिक्षण संस्थाहरूका आंशिक प्रशिक्षार्थीहरूका लागि परीक्षा आवेदन फाराम भर्नका लागि खुला गरेको हो ।
वैशाख महिनामा परीक्षा सञ्चालन हुने भएकोले परीक्षार्थीहरूले परीक्षा आवेदन फाराम भरी बुझाउन सम्पूर्ण शैक्षिक संस्था तथा विद्यार्थीहरुलाई निर्देशन दिएको छ । परीक्षा आवेदन फारम यहीँ चैत १५ गतेभित्र नियमित शुल्कमा र २१ गतेभित्र विलम्ब शुल्कमा अनिवार्य परीक्षा आवेदन फाराम भरेर बुझाउनु पर्ने छ ।
साथै प्रि–डिप्लोमा तहको २४ महिने औद्योगिक प्रशिक्षार्थी कार्यक्रम र प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गतका सम्पूर्ण कार्यक्रमहरूका आंशिक प्रशिक्षार्थीहरूले समेत परीक्षा आवेदन फाराम भर्नु आग्रह गरिएको छ ।
आंशिक परीक्षा सञ्चालन हुने कार्यक्रम तथा समूहहरू :
शैक्षिक सत्र २०७६/०७७ देखि रजिस्ट्रेसन कायम भई १८ महिने प्रि–डिप्लोमा तह (१२ + ६ र १५ + ३) को प्रशिक्षण अवधि पूरा गरेका सम्पूर्ण समूहहरू, प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रमहरू तथा शैक्षिक सत्र २०७५/०७६ देखि रजिस्ट्रेसन कायम भएका २४ महिने औद्योगिक प्रशिक्षार्थी कार्यक्रमहरू ।