खैरहनी नगरपालिकामा विद्यार्थीका लागि गृहकार्य कक्षा सञ्चालन

चितवन/२७ फागुन – चितवनको खैरहनी नगरपालिकाले सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि गृहकार्य कक्षा सञ्चालन गरेको छ । नगर भित्रका २८ स्थानमा गृहकार्य कक्षा सञ्चालन गरेको हो ।


आर्थिक वर्ष २०८०/२०८१ को योजना अनुसार असहाय, विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाहरूलाई कापी समेत उपलब्ध गराएर कक्षा सञ्चालन गरिएको नगरपालिका प्रमुख शशी कुमार खनियाले जानकारी दिए । उनले सामुदायिक भवन, विभिन्न संघ संस्थाको भवन, विद्यालयमा सम्भव भए विद्यालयका कक्षामा र भवन नै नभएका स्थानमा कोठा भाडामा लिएर भएपनि गृहकार्य कक्षा सञ्चालन गरिएको बताए ।


विद्यालयमा अध्ययन गरेपछि घरमा सिकाउने व्यक्ति नहुँने, विद्यार्थी विद्यालयबाट गएपछि नपढि विद्यालय आउने र पर्याप्त शैक्षिक वातावरण नपाएकोले विद्यार्थीहरूलाई गृहकार्य कक्षा सञ्चालन गरिएको खनियाले बताए । विद्यार्थीलाई गृहकार्यसँगै थप विषय वस्तुको समेत पठनपाठन गरिएको उनको भनाई छ ।


नगरले कक्षाका लागि वडा समितिले छनोट गरेका २८ जना सहजकर्ताहरूलाई खटाएको छ । सहजकर्ताहरूमा सेवा निवृत्ति भएका शिक्षक, कक्षा १२ पास गरेका र स्वयंसेवक शिक्षकहरू रहेका छन् ।


कक्षा प्रत्येक दिन २ घण्टा सञ्चालन हुँदै आएको छ । गृहकार्य कक्षा कार्यक्रममा नगरपालिका भित्रका १३ वटा वडाका करिब ७ सय ८४ विद्यार्थीहरू लाभान्वित हुने जनाइएको छ । नगरपालिकाले यस अघि सामुदायिक विद्यालयहरूमा विषयगत अध्ययनका गराउन ५८ जना स्वयंसेवक शिक्षकहरू खटाएर पठनपाठन गराउँदै आएको छ ।