कक्षा सञ्चालनका लागि विद्यालयलाई एक करोड सहयोग जुट्यो

म्याग्दी/१९ फागुन – म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धवलागिरि माविलाई रु एक करोड ११ लाख आर्थिक सहयोग जुटेको छ । दश जोड दुई तहको कक्षा सञ्चालनका लागि विद्यालयले सञ्चालन गरेको पूर्व शिक्षक, विद्यार्थी र शुभचिन्तकको पुनः मिलन अभियानमार्फत सो रकम सङ्कलन भएको हो ।


वि.सं २०७४ देखि थालिएको उक्त अभियानका संयोजक तथा पूर्व प्रधानाध्यापक डण्डपाणी सापकोटाले नौ लाख ६६ हजार प्राप्त हुन बाँकी रहेको जानकारी दिनुभयो । सङ्कलन गरेको रकमको ब्याजबाट कक्षा ११ र १२ को पठनपाठन सञ्चालन गरिएको उहाँले बताउनुभयो । गाउँकै विद्यालयमा दश जोड दुईको पठनपाठन सञ्चालन भएपछि विपन्न बालबालिकालाई पढ्नका लागि डेरा लिएर बस्नुपर्ने समस्या हटेको छ ।


दुई सय ४९ जनाले सहयोग घोषणा गरेकामा हालसम्म दुई सय सात जनाबाट सहयोग प्राप्त भएको छ । बेनी नगरपालिका–४ बास्कुना घर भई हाल न्युजिल्याडमा रहनुभएका लालबहादुर केसीले सबैभन्दा बढी २५ लाख सहयोग गर्नुभएको संयोजक सापकोटाले जानकारी दिनुभयो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) न्युजिल्याण्डका अध्यक्षसमेत रहनुभएका उहाँले हजुरआमा गौमति खत्रीको स्मृतिमा सो रकम सहयोग गर्नुभएको हो ।


विद्यालयमा हाल करिब दुई सय ५० विद्यार्थी अध्ययनरत छन् । श्रवण क्षमता नभएका बालबालिकालाई लक्षित गरेर बहिरा स्रोत कक्षा पनि सञ्चालनमा रहेको विद्यालयका प्रधानाध्यापक भुवन रेग्मीले बताउनुभयो । रासस