नेपाल पनि भारतीय विद्यार्थीका लागि शैक्षिक गन्तव्य बन्न सक्छ : प्रधानमन्त्री

काभ्रे/३ फागुन – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय विश्वविद्यालय संघ र काठमाडौँ विश्वविद्यालयले संयुक्त रूपमा आयोजना गरेको अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन उच्च शिक्षाको भूमण्डलीकरण र अन्तर्राष्ट्रियकरणमा केन्द्रित र दक्षिण एसियाकै इतिहासमा महत्वपूर्ण कोसे ढुङ्गा साबित भएको बताएका छन् । काठमाडौँ विश्वविद्यालय केन्द्रीय परिसर धुलिखेलमा बिहिवार सम्मेलनको उद्धाटन गर्दै सो कुरा बताएका हुन् ।


प्रधानमन्त्री दाहालले नेपाल सरकार उच्च शिक्षाको क्षेत्रमा एक फरक सोच तथा नीति कार्यान्वयनमा लागि रहेको तथा यसका लागि अन्तरराष्ट्रिय साझेदारीहरू महत्वपूर्ण हुने बताए । उनले भारत नेपालको सहज शिक्षा गन्तव्यको वास्तविकताका बिच नेपाल पनि भारतीय विद्यार्थीहरूको लागि आकर्षक शैक्षिक गन्तव्य हुन सक्ने प्रमाण काठमाडौँ विश्वविद्यालय मात्रबाट दीक्षित भएका ४ हजार भन्दा बढी विद्यार्थीहरू रहेको बताए ।


यसैगरी काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले विभिन्न मुलुकका शैक्षिक नेतृत्वको महासम्मेलन आयोजना गर्न पाएकोमा काठमाडौँ विश्वविद्यालय गौरवान्वित भएको महशुस गर्दै यस किसिमका कार्यक्रमले नयाँ एसियाली क्षेत्रीय शैक्षिक साझेदारी विकास गर्ने विश्वास व्यक्त गरे ।


समान सांस्कृतिक पहिचान एवं भावनाका कारण नेपाल तथा भारतले संयुक्त रूपमा गुणस्तरीय अभियानको थालनी गरेर विश्वलाई एउटा नयाँ शैक्षिक साझेदारीको खाका प्रस्तुत गर्न सक्ने सदियौँ लामो ज्ञानको धरोहरमा आधारित हुन सक्ने प्रचुर संभावनालाई ईंगित गर्दै विश्वविद्यालय संघका अध्यक्ष जि डी शर्माले भारतीय विश्वविद्यालयको नेतृत्व वर्ग ज्ञानको खानी हिमवत् खण्डमा भेला हुनु त्यसको बलियो प्रमाण रहेको भनाई राखे ।


कार्यक्रममा भारतीय विश्वविद्यालय संघकी महासचिव प्राडा पंकज मित्तलले भारत भन्दा बाहिर पहिलो पटक आयोजना गरिएको यस अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलनले शैक्षिक नेतृत्वको तहमा मात्र नभई प्राज्ञ, शिक्षक, विद्यार्थी तथा विश्वविद्यालयका सरोकारवालाहरू समेतलाई एउटै मञ्चमा ल्याई शैक्षिक उन्नयनका साझा अवधारणा तथा कार्यक्रम विकास गर्न सहयोग पुग्ने बताइन ।


उक्त समारोहमा नेपाल, भारत, भुटान, दक्षिण कोरिया, नर्वे, अस्ट्रेलिया लगायत देशका विभिन्न विश्वविद्यालयका उपकुलपतिहरु, उच्च शिक्षाका नेतृत्व वर्ग तथा प्रतिष्ठित व्यक्तिहरूको सहभागिता रहेको छ ।


कार्यक्रममा काठमाडौँ विश्वविद्यालय र भारतीय शैक्षिक संस्थाहरूबिचको सहकार्यलाई जोड दिइएको थियो भने भारतीय विश्वविद्यालय संघ आफ्नो प्रकाशन युनिभर्सिटी न्युजको विशेष अंकको विमोचन पनि गरिएको थियो ।