अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन आजदेखी

काभ्रे/३ फागुन-काठमाडौँ विश्वविद्यालयले आयोजना गर्ने उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन धुलिखेलस्थित विश्वविद्यालयको मुख्य परिसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज उद्घाटन गर्दै छन् । उक्त कार्यक्रम बिहिवारदेखि शनिवारसम्म चल्दैछ ।


बुधवार विश्वविद्यालयको धुलिखेल परिसरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विश्वविद्यालय संघका अध्यक्ष प्राडा जी डी शर्माले भारतभन्दा पहिलो पटक आयोजना गर्न लागिएको बृहत् प्राज्ञिक सम्मेलनले सामूहिक उन्नयनको बाटो पहिल्याउने बताए ।


काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले यस किसिमको बृहत्तर प्राज्ञिक कार्यक्रम आयोजना गर्न पाउनु नेपालको समग्र उच्च शिक्षा क्षेत्रमा कोशेढुङ्गा साबित हुने बताए ।


बुधवार नै धुलिखेल परिसरमा कला संकाय अन्तर्गत आर्ट एण्ड डिजाइन कार्यक्रमका विद्यार्थीले निर्माण गरेको काठमाडौँ विश्वविद्यालयका सातवटै संकायको विशेषता झल्कने ४२० फिट लम्बाइ तथा २ फिट चौडाइ भएको टेराकोटा मुरल कलाको पनि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली लगायत उच्च शिक्षा अधिकारीबाट अनावरण गरिएको थियो ।


भारतीय विश्वविद्यालय संघको आयोजना तथा काठमाडौँ विश्वविद्यालयको तत्त्वावधानमा आयोजित कार्यक्रममा नेपाल, भारत, बङ्गलादेश, मलेसिया, थाइल्यान्ड, लगायत देशका विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्हरूको उपस्थिति रहनेछ । उक्त कार्यक्रममा भारतीय विश्वविद्यालय संघका अध्यक्ष तथा विज्ञान एवं प्रौद्योगिकी विश्वविद्यालय मेघालयका उपकुलपति प्राडा जी डी शर्माले अध्यक्षीय सम्बोधन गर्ने छन् । कार्यक्रमको समाप्ति मन्तव्य भने केयुका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले गर्ने छन् ।


यसैगरी कार्यक्रममा भारतीय विश्वविद्यालय संघका उपाध्यक्ष एवं क्षत्रपति साहुजी महाराज विश्वविद्यालय कानपुरका उपकुलपति विनय कुमार पाठक, अखिल भारतीय तकनीकी शिक्षा परिषदका अध्यक्ष डा अभय जेरे, राष्ट्रिय मूल्याङ्कन एवं प्रत्ययन परिषद् वेङ्गलुरुका निर्देशक प्रा गणेशन कन्नविराम, भारतीय कृषि अनुसन्धान परिषद्का निर्देशक डा आर सी अग्रवाल, भारतीय विश्वविद्यालय संघकी महासचिव डा पंकज मित्तल तथा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले सम्बोधन गर्नेछन् ।


कार्यक्रममा हालसम्म भारत सहित दक्षिणपूर्वी एसियाली क्षेत्र, युरोप, अफ्रिका र अस्ट्रेलियाका विभिन्न विश्वविद्यालयका २३७ जनाको सहभागिता रहने छ ।


विश्वले उच्च शिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा “भूमण्डलीकरण र उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण” मूल–विषय रहेको उक्त सभामा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, अन्तर–विश्वविद्यालय सहकार्य, वैश्विक उच्च शिक्षा नीति आदि विषयमा छलफल हुनेछन् ।


अन्तर्राष्ट्रिय उपकुलपति सभाले उच्च शिक्षण संस्थामा भूमण्डलीकरणको प्रभाव पत्ता लगाउने, अन्तर्राष्ट्रिय सहयोग र विचारहरूको आदानप्रदानलाई प्रोत्साहित गर्नेछ । साथै, सभा साझा सन्जाल निर्माण, उत्तम साझेदारी अभ्यास, तथा पारस्परिक सहयोग आदानप्रदानको दिशामा कोशेढुंगा साबित हुनेछ । सभाले विभिन्न क्षेत्रका शैक्षिक समुदायहरू, विशेष गरी दक्षिण एसियाली क्षेत्र भित्रका शैक्षिक समुदायहरू बीच सांस्कृतिक विचार आदान प्रदानलाई पनि बढावा दिनेछ । सभाको अवधिमा सहभागीहरूले उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रभावकारी रणनीतिहरूको बारेमा छलफल गर्नेछन् । जसमा, विद्यार्थी आदानप्रदान, संयुक्त अनुसन्धान, र पाठ्यक्रम विकास सहितका विषयहरू समावेश छन् ।