क्याम्पस मर्जरमा जानु पर्ने प्राध्यापकहरूको सुझाब

काठमाडौँ /२१ माघ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वा प्रधानमन्त्री मधवकुमार नेपालले नेपालमा विश्वविद्यालयको सङ्ख्या धेरै भएको बताएका छन् । भएका विश्वविद्यालय पनि बन्द हुन सक्ने अवस्थामा पुगेको बताउँदै सरकारले सङ्ख्यामा विचार गर्नुपर्ने बताएका हुन् ।


एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालले उच्च शिक्षाको बर्तमान अवस्था र चुनौती बारे शनिवार राजधानीमा आयोजना गरेको कार्यक्रममा उक्त कुरा बताएका हुन् । उनले नेपालमा सङ्घीय अन्तर्गत र प्रदेश अन्तर्गत गरेर विश्वविद्यालयको सङ्ख्या बढ्दै गएकोले हामीलाई कति आवश्यकता हो त्यसलाई ख्याल गर्नुपर्ने समय आएको बताए । भने “धेरै सङ्ख्या हुँदा भएका विश्वविद्यालय पनि विद्यार्थीको अभावमा बन्द हुन सक्ने अवस्थामा छन् । यसलाई सरकारले ख्याल गर्नुपर्छ ।”

विश्वविद्यालयको सङ्ख्या र विषयमा ध्यान दिन आवश्यक छ । प्रदेशमा आफ्नो मान्छेलाई उपकुलपति बनाउन विश्वविद्यालय खोलिएको छ । शैक्षिक सुधारका लागि काम गर्नुपर्नेमा स्वार्थ केन्द्रीत भएकोले समस्या आयो । सङ्घीय सरकारले यता पनि ध्यान दिनु पर्छ ।


त्यसैगरी कलेजहरूमा विद्यार्थीको सङ्ख्या घट्दो अवस्थामा रहेको र विस्तारै चल्नै नसक्ने अवस्थामा पुगेकोले अब ध्यान दिनुपर्नेमा जोड् दिए । विदेश अध्ययनका लागि बाहिर विद्यार्थी सप्लाई गर्ने संस्थाका कारण कक्षा १२ पास नगर्दै विद्यार्थी विदेश जाने लर्को लागेकोले समस्या खडा भएको बताए । उनले भने “विदेश अध्ययनमा पठाउने संस्थाहरूले बाहिर सप्लाई गर्छन । कतिपय नेपालीहरूले पनि विदेशमा कलेज खोलेका छन् । नेपालबाट विद्यार्थी सप्लाई गर्छन । यसले धेरै ठुलो समस्यामा देशमा खडा भएको छ ।”


साथै कलेजका शिक्षकहरू निरन्तर पढाउन नजाने गरेको आफूले सुनेको बताउँदै घरमै बसेर तलब खाने गरेको उनको भनाई थियो । विद्यार्थी बाहिर गएपछि उतै ज्ञान प्राप्त गर्ने र प्राप्त गरेको ज्ञान बाहिरै बस्ने भएकोले विश्वविद्यालयले पाठ्यक्रममा ध्यान दिँदै विद्यार्थी केन्द्रीत पठनपाठन गर्नुपर्ने उनको भनाई थियो ।


एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालका अध्यक्ष प्रा।डा गोविन्द सुवेदीले पश्चिमा मुलुकसँग प्रतिस्पर्धा गर्न परिरहेको र उच्च शिक्षा पहिलो पुस्तामा पुग्न नसकेकोले समस्या आएकोमा जोड् दिए । उनले शिक्षकहरूको सङ्ख्या अपुग भएकोले कार्यक्रम अनुसारका शिक्षक हुनु समस्या रहेको बताउँदै विषय अनुसारका शिक्षक निर्माण गर्नुपर्ने बताए ।


त्यसैगरी विदेशका विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजको अनुगमन नहुँदा, नेपालका विश्वविद्यालयमा सञ्चालन भएका कार्यक्रम र उनीहरूको कार्यक्रम फरक फरक हुने, नेपालका बारेमा नपढाउने हुँदा समस्या आएको भनाई राखे । साथै ११ सय ५५ क्याम्पस मध्ये ५ सय ५५ क्याम्पसमा १ सय भन्दा कम विद्यार्थी भएकोले मर्जरमा जानुपर्ने चुनौती रहेको प्रस्ट पारे ।


एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालका उपमहासचिव कृष्ण राज ढकालले विश्वविद्यालयको शैक्षिक क्यालेन्डर लागु गर्न नसक्दा, कक्षा १२ को नतिजा प्रकाशन र विश्वविद्यालयले भर्ना लिने समयबिचमा लामो अन्तर हुँदा, नयाँ पुस्तालाई आइसिटीसँग केन्द्रीत नगर्दा समस्या आएको बताए । विश्वविद्यालय र सरकारले यसतर्फ ध्यान दिनुपर्ने सुझाब उनको थियो ।