प्रमुख दलका नेताले भने : निजी विद्यालय गुठीमा जाने नजाने ऐच्छिक हुनुपर्छ

काठमाडौँ /२९ पुस – प्रमुख राजनीतिकदलका नेताहरूले निजी विद्यालयहरू गुठीमा जाने नजाने विषयलाई ऐच्छिक बनाउनु पर्ने बताएका छन् । राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन)ले २६औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको ’नेपालको शिक्षामा निजि विद्यालयको भूमिका र आउँदै गरेको सङ्घीय शिक्षा ऐन’ विषयक बहस तथा अन्तरक्रियामा बोल्दै निजी विद्यालयलाई सहज हुनेगरी ऐन आउने बताएका हुन् ।


शैक्षिक बहसमा नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका पोलिट ब्युरो सदस्य विशाल भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका संसद तथा पूर्व शिक्षामन्त्री शिशिर खनाल र नेशनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले आफ्ना भनाई रखेका थिए ।


नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले विद्यालय शिक्षा विधेयक ढिलो आएकोले छिटै निष्कर्षमा पु¥याउँनु पर्ने बताए । उनले संविधान निःशुल्क शिक्षा भनिएकोले त्यो पुरा गर्ने दायित्व राज्यको रहेको बताउँदै निजी क्षेत्रलाई पनि काम गर्न दिनुपर्नेमा जोड् दिए । उनले भने ‘शिक्षामा निजी विद्यालयको भूमिका र योगदान उल्लेख्य छ । निजी विद्यालय बन्द गर्दैमा सार्वजनिक विद्यालयको गुणस्तर सुधार हुन्छ भन्न सकिने अवस्था छैन, त्यसैले निजी विद्यालयलाई गुठीमा लाने विषय विद्यालयको इच्छा अनुसार हुनुपर्छ ।’


लेखकले सरकारी र निजी एक–अर्काका दुस्मन नभएकाले निजी क्षेत्रलाई पनि काम गर्न दिनुपर्ने बताए । सरकारले आफ्ना संस्थाहरू चलाओस् । निजी बन्द गरेर सरकारी राम्रो हुन्छ भन्ने छैन । निजी क्षेत्रलाई पनि काम गर्ने मौका दिनुपर्छ भन्दै संविधानले भनेको तीन खम्बे अर्थ नीति अन्तर्गत निजी र आवासीयलाई निषेध गर्न नहुने धारणा व्यक्त गरे ।


त्यसैगरी नेकपा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराईले संविधानले निःशुल्क र अनिवार्य शिक्षा मौलिक अधिकारको रूपमा व्याख्या गरेको तर कसैले पैसा तिरेर पढ्छु भन्नु उसको व्यक्तिगत स्वतन्त्रताको कुरा भएको बताए । उनले खर्बौँ लगानी भएका निजी विद्यालयहरूको योगदानलाई राज्यले बेवास्ता गर्न नमिल्ने बताए ।


दुईरचार वटा निजि शिक्षण संस्थाले गरेको बदमासीले समग्र संस्थाप्रतिको मानिसहरूको धारणा बदलिएको भन्दै निजी विद्यालयलाई पनि व्यवस्थित गर्न जरुरी रहेको भट्टराईको भनाई थियो । भट्टराईले निजी विद्यालयहरूलाई गुठीमा जाने वा नजाने ऐच्छिक गर्नुपर्नेमा जोड् दिए ।


राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्वा शिक्षा मन्त्री शिशिर खनालले विधेयकलाई पुनर्लेखन गर्नुपर्ने बताए । विधेयक सरोकारवालाहरूसँग छलफल नै नगरी ल्याइएकोले खुला छलफल गरेर पुनर्लेखन गर्नुपर्नेमा जोड् दिए । खनालले संविधानमा निःशुल्क शिक्षा भनिएकोले संविधानको मर्म भन्दा बाहिर जान नमिल्नेमा जोड् दिए ।


उनले राष्ट्रिय स्वतन्त्र पार्टीले २० वर्षभित्र गुठीमा लैजानुपर्ने संशोधन हालेको बताउँदै निजी शिक्षण संस्था बन्द नहुने र संचालककै नाममा वर्षैसम्म निरन्तर चलिरहने भनाई राखे । उनले भने ‘हामीले २० वर्षको प्रस्ताव गरेका छौँ । करोडौँ लगानी गरिएको यो क्षेत्रमा एउटा समयभित्र लगानी उठ्छ । त्यसकारण विद्यालय शिक्षा विधेयकमा रास्वपाले २० वर्षभित्र गुठीमा लैजानुपर्ने संशोधन हालेको हो ।’


नेशनल ब्याप्सनका अध्यक्ष सुवास न्यौपानेले सामुदायिक विद्यालयले शिक्षाको भार थेग्न नसकेपछी निजि विद्यालयलाई सरकारले नै ल्याएको बताउँदै निजी विद्यालयको हत्या गर्न खोजिएको बताए । उनले कुल बजेटको ११ प्रतिशत शिक्षामा विनियोजन गर्दा पनि सामुदायिक विद्यालयको स्तरोन्नति हुन नसकेको भन्दै आफूहरूले राम्रो काम गर्नु अभिसाप बनेको टिप्पणी गरे । अध्यक्ष न्यौपाने आफूहरूको पुरै जीवन यसैमा समर्पित गर्नुका साथै पैतृक सम्पत्ति बेचेर, ऋण लिएर शैक्षिक संस्था खडा गरेको भन्दै राज्यले हस्तक्षेप गरे प्रतिरोध गर्ने चेतावनी दिए । उनले भने ’निजी विद्यालयका सञ्चालकहरू बैँकको ऋण तिर्न नसकेर डिप्रेसन भएको अवस्थामा अकुत सम्पत्ति कमायो भन्ने आरोप लाग्नु गलत हो । हाम्रो निजी सम्पत्ति गुठीमा लैजाने हो भने, कुन नेताले चाहेको हो त्यो नेताले पहिले आफ्नो सम्पत्ति राष्ट्रलाई दिनुस्,’ त्यसपछि आफूहरू समेत तयार रहेको, अन्यथा राज्यले गरेको अन्याय सहन सकिदैन ।’