काठमाडौँ/ १ पुस – पुरानो समयदेखि नै हाम्रो राष्ट्रमा शिक्षा लिने–दिने प्रक्रिया सञ्चालनमा रहेको थियो तर यो पद्धति सङ्गठित र योजनाबद्ध भने थिएन । शिक्षाको मुख्य ध्येय भनेकै संस्कारयुक्त नागरिक तयार गर्नु थियो । असल आचरण र बानी–व्यवहारको विकास गर्नु त्यतिखेरको शिक्षाको घोषित तथा अघोषित उद्देश्य हुन्थ्यो ।
हिजोको राज्य शासन व्यवस्थामा औपचारिक वा अनौपचारिक शिक्षाका अनेकन् उतारचढावहरूका कथा हामी सबैलाई विदित छ, यद्यपि राणाकालमा भएका केही शैक्षिक सुधारका प्रयासहरू भए तर त्यो योजनाबद्ध र गुणात्मक भने पक्कै थिएनन् । मुलरुपमा २००७ सालपछि जनचाहनाको सम्मान गर्दै नेपालमा विद्यालय शिक्षाको बिस्तार र विकासमा योजनाबद्ध प्रयासहरू हुन थालेको पाइन्छ ।
हाम्रा संस्कार, संस्कृतिको जगमा आफ्नै मौलिक शिक्षाको विकास गर्ने भन्दा पनि विश्वव्यापी प्रभावबाट निर्देशित भएर बाहिरी संस्कृतिलाई प्रोत्साहन गर्ने शिक्षा भित्र्याउने परिपाटीले पनि निरन्तरता पायो । यसका आफ्नै सही र गलत मूल्याङ्कन हुन सक्लान तर शिक्षाको माध्यमले आपसी सद्भाव, कर्तव्यनिष्ठता, सहयोगीपन एवं मेलमिलापको भावनाको विकास गर्ने परिपाटी बसाल्ने भएकोले शिक्षा सामाजिक तथा सांस्कृतिक विकासमा महत्वपूर्ण मानिन्छ । शिक्षाको मूल उद्देश्य पनि चरित्रवान् नागरिक निर्माण गरी सामाजिक सद्भाव विकासमा टेवा पुर्याउनु हो ।
आजको समयले रूप फेरेको छ । सूचना र प्रविधिको उच्च पकड जो सँग पनि रहेको छ जसले गर्दा शिक्षक र विद्यार्थीको तालमेल कतिपय अवस्थामा सन्तुलित गर्न नितान्त आवश्यक छ । हिजोका विद्यार्थीको मनोविज्ञान र आजका विद्यार्थीको मनोविज्ञानमा निकै अन्तर आएको छ । विद्यालय प्रशासन, अभिभावक, शिक्षक, विद्यार्थीबिच कसरी तालमेल राख्ने र समय सापेक्ष अहिले २१औँ शताब्दीमा शिक्षकहरूले विद्यार्थीका, प्रशासनले शिक्षकका, अभिभावकका ज्ञानात्मक, भावनात्मक तथा मनोक्रियात्मक पक्षको यथेष्ट हेक्का राख्न जरुरी छ । प्रत्येक विद्यालयमा एउटा परिष्कृत र आदर्श शैक्षिक संस्कारको स्थापना भएमा मात्र यो राष्ट्रको शैक्षिक विकासले सार्थक रूप लिनेछ ।
यी आवश्यकतालाई दृष्टिगत गरी काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन तथा सेन्ट लरेन्स स्कुल/कलेजको सहकार्यमा दोस्रो कार्यशाला “विद्यालयमा परिष्कृत संस्कार“ विषयमा सेन्ट लरेन्स स्कुलको सभाकक्षमा प्रशिक्षण सम्पन्न भएको छ । जसमा स्कुल र कलेजका सम्पूर्ण शिक्षकको स्वतःस्फूर्त र सक्रिय सहभागिता देखिएको थियो ।
शिक्षक विद्यार्थी बिचको मनोविज्ञान र संवेगात्मक भावना एका अर्कामा कसरी अन्तर्निहित रहेका हुन्छन रु शिक्षण प्रक्रियामा आफ्नो भूमिका कसरी पहिल्याउने, अमूर्त आवश्यकताहरूलाई कसरी चिन्ने र पुरा गर्ने बारे कार्यशालामा प्रस्ट पार्न खोजिएको थियो । विभिन्न शिक्षकहरूसँग प्रत्यक्ष अन्तरक्रिया पनि गरिएको थियो । कार्यशालालाई अझ बढी रोचक र सहभागीमूलक बनाउन बिच बिचमा भएका अन्तरक्रिया र समूहगत कार्यले भूमिका खेलेको थियो ।
कार्यशालाको सहजीकरण काठमाडौँ विश्वविद्यालयकी डा.पार्वती ढुङ्गानाले गरेकी थिइन भने सञ्चालन काठमाडौँ विश्वविद्यालयका डा.सुरेश गौतमले गरेका थिए ।



