काठमाडौँ /२९ मंसिर – पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायले इन्जिनियरिङ तर्फ खाली भएका सिटहरूमा भर्ना हुन पाउनेगरी २०८० पौष २१ गते प्रवेश परीक्षा गर्ने सूचना प्रकाशित गरेको छ । सो प्रवेश परीक्षामा सामेल भइ भर्ना हुन चाहाने विद्यार्थीहरूले २ हजार तिरी पौष १४ गतेसम्म ३ हजार तिरी पौष १६ सम्म आबेदन दिन सक्ने उक्त सूचनामा उल्लेख छ ।
+२ मा ग्रेड बृद्धिको लागि आवेदन दिएका विद्यार्थीहरू, डिप्लोमा तर्फ ओजेटी बाँकी रहेका विद्यार्थीहरू र विविध कारणले पुल्चोक इन्जिनियरिङ संस्थान तर्फ नाम ननिकालेका विद्यार्थीहरूले समेत पहिलो प्रवेश परीक्षामा सामेल हुन नपाएको र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङका केही कार्यक्रमहरूमा सिट खाली रहेको सन्दर्भमा त्यस्ता विद्यार्थीहरूलाई लक्षित गरी यो प्रवेश परीक्षा मार्फत मौका दिन लागिएको हो ।
पूर्वाञ्चल विश्वविद्यालयले यस वर्ष देखि इन्जिनियरिङ संकाय तर्फ एउटै विद्यार्थीले दोहोरो प्रवेश परीक्षा दिनु नपरोस् भनी त्रिभुवन विश्वविद्यालय, पुल्चोक इन्जिनियरिङ संस्थान र काठमाडौँ विश्वविद्यालयबाट प्रवेश परीक्षा उत्तीर्ण भएका विद्यार्थीहरूले प्रवेश परीक्षा फाराम भरी सम्बन्धित कलेजमा सिधै भर्ना गर्न पाउने अर्थात् पुनः पूर्वाञ्चल विश्वविद्यालयको प्रवेश परीक्षामा सामेल हुनुनपर्ने व्यवस्था गरेकोले विद्यार्थी भर्नामा सहज भएको छ ।
साथै पूर्वाञ्चल विश्वविद्यालयको पाठ्यक्रम परिमार्जन गरी अन्य विषयलाई समसामयिक बनाउदै आठौँ सेमेष्टरमा तीन महिना अनिवार्य इण्टर्नसिप गर्नैपर्ने र १०० पूर्णाङ्कमा ४० पूर्णाङ्कको आन्तरिक मूल्याङ्कन परीक्षा विधि अपनाएकोले विद्यार्थीलाई बढी अभ्यास गराई पास रेट समेत वृद्धि गर्न सकिनेगरी पाठ्यक्रममै व्यवस्थापन गरिनु निकै नै महत्त्वपूर्ण रहेको विश्वविद्यालयले जनाएको छ ।
मुलुकको समृद्धि विकास निर्माणबाट मात्र सम्भव रहेको र विकास निर्माणका लागि दक्ष जनशक्ति सिभिल इन्जिनियरहरूको आवश्यकता बढिरहेको सन्दर्भमा विद्यार्थीलाई अभ्यासमुखी शिक्षा दिनेगरी पाठ्यक्रम परिमार्जन हुनु शैक्षिक क्षेत्रमा निकै महत्त्वपूर्ण कुरा हो ।
त्यसैगरी टेलिकमनिकेसनको क्षेत्रमा, एयरपोर्ट टावर संचालनको क्षेत्रमा, इलेक्ट्रिक प्रविधिको विकास गर्ने कुरामा, हाइड्रोपावरमा पावर प्लाण्ट सञ्चालन गर्ने क्षेत्रमा लगायत विविध क्षेत्रमा इलेक्ट्रीकल इन्जिनियरहरूको आवश्यकता दिन प्रतिदिन बढिरहेको छ । दक्ष इलेक्ट्रीकल इन्जिनियरहरूको डिमाण्ड देश भित्र मात्रै नभएर जापान, दक्षिण कोरिया, खाडी मुलुकहरू लगायतका विकसित देशहरूमा समेत औद्योगिक उत्पादन गर्न डिमाण्ड रहेको पाइन्छ ।
यो पनि पढ्नुहोस :



