तलब र दिवा खाजाको रकम निकासाको माग गर्दै विद्यालय बन्द गरी शिक्षक धर्नामा

सर्लाही/२५ मङ्सिर – सर्लाहीको चन्द्रनगर गाउँपालिकाका शिक्षक १३ दिनदेखि विद्यालय बन्द गरी धर्नामा बसेका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को तलबभत्ता, विद्यालय सञ्चालन खर्च तथा विद्यार्थीका लागि दिवा खाजाको रकम निकासाको माग गर्दै गाउँपालिकाभित्रका सम्पूर्ण शिक्षक मङ्सिर १२ गतेदेखि गाउँपालिका कार्यालयमा धर्ना बसेका हुन् ।


विगत १३ दिनदेखि गाउँपालिकाका २२ वटा सामुदायिक विद्यालय बन्द हुँदा करिब छ हजार विद्यार्थी पढाइबाट वञ्चित भएका छन् । यहाँ राजनीतिक टकरावले गाउँ सभा हुन नसक्दा बजेट पारित हुन सकेको छैन ।


गाउँपालिकामा आर्थिक गतिविधि पूर्ण रूपमा ठप्प छ । गएको साउनदेखि तलब नपाएपछि धर्नामा बसेका शिक्षकलाई गाउँपालिकाका कर्मचारीले पनि समर्थन जनाएका छन् ।


नेपाल शिक्षक महासङ्घ चन्द्रनगर गाउँपालिका समितिका अध्यक्ष सरोजकुमार सिंहले १३ दिनदेखि निरन्तर धर्नामा बस्दासमेत कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो। “भोकभोकै पढाउन नसकेर धर्नामा आएर बसेको आइतबार १३ दिन भयो तर गाउँ सभा गरेर तलबभत्ता निकासा गर्ने विषयमा जनप्रतिनिधि गम्भीर देखिएका छैनन,” शिक्षक महासङ्घका अध्यक्ष सिंहले भन्नुभयो ।


आन्दोलित शिक्षकले पाँच महिनासम्म तलब नपाउँदा घर व्यवहार चलाउनै मुस्किल परेपछि बाध्य भई विद्यालय बन्द गरेर धर्नामा बस्नु परेको बताएका छन् । जनप्रतिनिधिबिचको द्वन्द्वले यत्तिका दिनसम्म विद्यालय बन्द हुँदा अभिभावक चिन्तित बन्न थालेका छन् ।


चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले गाउँ सभा गर्नका लागि आफू प्रयासरत नै रहेको बताउनुभयो । “कार्यपालिकामा मसँग बहुमत छैन,” उहाँले भन्नुभयो, “गाउँ सभा गर्न मैले मात्रै भनेर हुनेवाला केही छैन ।” आफू दुई पटक धर्नास्थलमा पुगेर गाउँ सभा हुनासाथ तलबभत्ता निकासा गर्ने र तत्काल विद्यालय सञ्चालन गरिदिन आन्दोलित शिक्षकसँग आग्रह गरेको उहाँले बताउनुभयो । “उहाँहरूलाई दुई पटक आफैँ पुगेर विद्यालय खोलिदिन आग्रह गरेँ तर मान्नुभएन, “ गाउँपालिका अध्यक्ष महतोले भन्नुभयो, “त्यो धर्नामा पनि चारतिरका १० थरी मान्छे छन् ।“


चन्द्रनगरमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षबिच लामो समयदेखि विवाद छ । गाउँपालिका अध्यक्ष महतोले गएको असारमै गाउँ सभा गरेर बजेट पारित गर्ने प्रयास गरे पनि उपाध्यक्ष गीतादेवी महतोसहित बहुमत कार्यपालिका सदस्य सभामा सहभागी नै भएनन् ।


उपाध्यक्ष महतो गाउँपालिका अध्यक्षले आफूहरूसँग समन्वय नगरी एकलौटी ढङ्गले अगाडि बढेको आरोप लगाउनुहुन्छ । चन्द्रनगरको १५ सदस्यीय कार्यपालिकामा अध्यक्ष महतोसहित तीन जना एकातर्फ र उपाध्यक्षसहित बाँकी १२ जना अर्कोतर्फ रहेका छन् ।


यसअघि जिल्लाको हरिपुर्वा नगरपालिकामा यसै गरी शिक्षकहरू तलब माग गर्दै १३ दिनसम्म धर्नामा बसेका थिए । नगर सभा हुन नसकेको त्यहाँ पनि नगर प्रमुख विनोदकुमार साहले नगर सभा हुनासाथ तलबभत्ता खुवाउने आश्वासन दिएर विद्यालय खुलाउनु भएको थियो । गोरखापत्रमा समाचार छ ।