काठमाडौँ /२५ मंसिर – नेपालमा शैक्षिक परामर्श (एजुकेशन कन्सल्टेन्सी) क्षेत्र पछिल्लो दुई दशकबाट व्यावसायिक रूपमा अगाडि बढ्दै आएको छ । विगतमा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई भाषा सिकाउने, कम्प्युटर सिकाउने उद्देश्यका साथ सुरु गरिएको शैक्षिक परामर्श क्षेत्र आज ठूलो उद्योगको रूपमा स्थापित भएको छ । यो क्षेत्रमा समाजका ठूला व्यवसायी पनि जोडिँदै गएका छन् ।
युवाहरूमा ‘नेपालमै बसेर, केही गरौँ’ भन्नेभन्दा पनि जसरी हुन्छ, जति पैसा खर्च गरेर हुन्छ, एकपटक विदेश जानुपर्छ भन्ने भावना विकसित भएको छ । पछिल्लो समय त बिदेसिने लहर झनै झ्याँगिँदै गएको छ । पढे–लेखेका तथा सीप भएका वा नभएका युवाको रोजाइ अमेरिका, अस्ट्रेलिया, बेलायत, जापान जस्ता राष्ट्र हुने गरेका छन् । केही युरोपियन मुलुकतिर र ती देश जान नसकेका युवा खाडी मुलुकतिर गइरहेका छन् । देशका युवा जसरी हुन्छ, विदेश जानैपर्छ भन्ने सोचमा दौडिरहेका छन् ।
कुनै पनि मुलुकका लागि ठूलो युवा जनशक्ति बिदेसिनु कुनै पनि कोणबाट राम्रो संकेत होइन । तर, अहिलेको विश्वपरिवेशमा विदेश जान चाहनेलाई रोक्न सकिँदैन । तर, कस्ता व्यक्ति अध्ययन वा रोजगारीका लागि विदेश जान पाउने भन्ने मापदण्ड निर्धारण गर्न धेरै ढिलो भइसकेको छ । सरकार र सरकारका लाइन एजेन्सी तथा सरोकारवाला निकाय बसेर यस सन्दर्भमा दूरगामी महत्त्वको नीति निर्माण गर्न जरुरी छ ।
अध्ययनका लागि विदेश जाने विद्यार्थीको पहिलो उद्देश्य पढ्ने नै हुनुपर्छ । जुन उद्देश्य बोकेर विदेश गएको हो, त्यो उद्देश्य पूरा गरेर नेपाल फर्किनुपर्छ । अध्ययनका लागि विदेशिएको विद्यार्थीलाई स्वदेश फर्किने वातावरण देशले नै निर्माण गर्नुपर्छ । यसका लागि राज्यले स्पष्ट नीति निर्माण गर्नुपर्छ । न नीति न त नियम,केही पनि भएन भने स्वदेश किन फर्किने रु भन्ने प्रश्न युवाहरूमा आउँछ । युवामा देशप्रतिको आकर्षण जगाउन सकिएन भने मुलुक असफल राष्ट्र बन्ने खतरा हुन्छ ।
पछिल्लो समय शैक्षिक परामर्श क्षेत्रमा अराजकता बढ्नुको कारण पनि अनुशासनहीनता र बलियो कानुनको अभाव तथा बेथिति नै हो । यस क्षेत्रमा किर्ते काम धेरै भइरहेका छन् । हरकोहीले शैक्षिक परामर्शको साइनबोर्ड झुन्ड्याएका छन् । मापदण्ड नपुगेका विद्यार्थीलाई पनि किर्ते कागजात तयार गरेर विदेश पठाउने काम पछिल्लो समय ‘कमाउ धन्दा’ बनेको छ ।
अघिल्लो एक वर्षमा ९१७ पुस ०७८ देखि १६ पुस ०७९० सम्ममा एक लाख दुई हजार पाँच सय जनाले वैदेशिक अध्ययनमा जान अनुमति लिए । यसले के देखाउँछ भने अहिले जो पनि विदेश जान चाहन्छन्, सक्ने विद्यार्थीका रूपमा र नसक्ने कामदारका रूपमा ।
वास्तवमा जो विदेशका उत्कृष्ट कलेज–युनिभर्सिटीमा अध्ययन गर्न सक्षम छन्, उनीहरूलाई मात्र इजाजत दिने प्रबन्ध गर्नुपर्छ । जसले क्षमतावान् विद्यार्थीलाई छानेर मात्र अध्ययनका लागि विदेश पठाउँछ, उसलाई मात्र वैदेशिक शैक्षिक परामर्शको अनुमति दिनुपर्छ । मापदण्ड पूरा नगर्ने र जालसाजी तथा ठगी धन्दा गरेर एजुकेशन कन्सल्टेन्सी चलाइरहेकाहरूलाई कारबाहीको दायरमा ल्याउन जरुरी छ । जुन उद्देश्यका लागि शैक्षिक परामर्श सेवा सञ्चालन गर्न अनुमति दिइएको हो, त्यही उद्देश्यको परिधिभित्र रहेर विदेश अध्ययनमा विद्यार्थी पठाउन सक्ने क्षमता भएका शैक्षिक परामर्श संस्थालाई मात्र व्यवसाय सञ्चालनको अनुमति दिनुपर्छ ।
राज्यका विभिन्न निकायदेखि समाजका बौद्धिक वर्गले शैक्षिक परामर्शको क्षेत्रलाई नजिकबाट नियालिरहेका छन् । यो निकै खुसीको कुरा हो । कमसेकम कसै न कसैले यो क्षेत्रलाई चासो त दिइरहेको छ । तर, यसलाई एकतर्फी रूपमा मात्र हेर्नुहुँदैन । राज्यको समस्या जनशक्ति बाहिर गयो, नेपालबाट ठूलो धनराशि बाहिर गयो भन्ने चिन्ता व्यक्त गरेको सुनिन्छ । एकथरीलाई विद्यार्थी विदेश पठाएर शैक्षिक परामर्श व्यवसायीले धेरै पैसा कमाए भन्ने पिरलो छ । तर, यो एकतर्फी बुझाइ हो ।
शैक्षिक परामर्श व्यवसायीले राज्यलाई सहयोग पनि गरिरहेका छन् । यी संस्थाको सहयोग हुँदैनथ्यो भने विदेश जाने जनशक्ति आफूखुसी अन्य बाटो रोजेर जान्थे । उनीहरू अलपत्र हिसाबले जान्थे । जसकारण उनीहरूले जोखिमपूर्ण वातावरणको सामना गर्नुपर्ने हुनसक्थ्यो ।
त्यसैले व्यावसायिक दक्षता भएका शैक्षिक परामर्श क्षेत्रको साथ र सहयोग लिनु उचित हो । यो क्षेत्र समाज र राष्ट्रकै लागि अपरिहार्य पनि छ । नेपालमा मात्र होइन अमेरिका, जापान, बेलायत, अस्ट्रेलियामा पनि एक देशबाट अर्को देशमा पढ्न जाने चलन छ । अविकसित देशका विद्यार्थी मात्र अध्ययनका लागि विदेश जान्छन् भन्ने होइन । अध्ययनका लागि विदेश गएका विद्यार्थीले धेरै कुरा सिकेर स्वदेश फर्किएको हुन्छ । उसले अध्ययनसँगै त्यहाँको भाषा, संस्कृति, रहनसहन, सीप र परिश्रमको मूल्य पनि सिकेर आउँछ ।
तर, राज्यले शैक्षिक परामर्श क्षेत्रलाई मात्र दोष दिने काम गरिरहेको छ । आफू भने यो क्षेत्रमा देखिएका कतिपय विकृति नदेखेझैँ गरेर आँखा चिम्लिएर बसेको अवस्था छ । केही समययता शैक्षिक परामर्श क्षेत्रमा ठूला–ठूला माफिया छिरिसकेका छन् । ती माफिया व्यापारी, मेनपावर व्यवसायी आदिको ट्याग भिरेर आएका छन् । ट्राभल टुरिजमका क्षेत्रमा असफल भएकाहरूदेखि कतिपय शिक्षकदेखि ठूला उद्योगपति पनि शैक्षिक परामर्शको पसल खोलेर बसेका छन् । यस क्षेत्रमा केही समययता नक्कली काम धेरै भइरहेको छ । असक्षम विद्यार्थीले पनि नक्कली कागजात बनाएर विदेश गइरहेका छन् । विदेश जानु भनेको विद्यार्थीका लागि एउटा संस्कृतिजस्तो भएको छ ।
शैक्षिक परामर्श क्षेत्रलाई समयमै नियमन र व्यवस्थापन गरिएन भने अराजक हुने सम्भावना धेरै छ । सेवाग्राहीहरू यसै पनि पीडित छन् । नेपालमा बस्ने कि बाहिर जाने भन्ने दोधार अहिले हरेक व्यक्तिमा पाइन्छ । नेपालमा बसेर के गर्ने रु भन्ने धेरैको जिज्ञासा छ । हुन पनि हो, नेपालमा न गुणस्तरीय शिक्षा छ, न रोजगारी छ । त्यसैले धेरै युवा बाहिर जान चाहन्छन् । हरेक दिन लाखौँ विद्यार्थी ठगिइरहेका छन् । विभिन्न खाले समाचार आइरहँदा पनि सरकार भने मौन देखिन्छ । बुझ्नुपर्ने कुरा के हो भने देश छाड्न कसैलाई रहर हुँदैन । तर, देशको परिस्थितिले बाध्य पारेको छ । जतिसुकै गरिब देश भए पनि आफ्नै मातृभूमि प्यारो हुन्छ ।
सरकारले युवाका चाहनालाई बुझ्न आवश्यक छ । विदेश जाने युवालाई रोक्नुभन्दा पनि यसलाई व्यवस्थापन गर्नतिर राज्यको ध्यान जान आवश्यक छ । विदेशमा जनशक्ति नपठाउने भन्ने नीतिमा राज्य बस्ने, तर त्यही व्यवसायमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) ल्याइएको छ । यो कुनै पनि कोणबाट व्यावहारिक छैन । पाँचदेखि १० लाखमा चल्ने व्यवसायमा एफडिआई किन ल्याइएको हो । नेपालीले नै सहजै सम्हाल्न सक्ने काममा एफडिआई आवश्यक नै छैन । कसको स्वार्थलाई केन्द्रमा राखेर एफडिआई ल्याइएको हो ? बुझ्न कठिन छैन ।
नेपाली र विदेशीको काम गराइ फरक हुन्छ । विदेशी त भोलिका दिनमा केही समस्या आइप¥यो भने भागेर जान्छन् । तर, नेपाली भागेर जाने ठाउँ कतै पनि हुँदैन । गइहाल्यो भने पनि नेपालीलाई कहीँ न कहीँ समाउने अङ्कुश हुन्छ । पहिले यो क्षेत्रमा एफडिआई थिएन । पछि कसैको निजी स्वार्थका लागि यो ल्याइयो । आजको दिनसम्म एफडिआईलाई शिक्षा मन्त्रालयले मानेको छैन, जुन सुखद कुरा हो । तर, पनि विभिन्न बहानामा, अनेक रूपमा कतिपय व्यक्तिले एफडिआई अन्तर्गत शैक्षिक परामर्श व्यवसाय चलाइरहेका छन् । यो कुरालाई राज्यले गम्भीरताका साथ हेर्नुपर्छ । शैक्षिक परामर्श क्षेत्र वैदेशिक मामिला र कूटनीतिक क्षेत्रसँग पनि जोडिने भएकाले यसलाई सङ्घीय सरकारले हेर्नुपर्छ ।
शिक्षा ऐनमा शैक्षिक परामर्श क्षेत्रलाई राम्रोसँग समेटिनुपर्छ । शिक्षा मन्त्रालयले कन्सलेन्सी विज्ञहरूसँग छलफल गरेर सल्लाह, सुझाब लिनुपर्छ । जुन अहिलेसम्म लिइएको छैन । राज्यले धरौटीको कुरा पनि उठाएको छ, त्यसलाई स्पष्ट पार्नुपर्छ ।
विशेषगरी नीतिमा ध्यान दिनुपर्छ । सरकारले के नीति ल्याउँछ, त्यसमा शैक्षिक परामर्श सेवाबारे स्पष्ट नीति बनाउनुपर्छ । अब आउने शिक्षा ऐनमा शैक्षिक परामर्श क्षेत्रलाई धरौटी राख्नु भन्ने छ, यसलाई स्पष्ट पारिदिनुपर्छ । यो बुँदा आफैँमा अस्पष्ट छ । शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नियमन गर्न नसकेर धरौटी भन्ने शब्द शिक्षा ऐनमा राखेको हो ।
शैक्षिक परामर्श क्षेत्रले सेवा दिने हो,यसले विद्यार्थी र विदेशी कलेजबिच पुलको काम गर्ने हो । ऐनमा शैक्षिक परामर्श व्यवसायीको कुरा समेटिनुपर्छ । यस क्षेत्रका बारेमा हामीले राम्रोसँग बुझेका छौँ । विद्यार्थीको चाहनालाई पनि बुझेका छौँ । आफ्नो जनशक्ति कमभन्दा कम विदेश जाओस् भन्ने सरकारको चाहना छ, त्यसलाई हामीले पनि सहयोग गर्छौँ । तर, यस क्षेत्रलाई स्पष्ट नीति ल्याएर अगाडि बढाउन आवश्यक छ ।
नेपालमा हाल एक हजार चार सय ७० हाराहारीमा वैधानिक शैक्षिक परामर्श संस्थाहरू छन् । बाँकी सबै गैरकानुनी रूपमा सञ्चालनमा भइरहेका छन् । तर, सरकारले देखेको छैन । गैरकानुनी रूपमा सञ्चालन भएकाले जे पनि गर्छन् । तर, सरकारलाई नियमित राजस्व बुझाएका र नियम तथा नीतिको परिधिमा बसेका परामर्श दातृनिकाय र अवैधानिक रूपमा सञ्चालन भइरहेका संस्थालाई एउटै डालोमा राखेर हेर्नु गलत छ । यो व्यवसायलाई नियमन गर्न अत्यावश्यक छ । व्यवसाय गर्न सबैलाई अधिकार छ । तर, सरकारले त्यसको स्पष्ट मापदण्ड तयार गर्नुपर्छ । गैरकानुनी रूपमा रहेकालाई कानुनी दायरामा ल्याएर व्यवस्थित गरेर सञ्चालन गरिनुपर्छ ।
एक दशक पहिले र अहिले धेरै फरक भइरहेको छ । धेरै विद्यार्थी, धेरै देश जान थालिसकेका छन् । उनीहरूको रोजाइमा ५० भन्दा बढी देश पर्छन् ।
विद्यार्थीमार्फत करोडौँ रुपैयाँ बाहिर गएको छ भनिन्छ । त्यसैअनुसार उनीहरूले फर्काएका पनि छन् । रेमिट्यान्सको हिसाबले हेर्ने हो भने पनि उनीहरूले फर्काएको देखिन्छ । सरकारले नेपालबाट बाहिरिएको रुपैयाँको तथ्यांक राख्ने, तर उनीहरूले कमाएर पठाएको तथ्यांक नराख्ने चलनले पनि यस्तो देखिएको हो ।
पाठ्यक्रम परिवर्तन नगरुन्जेल विद्यार्थी बाहिरिने क्रम भने रोकिँदैन । यसलाई परिवर्तन गर्न आवश्यक छ । अब आउने शिक्षा ऐनमा शिक्षाका मुद्दालाई सकारात्मक तवरले समेटिएनन् भने विदेशी तत्त्वको प्रभुत्व हाबी हुने पक्का छ ।
यस क्षेत्रलाई सबैले मिलेर जोगाउनुपर्छ । राज्यले कडा नीति, नियम ल्याउने हो भने शैक्षिक परामर्श क्षेत्रमा भइरहेका बेथिति आफैँ हट्छन् । गलत तत्त्वहरू आफैँ पाखा लाग्छन् । पढ्नका लागि भन्दै जथाभाबी रूपमा विदेश जाने प्रवृत्तिमा सुधार आउँछ ।
(लेखक उद्धव बहादुर खड्काले सन् २००२ फाइनान्स तथा मार्केटिङमा एमबीए (मास्टर इन बिजनेश स्टडिज) अध्ययन गरेका छन् । साथै अन्टरप्रेनरसीप इन ग्लोबल एजुकेसनमा विद्यावारिधि गरेका खड्का करिब दुई दशकदेखि शिक्षा तथा शैक्षिक परामर्श क्षेत्रमा सक्रिय छन् ।)



