काठमाडौँ /१८ असोज – मावि तृतीय श्रेणीका शिक्षकहरूले साबिक उमाविका शिक्षकसँग गरिएको सम्झौताले आफूहरूलाई बाधा पुग्ने जनाएका छन् । आफूहरू मावि तृतीय श्रेणीमा कार्यरत रहेको र साबिक उमाविका शिक्षकहरूसँग असोज १२ गते सरकारले गरेको सम्झौता अनुसार बढुवामा बाधा पुग्ने जनाएका हुन् ।
साढे १२ हजारको हाराहारीमा रहेका मावि तृतीय श्रेणीका शिक्षकहरूको मञ्चले साबिक उमाविका शिक्षकहरूलाई मावि द्वितीय श्रेणी कायम गरी आन्तरिक प्रतिस्पर्धा गराउने सम्झौताले आफूहरू अन्यायमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
६ हजारको हाराहारीमा रहेका साबिक उमाविका शिक्षकहरूलाई मावि द्वितीय श्रेणी कायम गर्दा साढे १२ हजारको हाराहारीमा रहेका मावि तृतीय श्रेणीका शिक्षकहरूले बढुवा हुने अवसरबाट वञ्चित हुनुपर्ने अवस्था हुनसक्ने जानकारी दिँदै ध्यानाकर्षण गराएका हुन् ।
साथै मावि तह तृतीय श्रेणीमा कार्यरत शिक्षकहरूको बढुवा तथा वृत्ति विकासमा बाधा पुग्ने कुनै पनि व्यवस्था विद्यालय शिक्षा विधेयकमा समावेश हुन गएको खण्डमा आफूहरू आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।




