कैलाली/१४ असोज – कैलालीका बर्दगोरिया गाउँपालिका र घोडाघोडी नगरपालिकाले प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्ने भएका छन् । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरमा सुधार ल्याउन खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्ने भएका हुन् ।
बर्दगोरिया गाउँपालिकाले गत भदौ १९ गते सार्वजनिक सूचनामार्फत सामुदायिक विद्यालयको प्रधानाध्यापक पदका लागि आवेदन माग गरिएको छ । त्यस्तै घोडाघोडी नगरपालिकाले पनि प्रधानाध्यापक छनोटका लागि आवेदन माग गर्दै आएको छ । तर, घोडाघोडी नगरपालिकामा प्रधानाध्यापक छनोटको मापदण्डमा सामुदायिक विद्यालयका शिक्षकले विमति जनाउँदै आएपछि छनोट प्रक्रियामा समस्या देखिएको छ ।
बर्दगोरिया गाउँपालिकाले १७ सामुदायिक विद्यालयका लागि १० जनाको मात्र आवेदन परेको जनाएको छ । जसमा आठ जनाको आवेदन स्वीकृत भएर प्रधानाध्यापक पदमा नियुक्ति गरिसकेको छ ।
यता घोडाघोडीमा शिक्षा नियमावलीमा विद्यालय तोकेर प्रधानाध्यापकको आवेदन दिन नपाइने कुरामा विमति रहेकाले सो विषयलाई संशोधन गरी तीन वटा विद्यालय तोकेर निवेदन दिने व्यवस्था राख्ने शिक्षकहरूसँग सहमति भएको छ ।



