एन-प्याब्सनको अध्यक्षमा सुवास न्यौपाने पदबहाली

काठमाडौँ/१३ असोज – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन-प्याब्सन)को अध्यक्षमा सुवास न्यौपानेलाई पदबहाली गरिएको छ । नेपालगन्जमा सम्पन्न सातौँ महाधिवेशनको सहमति अनुसार कार्यकालमा विवाद आएपछि आज सुवास न्यौपाने पक्षले एन प्यब्सनको अध्यक्षमा पदबहाली गरेका हुन् ।


सङ्गठनको २०७८ फागुन २४ गते नेपालगन्जमा सम्पन्न सातौँ महाधिवेशनमा पहिलो १८ महिनाका लागि पाण्डव हमाल र दोस्रो १८ महिनाका लागि सहअध्यक्ष सुवास न्यौपाने अध्यक्ष हुनेगरी सहमति गरेको थियो ।


हमालको कार्यकाल गत भदौ २३ गते सकिएको र अबको अध्यक्ष आफू भएको न्यौपानेको दाबी सहित आज पदबहाली गरिएको हो । पाण्डव हमाल पक्षले सहजरुपमा पद हस्तान्तरण नगरेपछि आज एक कार्यक्रमको आयोजना गरी पदस्थापनको गर्नुपरेको न्यौपानेले बताए ।


हमालले भने निर्वाचित कार्यसमितिमाथि केही व्यक्तिको बहकावमा लागेर भ्रम फिँजाइएको र कुनै आन्तरिक सहमति भएको भए विधिवतरुपमा प्रस्ताव पेस गर्न विभिन्न फोरमहरूमा भन्दै आएका छन् । आजको कार्यक्रममा हमाल पक्षको उपस्थित भने थिएन ।