त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा चलखेल

काठमाडौं/९ भदौं-त्रिभुवन विश्वविद्यालयले २०७१ पुस ९ गते व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहका बिबिएम, बिएचएम र बिआइएम नयाँ कार्यक्रम थपका लागि आवेदन माग गरेको थियो । सोहि अनुरुप विश्वविद्यालयबाट सम्बन्धन लिएर म्यनेजमेन्ट सम्बन्धी कार्यक्रम सञ्चालन गरिहेका इच्छुक शैक्षिक संस्थाहरुलाई आवेदन दिन सूचना जारी गर्यो । सूचनामा व्यवस्थापन संकाय अन्तर्गत विश्वविद्यालयबाट सम्बन्धन लिएर अन्य कार्यक्रम सञ्चालन गरिरहेका कलेजहरुलाई नयाँ विषय थप्न इच्छुक भएका कलेजले २०७१ माघ १५ गते बिहिबार बेलुका ५ बजेसम्मलाई आवेदन दिन सक्ने गरी अन्तिम म्याद राखेर आवेदन माग गरेको थियो ।

त्रिभुवन विश्वविद्यालयले २०७१ पुस ९ गते व्यवस्थापन संकाय अन्तर्गत विषय थपका लागि निकालेको सूचना
त्रिभुवन विश्वविद्यालयले २०७१ पुस ९ गते व्यवस्थापन संकाय अन्तर्गत विषय थपका लागि निकालेको सूचना

विश्वविद्यालयको उक्त सूचनालाई आधार मान्ने हो भने नयाँ कार्यक्रम थप गर्नका लागि २०७१ माघ १५ को सूचना जारी हुनुभन्दा चारवर्ष पहिलादेखि कलेजले सोही संकाय अन्तर्गतका कुनै अन्य कार्यक्रम सञ्चालन गरेको हुनुपर्ने भनिएको छ । साथै विश्वविद्यालय अनुदान आयोगमा क्युएए प्राप्त गर्नका लागि प्रक्रियामा गएको हुनुपर्ने समेत उल्लेख गरेको छ ।
योसँगै त्रिभुवन विश्वविद्यालयले बुँदागत रुपमा १५ वटा मापदण्ड निर्धारण गरेर कलेजहरुलाई कार्यक्रम थपका लागि अनुमति दिइने सूचनामा उल्लेख गरेको छ । यसरी विश्वविद्यालयले तोकेको मापदण्ड पुरा गरेका कलेजलाई मात्रै नयाँ विषय थप्नका लागि अनुगमन गरेर प्रतिवेदनका आधारमा अनुमति दिइने बुझिन्छ ।


तर, तत्कालिन समयमा त्रिभुवन विश्वविद्यालयको कुनै पनि कार्यक्रम संचालन नगरेका नयाँ कलेजहरुले यही सूचनाका आधारमा नयाँ विषय थप गर्ने भन्दापनि नयाँ सम्बन्धनका लागि भनि आवेदन दिएको पाइएको छ । सम्बन्धन दिनका लागि सूचना नै जारी नभएको समयमा उनीहरुले दिएको आवेदन कसरी विश्वविद्यालयको डीन कार्यालयमा दर्ता भयो भन्ने विषय आश्चर्य बनेको छ । विश्वविद्यालय स्रोतका अनुसार डीन कार्यालयको मिलेमतोमा यसरी आवेदन दर्ता गर्न कलेजहरु सफल भएको र पछि उच्च अदालतलाई भ्रममा पारेर सम्बन्धन दिने काम गरेको जनाएको छ ।


अर्को तर्फ विश्वविद्यालयले नयाँ कार्यक्रम थपका लागि निकालेको सूचनाको मिति र सम्बन्धनका लागि भन्दै आवेदन दिने कलेजको मिति मिल्दोजुल्दो छ । जसमा आरम्भ एजुकेशन नेटवर्क चितवनले २०७१ माघ १२ गते, संकल्प एजुकेशन नेटवर्क वनेपाले २०७१ माघ १३ गते, युनिभर्सल कलेज अफ टेक्नोलोजी एण्ड म्यनेजमेन्ट कलेज विराटनगरले २०७१ माघ १२ गते र चितवन मै रहेको अर्को कलेज निर्वाणा एजुकेशन नेटवर्क भरतपुरले २०७१ माघ १४ गते कम्पनी रजिष्ट्रार कार्यलयबाट कम्पनी दर्ताको प्रमाण पत्र लिएको देखिन्छ ।

विश्वविद्यालयले निकालेको सूचना अनुसार कलेजले पुरा गर्नुपर्ने मापदण्ड पुरा भएको देखिदैन र सूचनाको म्यद सकिन लाग्ने मिति भन्दा तीनदिन अगाडी मात्रै दर्ता भएका कलेजलाई त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले २०७९ माघ १६ गते निर्णय गरेर सम्बन्धन दिएको छ । यसले वश्वविद्यालय शैक्षिक गुणस्तर कायम गर्ने भन्दा पनि आर्थिक लाभका लागि मापदण्ड विपरित सम्बन्धन बाड्ने काम भएको देखिन्छ ।


सम्बन्धन दिने प्रक्रिया माथी नै आशंका


विश्वविद्यालयले नयाँ कार्यक्रम थप गर्नका लागि त्रिभुवन विश्वविद्यालयबाट म्यनेजमेन्ट संकाय अन्तर्गत सम्बन्धन प्राप्त गरेको, विश्वविद्यालय अनुदान आयोगबाट क्युएए प्राप्तका लागि प्रक्रियामा गएको, कलेजमा संचालित कार्यक्रमहरुको विवरण पेश गरेको, नियमित रुपमा त्रिभुवन विश्वविद्यालय सेवा शुल्क बुझाएको बिल पेश गरेको र सूचना जारी हुनुभन्दा चारवर्ष अगाडीदेखि सञ्चालनमा रहेका कलेजहरुलाई मात्र बिआइएम र बिएचएम कार्यक्रम थप दिने भन्दै आवेदन मागिएको छ ।


तर आवेदन दिने चारवटा कुनैपनि कलेजले चारवर्ष अगाडी देखि कलेज सञ्चालन गरेको देखिदैन । सम्बन्धन दिन त्रिभुवन विश्वविद्यालयका ब्यबस्थापन डिन कार्यालयका तत्कालिन डिन प्रा.डा. डिल्ली शर्मा र कर्मचारीहरुले सम्बन्धनका लागि आवेदन दिएका चारवटा कलेजलाई प्रक्रियामा लगेको पाइन्छ जुन नियम विपरित छ । २०७१ सालमा सूचना जारी गरेका तत्कालीन डीनको अवधि सकिएपछि ब्यबस्थापन संकायमा प्रा.डा. शर्मा पुनः डिन नियुक्त भएपछि डां. शर्माले सो कलेजहरुलाई नै सम्बन्धन दिलाउने गरी त्यस प्रक्रियालाइ अगाडि बढाएको स्रोतले बतायो । सोहि अनुरुप डिन कार्यालयले तिनै चार कलेजहरुको सम्भाव्यता अध्ययन गरी तत्कालिन त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्मा पठायो । तर परिषद्ले नयाँ सम्बन्धनका लागि नभई संचालित कलेजहरुमा कार्यक्रम थपका लागि मात्रै भएको भन्दै निर्णय गरेर उक्त चार कलेजलाई सम्बधन दिन नमिल्ने निर्णय गर्यो ।


त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरिसकेका अन्य केही कलेजहरुलाई मात्र बिआइएम र विएचएमका लागि कार्यक्रम थपको अनुमति दियो । स्रोतका अनुसार विश्वविद्यालयको नियम अनुसार आवेदन आईसकेपछि अनुगमनमा जानुपर्ने, सूचना सर्त र सर्त अनुसारका कागज खोज्नुपर्ने र अनुगमनको प्रतिवेदन बनाई डीन कार्यालयको प्रक्रिया पुरा गरेर रेक्टरकोमा पठाउनुपर्ने, रेक्टरले उपकुलपतिकोमा पठाउनु पर्ने र त्यसपछि उपकुलपतिले कार्यकारीको बैठकमा निर्णय गराउनु पर्ने रहेको जनायो । उक्त चार कलेजहरुको हकमा सम्बन्धनका लागि नै नभएको निवेदनलाई गलत अर्थ लगाएर दर्ता नै गर्न नमिल्ने निवेदन मिलेमतोेमा डीन कार्यालयले दर्ता गराई अनुगमन गरेको आरोप छ ।


२०७२ भदौं ७ गते उपकुलपति प्रा.डा. हिरा बहादुर महर्जन परिवर्तन भएर नयाँ उपकुलपति प्रा. डा. तिर्थ खनियाँ आएपछि पुन चार कलेजहरुको सम्बन्धनको प्रक्रियालाई अगाडि बढाउन थालियो । खनियाँ आउनु भन्दा आगाडि एक वर्षको अवधिमा अनुगमन भएर प्रतिवेदन बनाई सकिएको स्रोतले बतायो । त्यही समयमा कलेजहरुलाई सम्बन्धन दिलाउने गरी प्रक्रिया अगाडि बढाइएको स्रोतको दाबी छ ।


तर, परिवर्तन भएर आएका उपकुलपतिल प्रा.डा. तिर्थ खनियाँ सम्बन्धनका लागि नभई नयाँ कार्यक्रम थप्नका लागि मात्रै सूचनामा उल्लेख गरिएको भनेर सम्बन्ध दिन नमिल्ने निर्णय गराएको देखिन्छ । त्यसपछि नयाँ दर्ता भएका चार कलेजका संचालकहरुले रानीतिक दलहरुलाई दबाब दिन लगाउने, विभिन्न निकायबाट पत्र पठाउन लगाउने, विभिन्न व्यक्तिहरुलाई लगाउने गरेको स्रोतको भनाई छ ।


जब २०७६ भदौं ७ गते उपकुलपति प्रा. डा. तिर्थ खनियाको समय सकियो अर्का उपकुलपति नियुक्ति नहुँदासम्मका लागि तत्कालिन रेक्टर प्रा. डा. सुधा त्रिपाठीलाई उपकुलपतिको जिम्मा दिइयो । त्यो समयमा पनि उक्त कलेजहरुले सम्बन्धनको निर्णय गराइ पाउँ भन्दै २०७६ असोज १० गते दर्ता नं. २४८ मा पत्र बुझाए र सो पत्रका आधारमा विश्वविद्यालय उपकुलपतिको कार्यालयले स्पष्ट पारिएको भन्दै पत्र लेख्यो । सो पत्रमा कार्यकारी परिषद्को २०७५ भदौं १० गतेको बैठकले नयाँ कार्यक्रम थपका लागि कलेजहरुलाई स्वीकृत दिएको तर निवेदक कलेजहरुको हकमा सम्बन्धन समितिबाट कार्यकारी परिषद्मा सम्बन्धनको अन्तिम निर्णयका लागि सिफारिस भएको अवस्थामा नयाँ सम्बन्धनको सम्बन्धमा मन्त्रिपरिषद्को २०७५ साउन १४ को निर्णय अनुसार विभिन्न विश्वविद्यालयले प्रदान गर्दै आएको सम्बन्धन अर्को आदेश नभएसम्म स्थगन गर्ने भन्ने निर्णयका कारण दिन नसकिने र अर्को सकारात्मक निर्णय आउना साथ सम्बन्धन प्रदान गरिने लेख्यो । तर स्रोतले सम्बन्धन नदिने निर्णय हुँदा हुँदै पनि पत्रमा कार्यकारी परिषद्मा सम्बन्धनको अन्तिम निर्णयका लागि सिफारिस भएको भनि उल्लेख गरेको र सम्बन्धन दिलाउने मनासयबाट पत्र लेखिएको बतायो ।


मन्त्रिपरिषद्को २०७५ साउन १४ को निर्णय अनुसार सम्बन्धनको प्रक्रिया स्थगन गरिएकोमा २०७७ फागुन ११ गते सो स्थागन फुकुवा गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयलाई जानकारी दियो । यसपछि पनि कलेजहरुलाई विश्वविद्यालयले सम्बन्धन दिन सकेन । तर विश्वविद्यालयका केही पदाधिकारीहरुकै सल्लाहमा कलेजहरुले उच्च अदालत पाटनमा २०७८ पुस ७ गते रिट निवेदन दायर गरे । २०७९ असोजमा ५ गते उच्च अदालतले फैसला गर्दै निवेदकको माग बमोजिम कलेजहरुलाई सम्बन्धन दिन आदेश जारी गर्यो ।


अदालतको फैसला अनुसार त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले २०७९ माघ १६ गते निर्णय गर्दै उक्त ४ वटा कलेजहरुलाई शैक्षिक वर्ष २०७९÷०८० देखि सञ्चालन गर्न स्विकृतपत्र दियो ।


उच्च अदालत पाटनलाई समेत भ्रम र गुमराहमा पारि उक्त ४ वटा कलेजका संचालक तथा त्रिभुवन विश्वविद्यालय ब्यबस्थापन संकायका डिन पदाधिकारी तथा त्रिवि कार्यकारी परिषद्का केही व्यक्ति समेतको मिलेमतोमा व्यक्तिगत लाभ हुनेगरी सम्बन्धन दिइएको स्रोतको भनाई छ ।


विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरिसकेका कलेजहरुलाई मात्र कार्यक्रम र विषय थप गर्न सूचना प्रकाशित भएको हो, नयाँ कलेजहरुलाई होइन भनि त्रिभुवन विश्वविद्यालय व्यवथापन डिन कार्यालयका पदाधिकारी एबम कर्मचारीहरुले म लगाएत अन्य कलेजहरुलाई निबेदन नै दर्ता गर्न नदिएको स्रोतको बतायो । तर, केहि नयाँ कलेजहरु दर्ता नै गर्न नमिल्ने निवेदन कसरी दर्ता गरे ? निवेदन दर्ता गरि सम्भाव्यता अध्ययन गर्न कसरी गर्न लगाए ? दर्ता गर्न नमिल्ने कलेजलाई निहित स्वार्थको लागि दर्ता गराएर सम्बन्धन दिएको स्रोतको आरोप छ । यस सन्दर्भमा अख्तियारमा समेत उजुरी परेको छ ।


अचम्मको कुरो त के छ भने सोहि समयमा कार्याकारी परिषद्ले विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत विद्यार्थीको अत्यधिक छाप रहेको विएस्सी सिएस आईटीको नयाँ सम्बन्धनका लागि पनि सूचना जारी गरेको थियो । सो कार्यक्रम लागि पनि विश्वविद्यालयले आवश्यक अनुगमन पटक पटक गरेको थियो जुन हालका मितिसम्म पनि टुंगो लगाउन सकेको छैन । यसरी नियम संगत सूचना जारी गरी प्रकृयामा कार्यक्रमको टुंगो नलगाई नियम बिपरित कार्यलाई भने उचच प्रथामिकताहरुको चरम आर्थिक चलखेल रहेको प्रष्ट देखिन्छ ।


विश्वविद्यालय अनुदान आयोगको मापदण्ड पनि पुरा छैन


सूचनालाई नै आधार मान्ने हो भने सूचनामा भनिएको छ नयाँ कार्यक्रम थपका लागि विश्वविद्यालय अनुदान आयोगमा क्युएएका लागि प्रक्रियामा गएको हुनुपर्छ । पहिलो कुरो त सूचना निकालिएको सम्बन्धनका लागि होइन उनीहरुले डीन कार्यालयसँगको मिलेमतोमा आवेदन दर्ता गराएको देखिन्छ भने दोस्रो कुरा उनीहरु नयाँ दर्ता भएका कारण क्युएएमा जान सक्ने अवस्था छैन यसको अर्थ के प्रष्ट हुन्छ भने यो सूचना नयाँ सम्बन्धनका लागि होइन ।


विश्वविद्यालय अनुदान आयोगको नियम अनुसार बुँदा नं. ४ मा भनिएको छ क्युएए प्रक्रियामा जानका लागि कम्तिमा पनि कलेज सञ्चालन गरेको पाँच वर्ष पुर गरेको हुनुपर्ने र एउटा व्याच ग्रजुएसन गरेर बजारमा गएको हुनुपर्ने । आयोगको यो बुँदा र विश्वविद्यालयले निकालेको सूचना अनुसार पनि नयाँ दर्ता भएका कलेजले मापदण्ड पुरा गर्न सक्दैनन् । त्यसैगरी बुँदा नं. ५ अनुसार पनि उक्त कलेजहरुले मापदण्ड पुरा गर्न सकेको देखिदैन ।


हेर्नुहोस विश्वविद्यालय अनुदान आयोगको क्युएए लिनका लागि निर्धारण गरेको मापदण्ड

https://www.ugcnepal.edu.np/uploads/web-uploadsfiles/ELIGIBILITY%20CRITERIA%20FOR%20LETTER%20OF%20INTENT%20(LOI)%20ACCEPTANCE.pdf