छात्रवृत्ति विवरण नबुझाउने स्कुलको अनुमति रद्द

सुनसरी/८ साउन-इटहरी उपमहानगरपालिकाले दुईवटा निजी स्कुलको अनुमति रद्द गरेको छ । छात्रवृत्ति विवरण बुझाउन अटेरी गर्ने दुई स्कुलको अनुमति रद्द गरेको हो ।


इटहरी–१० मा रहेको ’इटहरी नमूना स्कुल’ले छात्रवृत्ति विवरण बुझाउन पटक पटक पत्राचार गर्दा पनि नबुझाएपछि नगर शिक्षा समितिको निर्णय अनुसार शैक्षिक सत्र २०८० देखि लागू हुनेगरी विद्यालयलाई प्रदान गरिएको पूर्व प्राथमिक तहदेखि कक्षा ६ सम्म्को कक्षा सञ्चालन अनुमती रद्द गरेको जनाएको छ । त्यसैगरी ६ नम्बर वडामा रहेको ’इटहरी चिल्ड्रेन स्कुल’ को शैक्षिक सत्र २०८० देखि लागू हुनेगरी विद्यालयलाई प्रदान गरिएको कक्षा १० सम्मको कक्षा सञ्चालन अनुमती रद्द गरेको छ ।


प्रचलित शिक्षा ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम छात्रवृत्ति वितरणको विवरण पेस गर्न लिखित पत्राचार गरे पनि अटेर गरेपछि अनुमति रद्द गरिएको उपमहानगरपालिकाले जनाएको छ । २०८० असार २९ को नगर शिक्षा समितिको बैठकले समयमा छात्रवृत्तिको विवरण नबुझाउने स्कुलको अनुमति रद्द गर्ने निर्णय गरेको थियो ।


संस्थागत विद्यालयहरुलाई शिक्षा महाशाखामा विद्यालयले वितरण गरेको छात्रवृत्ति विवरण पेश गर्नका लागि प्रथम, दोस्रो र तेस्रो पटक क्रमशः जेठ २९, असार ११ र असार २१ गते छात्रवृत्तिको विवरण पेस गर्न भनिएपनि पेस नगरिएको हुँदा असार २९ गते ५० हजार जरिवाना सहित विवरण पेस गर्न भनिएको थियो । २९ गतेको पत्र पछि पनि छात्रवृत्ति विवरण सहित जरिवाना नबुझाएको हुँदा नगर शिक्षा समितिको निर्णय अनुसार शैक्षिक सत्र २०८० देखि लागू हुनेगरी अनुमति रद्द गरिएको जनाएको छ ।


उपमहानगरले अनुमति रद्द गरेको पत्र आइतबार सम्बन्धित स्कुलहरूलाई पठाएको छ ।