काठमाडौं/२९ असार-आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्ती भानुको जिल्ला तनहुँबाट संघीय राजधानी काठमाडौंको टोखा नगरपालिका– ०८ बानियाँटारमा भव्य रुपमा मनाइएको छ ।
भानु स्मृति समाजको आयोजनामा भएको कार्यक्रमको संयोजन तथा सभापतित्व पर्शुराम पण्डितले गरेका थिए ।
भानुभक्त आचार्यका पनाति लक्ष्मीनाथ आचार्य प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथी काठमाडौं–०५ का सांसद प्रदिप पौडेल थिए । उनीहरुले भानुभक्तले नेपाली भाषा एकीकरण र नेपाली साहित्यको उन्नयनमा पुर्याएको योगदानको चर्चा गरे ।
सो कार्यक्रममा पुर्व सांसद रामचन्द्र पोख्रेल, गण्डकी प्रदेशका पुर्व योजना आयोग उपाध्यक्ष डा. रघु काफ्ले, साहित्यकार तथा समाजसेवी चन्द्रावती न्यौपाने, तनँहु काठमाडौं सम्पर्क समितिका अध्यक्ष उत्तम मिश्र, समाजसेवी विमला पौडेल, वरिष्ठ पत्रकार कुलचन्द्र वाग्ले, संचार उद्यमी आर.सी. रेग्मी, प्राज्ञिक व्यक्तित्व सन्तोष पण्डित, पुर्व एसएसपी हरिराज वाग्ले, प्रा.डा.सर्वराज आचार्य रतनपुर समाजका अध्यक्ष प्रकाश पण्डित, राजापानी कलेस्ती दिगो समाजका उपाध्यक्ष कुलचन्द्र आचार्य लगायत बक्ताले भानुभक्तको योगदानको चर्चा गर्दै मोतिराम भट्टको योगदानलाई पनि बिर्सन नहुने बिचार व्यक्त गरे ।
कार्यक्रमको संचालन सभ्यता न्यौपानेले गरेकी थिइन । झन्डै ५ सयको उपस्थित रहेको कार्यक्रममा भानुभक्त, नेपाली भाषा, संस्कृतीमा पुर्याएको योगदानको ट्रान्स्फर्मेसन युवा पुस्तामा अझै पुग्न नसकेकोमा चिन्ता व्यक्त गरेका थिए ।



