अर्थमन्त्रीलाई विद्यालय कर्मचारीको पत्र : हामीलाई भनिदिनुहोस तपाई कसले भनेको मान्नुहुन्छ ?

नवलपरासी/२६ जेठ-श्री माननीय अर्थमन्त्री ज्यू नमस्कार ।
विषय : स्पष्ट पारिदिनुहुन ।


तपाई त अहिले व्यस्त नै हुनुहुन्छ होला किनकी जेठ १५ गते भएको बजेट भाषणमा प्रस्तुत गरिएका बुँदाहरुलाई पास गराउनका लागि । म भने त्यही बजेट भाषणपछि छुटेको बुँदा नं. १२७ लाई समावेश गराउनका लागि यो प्रचण्ड गर्मीमा पनि धर्ना बस्न बाध्य भएको छु ।


विद्यालय कर्मचारीहरु विगत लामो समयदेखि आफ्नो पहिचान (दरबन्दी) सहितको श्रमको मुल्य माग्दै आन्दोलनरत अवस्थामा छन् । उनीहरु आन्दोलन गर्दा गर्दै कतिले सहादत प्राप्त गरिसक्नुभयो र कति रित्तो हात घर फर्कन बाध्य हुनुभएको छ । सर्वप्रथम त ती सहादत प्राप्त गरिसक्नुभएकाहरुप्रति म श्रद्धा सुमन व्यक्त गर्दछु । कतिले यो वर्ष होला त्यो वर्षहोला, अर्को वर्ष त पक्कैहोला भन्ने आशै आशमा दारी कपाल फुलाईसक्नु भएको छ । कति आधा भन्दा बढी उमेर विद्यालयलाई नै समर्पित गरेर रित्तो हात निस्किन बाध्य हुनुभएको छ तरपनि केही उपलब्धी हुन सकेको छैन ।


नेपाल विद्यालय कर्मचारी परिषद् २०४७ सालमा स्थापित भएसँगै निरन्तर आफ्नो हक र अधिकारको बारेमा लडिरहेको छ । आजसम्म उसले न्याय पाइरहेको छैन । यही जेठ ५ गते सम्माननीय राष्ट्रपतिद्वारा प्रस्तुत गरिएको निति तथा कार्यक्रममा बुँदा नं. १२७ मा प्रष्ट भनिएको छ । “विद्यालय कर्मचारीको माग र मुद्दालाई सम्बोधन गरिनेछ ” भनेर । त्यसको ठीक १० दिनपछि अर्थात् जेठ १५ गते यहाँले प्रस्तुत गर्नुभएको बजेट भाषणमा त्यो बुँदा नं. १२७ कता हरायो ? म प्रश्न गर्न चाहान्छु ।


उक्त बुँदा नं. १२७ को बारेमा राष्ट्रपतिको निति तथा कार्यक्रममा पनि छ , सडकबाट म जस्तै ३६ हजार विद्यालय कर्मचारीहरुले पनि भनिरहेका छन् , हामीले भोट दिएर जिताएर पठाएका तिनै संसदहरुले पनि दिन दिनै सदनबाट कुरा उठाईरहेका छन , शिक्षक संघसगठनका प्रमुखहरुले पनि बुँदा नं. १२७ खोइ भनिरहेका छन् तरपनि तपाई सुनिरहनुभएकोे छैन । आखिर किन ? तपाइलाई यी बाहेक अरु कसले भन्न पर्ने हो ? तपाइले कसले भनेको सुन्ने हो ? सडकबाट, संसदबाट र राष्ट्रपतिले पनि भनेको कुरा लागू हुदैन र तपाई एक्लैको कुरा लागू हुने हो भने सदन किन चाहियो ? संसदहरु किन चाहियो ? होइन भने हामीलाई भनिदिनुहोस तपाई कसले भनेको मान्नुहुन्छ ?????? स्पष्ट पारिदिनुहुन म लगायत सम्पूर्ण ३६ हजार विद्यालय कर्मचारीहरुको अनुरोध छ ।


सुरज कुमार भुजेल
अध्यक्ष
नेपाल विद्यालय कर्मचारी परिषद्
जिल्ला नवलपरासी (व.सु.पु.)
(लेखा कमर्मचारी : श्री कालिका मा.वि., कावासोती ५, लक्ष्मीनगर नवलपरासी (व.सु.पू.) )