काठमाडौं/२३ जेठ-विद्यालय शिक्षा सभ्य, सक्षम र दक्ष नागरिक तयार गर्ने पहिलो आधार हो र विद्यालयलले बालबालिकाको चौतर्फी विकास गर्नका लागि पाठ्यक्रमले निर्देशित गरेका विषयवस्तुहरु उपलब्ध स्रोत साधनहरुको भरपुर प्रयोग गर्दै विद्यार्थी केन्द्रित भएर सिकाउनु पर्दछ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्ने अभिप्रायले इटहरीमा रहेको विश्व आदर्श सेकेण्डरी स्कुल र काठमाण्डौ विश्वविद्यालय स्कुल अफ एजुकेशनकोे सहकार्यमा ३ दिने शिक्षण सिकाइ कार्यशाला सम्पन्न भएको छ । विद्यालयका ८० जना शिक्षक तथा विभिन्न विधागत अतिरिक्त क्रियाकलापका १० जना प्रशिक्षकहरुको सहभागितामा कार्यशाला सम्पन्न भएको हो ।
काठमाण्डौ विश्वविद्यालय स्कुल अफ एजुकेशन अन्तर्गत सिपिइसीका संयोजक डा. पार्वती ढुंगाना तथा प्रशिक्षकहरु कृष्ण प्रसाद खतिवडा, डिल्ली बहादुर राउत र जेनिला श्रेष्ठ द्वारा पाठ्यक्रम अभिमुखीकरण, बालमनोविज्ञान, विद्यार्थी केन्द्रित सिकाई साथै विभिन्न कलाहरुमा आधारित सिकाई विधिहरुको प्रयोग गरेर कक्षाकोठाको सिकाइलाई प्रभावकारी तरिकाले सहजीकरण गर्ने सन्दर्भमा कार्यशाला संचालन गरिएको थियो ।
यस कार्यशालामा कक्षाकोठाको लागि पाठ्यक्रम निर्माण, सिकाई विधिहरुको सुधार, अतिरिक्त क्रियाकलाप तथा खेलकुदको पाठ्यक्रम निर्माण, निर्माणात्मक मूल्यांकनको आधार निर्माण, फरक क्षमता भएका विद्यार्थीहरुको सिकाई सहजीकरण गर्ने तरिकाहरु साथै विश्व आदर्श स्कूलको मूल्य र मान्यता अनुसार विद्यार्थीहरुको सिकाई प्रभावकारी बनाउने विषयहरुमा केन्द्रित रहेको थियो ।
कक्षाकोठाको पाठ्यक्रम सुधार अन्तर्गत सिकारुहरुलाई सिकाइको केन्द्र विन्दुमा राख्दै उनीहरुको सृजनात्मक क्षमता, समालोचनात्मक चिन्तन तथा समस्या समाधानको सीप विकास गर्नको लागि विद्यार्थी केन्द्रित पाठयोजना, फरक क्षमता भएका विद्यार्थीहरुको पहिचान गर्दै उनीहरुको सिकाई प्रभावकारी बनाउने तरिकाहरु सिक्दा विद्यालयका शिक्षकहरु धेरै उत्साहित देखिए ।
विद्यालय संयोजक सुरज लिम्बु उत्साहित हुँदै भने ‘हामीले विद्यार्थी सिकाइलाई प्रभावकारी बनाउने धेरै उपायहरु सिक्ने अवसर पायांै र अब विश्व आदर्शको सिकाइमा फरकपन आउने छ । साथै यसले शिक्षाको रुपान्तरणमा टेवा पुग्ने छ ।’
कार्यशालामा विद्यायलले राष्ट्रिय पाठ्यक्रममा आधारित रहेर विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापहरुको आफ्नै पाठ्यक्रम समेत निर्माण गरिएको छ । हालसम्म विद्यालयले खेलकुद, नृत्य, संगीत, वाद्यवादन, योग तथा चित्रकलामा क्षेत्रमा लोकप्रिय कलाकार तथा खेलाडीहरु उत्पादन गरेता पनि यसरी पाठ्यक्रम नै बनाउन चाही सम्भव भएको थिएन तर यस कार्यशालामा हामीले पाठ्यक्रम नै निर्माण गरेका छौ, खेलकुद तथा अतिरिक्त क्रियाकलापका संयोजक फणिन्द्र खड्काले बताए । उनले अबको सिकाइ अझै व्यवस्थित र उत्कृष्ट हुने कुरामा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरु समेत ढुक्क हुन आग्रह गरे ।
सहभागी शिक्षकहरुले डिजाइन सोचको अवधारणा अभ्यास गर्दै विद्यार्थीहरुको सिकाइलाई व्यावहारिक बनाउनको लागि विद्यालय हातामा रहेको करिब ८ कट्ठा क्षेत्रफल जग्गामा करेसाबारी बनाउने गुरु योजना समेत तयार गरेर विभिन्न विषयहरु एकिकृत गरि स्टेम सिकाई पद्दतिद्वारा सरल रुपमा विद्यार्थीहरुलाई सिकाउने अभ्यास समेत गरे ।
यसरी जम्मा ६ वटा मोड्युलमा विभाजित यो कोर्सको २ वटा मोड्युल २०८० साल जेठ १३, १४ र १५ गते भव्यताका साथ् सम्पन्न भएको र बाँकी रहेको ४ वटा मोड्युलको कार्यशालाहरु क्रमिक रुपमा २०८० पुस महिनासम्ममा संचालन गरेर सिकाइमा रुपान्तरण गर्ने योजनामा विश्व आदर्श रहेको प्राचार्य गणेशकुमार दुलालले बताए ।



