काठमाडौं/२३ जेठ–उच्चशिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीहरुको ठुलो संख्यामा इन्स्योरेन्स पोलिसिमा ठगिएका छन् । केही शैक्षिक परामर्श संस्था र अष्ट्रेलियन इन्स्योरेन्स सर्भिस (आइसा)को मिलेमतोमा विद्यार्थीहरुलाई ठग्दै आएको पाईएको हो ।
नेपालबाट अष्ट्रेलिया पढ्न जाने विद्यार्थीहरुले अनिवार्य रुपमा इन्स्योरेन्स (बीमा) गर्नुपर्ने हुन्छ । अष्ट्रेलियन सरकारको नियम अनुसार विदेशी विद्यार्थीलाई अनिवार्य लागू गरेको ओएसएचसी (ओभरसिज स्टुडेन्ट हेल्थ कभर) अध्ययनमा जानु भन्दा अगाडि नै भुत्तानि गरेर जानुपर्छ । तर केही शैक्षिक परामर्श संस्था र आइसाले नेपाल सरकारको कानुन विपरित विद्यार्थीहरुलाई इन्स्योरेन्समा ठग्दै आएका छन् ।
अध्ययनका लागि अष्ट्रेलिया पुगेका करिब ६ सयदेखि ८ सयको संख्यामा रहेका विद्यार्थीहरुको इन्स्योरेन्स भुक्तानि चोरबाटोबाट गरिएपछि अहिले विद्यार्थीहरुको पोलिसि नै खारेज हुने अवस्थामा पुगेको छ । अघिल्लो वर्षको जुन, जुलाई देखिनै यो समस्या आएपनि उनीहरुले गरेको उक्त हर्कत र गैरकानुनी धन्दाको पर्दाफास हुने डरले यसलाई ढाकछोप गर्दै आएका छन् । विद्यार्थीले गर्नुपर्ने ओभरसिज स्टुडेन्ट हेल्थ कभर ( ओएसएचसी) विश्वविद्यालय वा कलेजको शुल्क तिर्दा सँगै तिर्नुपर्ने हुन्छ । सरकारले डलर पठाउनका लागि दिएको अनुमतिपत्रका आधारमा शुल्कसंगै इन्स्योरेन्सको पनि सँगै बैंक मार्फत नै भुक्तानी गर्नुपर्ने प्रावधान रहेको छ ।
शैक्षिक परामर्श संस्थाहरु कमिशनको प्रलोभनमा परेर विद्यार्थीको भविष्य प्रति गैरजिम्मेवार बन्दै विद्यार्थी माथी खेलवाड गरिरहेका छन् । चोरबाटोबाट राज्यको आँखा छल्दै पठाउने शैक्षिक परामर्श संस्थाहरुको संख्या ५० देखि ६० रहेको छ । उनीहरुले विद्यार्थीको शुल्कबाट कमिशन त लिन्छन् नै त्यसपछि सर्भिस शुल्क र इन्स्योरेन्समा पनि ठगिरहेका छन् । यो भनेको एउटै विद्यार्थीसँग मोटो रकम अशुलि भइरहेको छ ।
पछिल्लो समय विद्यार्थीहरुको समस्या सतहिमा आएपछि आइसा तर्कन थालेको छ । आइसाले खबर एजुकेशनसँग गरेको कुराकानीमा उनीहरुले जुन शैक्षिक परामर्श संस्थाले गैरकानुनी काम गरिरहेका छन् उनीहरुले नै यसको जिम्मेवार लिनुपर्ने भन्दै तर्किएको छ ।
उसले हामीले ब्रिजको मात्रै काम गर्ने हो भनेपनि शैक्षिक परामर्श संस्थाहरुको ढोका ढोकामा पुगेर बढी कमिशन दिने प्रलोभन देखाउँदै आफ्ना एजेन्ट बनाउने गरेको शैक्षिक परामर्श संस्थाहरुको भनाई छ । उनीहरुले आइसा नै आएर आफुहरुसँग एग्रिमेन्ट नै गरेको प्रमाण रहेको र बढी प्रतिशतमा कमिशिन दिने गरेको बताए ।
साथै आइसाले आफुहरुको कुनै संलग्नता छैन भन्दै आएपनि यदी विद्यार्थीको भिसा नलागेको खण्डमा फिर्ता गर्नुपर्ने रकम आइसाको अष्ट्रेलियामा रहेको बैंक खातामा जम्मा हुने गरेको समेत शैक्षिक परामर्श संस्थाहरुको भनाई छ । यो सँगै आइसाले बनाएका एजेन्टहरुको कमिशनपनि आइसाले नै दिने गरेको छ । आइसाले धेरै विद्यार्थी पठाउने पुरानो एजेन्टलाई १५ प्रतिशत र नयाँ एजेन्टलाई १२ प्रतिशत कमिशन दिने गरेको शैक्षिक परामर्श संस्थाहरुले बताएका छन् ।
अघिल्लो वर्षको जुन जुलाई देखिनै यो समस्या आएपनि यसलाई ढाकाछोप गर्दै आएको र समस्या आएको १२८ दिनभित्रमा सुचना दिनुपर्नेमा अष्ट्रेलियन इन्स्योरेन्स सर्भिस अलाइन्ज र आइसाले यो समय सकिएपछि वा ५, ६ महिना पछि मात्रै शैक्षिक परामर्श संस्थाहरुलाई जानकारी गराएको संस्थाहरुको आरोप छ ।
शैक्षिक परामर्श संगठनहरु तै चुप, मै चुप
उच्चशिक्षाका लागि अष्ट्रेलिया गएका विद्यार्थीहरु इन्स्योरेन्समा ठगी भएको जानकार हुँदाहुँदै पनि शैक्षिक परामर्श संस्थाहरु चुपचाप बसेका छन् । उनीहरुले आ आफ्ना सदस्यहरुको ढाकछोप गर्नका लागि नै चुपचाप बसेको देखिएको छ ।
शैक्षिक परामर्श संस्थाहरुले इन्स्योरेन्सको नाममा एकातर्फ विद्यार्थी ठगिरहेका छन् भने अर्केतर्फ चोरबाटोबाट विद्यार्थीहरुको पैसा पठाइरहेका छन् । यो सबै कुराको जानकार हुँदाहुँदै पनि अहिलेसम्म न कुनै पहल गरेका छन्, न कानुनी प्रक्रियाका लागि अगाडि बढेका छन् ,नत आफ्ना सदस्यहरुलाई कारबाही गरेका छन । यसले संगठनहरु विद्यार्थी प्रति जिम्मेवार छैनन् भन्ने देखिन्छ ।
अर्को तर्फ अधिकांश शैक्षिक परामर्श संस्थाहरु आइसाको एजेन्ट बनेका छन् वा अन्य त्यस्तै गैरकानुनी रुपमा काम गरिहेका कुनै न कुनै इन्स्योरेन्सको एजेन्ट बनेका छन् र उनीहरुले गैरकानुनी तरिकाले नै पैसा पठाउने गरेको छन् । यसरी हेर्ने हो भने यो मामलामा कुनै पनि शैक्षिक परामर्श संस्थाहरु अछुतो रहन सक्दैनन् । तर अहिले आएको समस्या भनेको आइसाले एजेन्ट बनाएका शैक्षिक परामर्श संस्थाहरुबाट पैसा पठाएका विद्यार्थीहरुको इन्स्योरेन्सको सवालमा मात्रै हो ।
शैक्षिक परामर्श संस्थाहरुको सबै भन्दा ठुलो र पुरानो संस्था दाबि गर्ने इक्यानका केन्द्रीय सदस्य र कार्यकारी पदमा बसेर काम गरिरहेक केही शैक्षिक परामर्श संस्थाका व्यक्तिहरु पनि यो कार्यमा संलग्न भएको देखिन्छ । साथै सबै भन्दा धेरै इन्स्योरेन्समा विद्यार्थीलाई ठग्दै चोरबाटोबाट पैसा पठाउने सदस्याहरुको संख्या पनि इक्यान कै धेरै छ ।
त्यसैगरी शैक्षिक परामर्श संस्थाहरुको संगठन फेकनको पनि हालत उस्तै छ उनीहरुको कार्यकारी पदमा नै बसेर काम गरीरहेको केही व्यक्तहरुले नै चोरबाटोबाट विद्यार्थीको पैसा पठाएका छन् । साथै आइरीन र नेकालाई पनि यस विषयको जानकारी भएपनि बोल्न चाहादैनन् । लहरो तान्दा पहरो थर्कने डरले सबै तै चुप मै चुप गरेको अवस्था छ ।
यसरी आफ्नै सदस्यहरु फस्ने डरले शैक्षिक परामर्श संस्थाहरुले नत अहिले सम्म कुनै सुचना निकाले छन्, नत आइसालाई कारबाहीको लागि प्रक्रिया अगाडी बढाएका छन् । यसले कुनै पनि शैक्षिक परामर्श संस्थाहरुका संगठन विद्यार्थी र अभिावक प्रति गम्भिर भएको देखिएन ।
गैरकानुनी रुपमा सञ्चालनमा आइसा
अष्ट्रेलियामा सञ्चालित अष्ट्रेलियन इन्स्योरेन्स सर्भिस अलाइन्ज, अलाइन्ज इन्स्योरेन्सको मास्टर एजेन्ट हो । अष्ट्रेलियन इन्स्योरेन्स सर्भिस अलाइन्जले पनि अष्ट्रेलिया मै अफिस रहेको अष्ट्रेलियन इन्स्योरेन्स सर्भिस (आइसा)लाई आफ्नो मास्टर एजेन्ट बनाएको छ । आईसाले नेपालमा अफिस राखेर शैक्षिक परामर्श संस्थाहरुलाई एजेन्ट बनाउने काम गरेको छ । काठमाडौंको पुतलिसडक स्थित स्टार मलमा अष्ट्रेलियन इन्स्योरेन्स सर्भिस (आइसा)को अफिस रहेको छ ।
आइसाले कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएर आफुहरुले कम्पनी सञ्चालन गर्दै आएको दाबि गरे पनि नेपाल बीमा प्राधिकरणबाट कुनै इजाजत नलि आफुखुशी काम गर्दै आएको पाइएको छ । नेपाल बीमा प्राधिकरण कानुन शाखाका उपनिर्देशक सम्वराज लामिछानेका अनुसार आइसाले बीमा प्राधिकरणबाट कुनै इजाजत नलिएको र गैर कानुनी काम गरिहेको बताए । उनले यसो गरिएको पाइएमा मुद्दा लाग्ने र तरुन्त प्रक्रियालाई अगाडि बढाईने खबर एजुकेशनलाई जानकारी दिए ।

बिमा ऐन २०६९ ले नेपाल बीमा प्राधिकरणको इजाजत नलिइकन नेपालमा कुनै पनि विदेशी बीमा कम्पनीको कुनै पनि काम कम्पनी र एजेन्टले गर्न नपाउने लामिछानेले बताए । साथै त्यस्ता कुनै पनि कम्पनीले नेपालमा मार्केटिङ, सहजिकरण, तालिम, कार्यशाला गर्न नपाईनुका साथै कसैसँग एग्रिमेन्ट गर्न समेत नपाइने कानुनी व्यवस्था रहेको उनको भनाई छ ।
आइसकाको सवालमा लामिछानेले कारबाहीका लागि प्रक्रिया अगाडि बढाइने र विद्यार्थीको इन्स्योरेन्सको रकम छुट्टै पठाउन पनि नमिल्ने जानकारी दिए । उनले भने विश्वविद्यालय वा कलेजको शुल्कमा समायोजन गरेर शिर्षक उल्लेख गरेर पठाउनु पर्ने हुन्छ, यसरी छुट्टै पठाउनका लागि राज्यले अनुमती दिएको छैन सरार गैर कानुनी कार्य हो । यसमा विमा प्राधिकरणले कारवाही गर्छ ।
शैक्षिक परामर्श संस्थाहरु एजेन्ट बन्न मिल्दैन
विदेशी इन्स्योरेन्स कम्पनीको एजेन्ट बन्दै आएका शैक्षिक परामर्श संस्थाहरु त्यसरी एजेन्ट नै बन्न नपाइने नेपाल बीमा प्राधिकररणले जनाएको छ । विदेशी इन्स्योरेन्स कम्पनीहरुको नेपालमा बसेर एजेन्ट बन्नु नै गैरकानुनी भएको र त्यसरी विदेशी इन्स्योरेन्सको पोलीसी विद्यार्थीलाई बेच्न पनि नपाईने प्राधिकरणकोे भनाई छ ।
यो सँगै इन्स्योरेन्सको एजेन्ट बनेका शैक्षिक परामर्श संस्थाहरुले विद्यार्थीहरुलाई गलत परामर्श दिएर विश्वासमा पारी गैरकानुनी तरिकामा भुक्तानी गरेका छन् । अहिले विद्यार्थीहरुको पोलिसि तिर्न शैक्षिक परामर्श संस्थाहरुलाई समय सिमा तोकिए पनि सबैले तिर्न सकेका छैनन् । थोरै विद्यार्थी संख्या भएका केही शैक्षिक परामर्श संस्थाहरुले भने विद्यार्थीहरुको बीमा पोलिसिको रकम भुक्तानी गरिसकेका छन् ।
ठुलो संख्या भएका कारण सबै शैक्षिक परामर्श संस्थाहरुले तोकिएको समय सिमा भित्र सबै विद्यार्थीहरुको पोलिसि तीर्ने सम्भावना कम छ । अबको केही दिनमा विद्यार्थीहरुको बीमा पोलिसि खारेज गरिने भएको छ । विद्यार्थीहरुको पोलिसि खारेज हुने भएपछि अहिले अष्ट्रेलिया पुगेका विद्यार्थीहरुलाई पुनः इन्स्योरेन्सको भुक्तानी गर्न दबाब दिइएको छ ।
विदेशी इन्स्योरेन्स कम्पनीको पोलीसी बेच्न पाईदैन : बीमा प्राधिकरण
बीमा प्राधीकरणले कुनै पनि विदेशी इन्स्योरेन्स कम्पनीको कुनै संस्था वा व्यत्तिले पोलिसि बेच्न नपाउने प्रावधान रहेको जनाएको छ । विमा ऐन २०६९ को दफा १४० को उपदफा १ मा भएको कसुर अनुसार दफा ९० बमोजिम इजाजतपत्र नलिइ बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकको रुपमा काम गरेमा काम कारबाहीलाई यस ऐन बमोजिम कसुर गरेको मानिने जनाएको छ ।
यदी नेपाल बीमा प्राधिकरणको अनुमती नलिइ नेपालमा बसेर विमा पोलीसी वेच्ने, मार्केटिङ गर्ने, सहजीकरण गर्ने र तालिम दिने गरेको खण्डमा विमा ऐन २०६९ को दफा १४६ उपदफा १ अनुसार दफा १४० बमोजिमको कसुर सम्बन्धी मुद्दा नेपाल सरकार बादी भई चल्ने छ र त्यस्तो मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०४७ को अनुसुची १ मा समावेश भएको मानिनेछ ।
तसर्थ शैक्षिक परामर्श संस्थाहरु कुनैपनि विदेशी इन्स्योरेन्सको एजेन्ट बन्न नपाइने र आइसाले सञ्चालनका लागि अनुमती नपाउने प्रावधान रहेपनि इन्स्योरेन्सको पोलीसी बेच्ने काम नेपालमा अफिस खडा गरी स्टाफ राखेर गर्नु गैरकानुनी देखिएको छ ।



