हिसान काठमाडौंले प्रथम हिसान म्याराथन–२०२३ आयोजना गर्दै

काठमाडौं/१९ जेठ-उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) काठमाडौं जिल्ला कार्यसमितिले विश्व वातावरण दिवसको अवसर पार्दै प्रथम हिसान म्याराथन–२०२३ को आयोजना गर्ने भएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै म्याराथन आयोजना गरिने जानकारी गराएको हो ।


‘लेट्स रन टुगेदर फर इन्भाइरोमेन्ट’ भन्ने मुल नाराका साथ उच्च शिक्षालय तथा माध्यमिक हिसान काठमाडौं जिल्ला कार्यसमितिले आगामी जेठ २२ गते (सोमबार) प्रथम हिसान म्याराथन–२०२३ प्रतियोगीता आयोजना गरिएको जानकारी दिएको छ ।


हिसानले शिक्षाको नीति, स्वरूप र दिशा निर्धारणमा सरकारलाई विभिन्न हिसावले सहयोग गरिरहेको र अर्कोतर्फ विभिन्न समयमा समसामयिक विषयवस्तुमा छलफल, बहस एवं जनसरोकारका विषयमा कार्यक्रमहरु आयोजना गर्दै आइरहेको बताएको छ ।


वातावरण संरक्षण आजको एक महत्वपूर्ण चुनौती भएको बताउँदै वातावरण आफैँमा एउटा बहुआयामिक विषय रहेको सन्दर्भमा हिसानले पनि यसको महत्वलाई दर्शाउने हिसाबले विश्व वातावरण दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हिसान काठमाडौं जिल्लाका अध्यक्ष शिव अधिकारीले बताए ।


प्रतियोगिता जेठ २२ गते बिहान ७ बजे हिसान कार्यालय रहेको ट्रेड टावर थापाथलीबाट युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूको उपस्थितिमा सुरू हुनेछ । हिसानका सदस्य संस्थाहरूमा अध्ययनरत विद्यार्थीहरुले करिब ४ किलोमिटरको दूरीमा दौड सञ्चालन हुने र तोकिएको तहका नियमित विद्यार्थीहरुले मात्र प्रतियोगितामा भाग लिन पाउने जनाईएको छ । सो म्याराथुनको रुट थापाथली ट्रेड टावर, थापाथली, त्रिपुरेश्वर (रंगशाला), सुन्धारा, न्युरोडगेट, रत्नर्पाक, जमल, त्रि–चन्द्र कलेज, पुरानो बसपार्क, रामशाहपथ, माइतीघर हुँदै पुनः सुरू भएको विन्दुमा आएर समापन हुने छ ।


प्रतियोगितामा महिला र पुरुष गरी करिव ३ सय जना प्रतिष्पर्धी सहभागी हुने र महिला र पुरुष दुवैतर्फ प्रथम, द्वितिय र तृतियलाई क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार राशिको पुरस्कार व्यवस्था गरिएको हिसान काठमाडौंले जानकारी दिएको छ ।