काठमाडौं/११ जेठ-उच्चशिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीहरु इन्स्योरेन्स पोलिसिमा ठगिएका छन् । केही शैक्षिक परामर्श संस्थाहरुले बैंक मार्फत भुक्तानी नगरी गैर कानुनी तरीकाले भुक्तानी गरिदिँदा विद्यार्थीहरु ठगिएका हुन् ।
नेपालबाट अष्ट्रेलिया पढ्न जाने विद्यार्थीहरुले अनिवार्य रुपमा गर्नुपर्ने इन्स्योरेन्स(बीमा)मा करिब ६ सयदेखि ८ सयको संख्यामा विद्यार्थीहरुलाई ठगिएको पाइएको छ । अष्ट्रेलियन सरकारको नियम अनुसार विदेशी विद्यार्थीलाई अनिवार्य लागू गरेको ओएसएचसी( ओभरसिज स्टुडेन्ट हेल्थ कभर) अध्ययनमा जानु भन्दा अगाडि नै भुत्तानि गरेर जानुपर्ने हुन्छ ।
इन्स्योरेन्सको पोलिसि भुक्तानी गर्दा नेपालमा रहेका करिब ५० भन्दा बढी शैक्षिक परामर्श संस्थाहरुले सिधा नेपालका बैंक मार्फत भुक्तानी नगरी गैरकानुनी माध्यमबाट भुक्तानी गर्दा विद्यार्थीहरु इन्स्योरेन्स बिहिन हुने अवस्था सिर्जना भएको छ । विद्यार्थीको बीमा भुक्तानी गर्दा डलरमा गर्नुपर्ने भएकोले उनीहरुले अमेरीकन नागरीकहरुको चोरीको कार्ड, ह्याक गरिएको च्यानल वा अन्य माध्यम मार्फत भुक्तानि गरेको पाइएको छ ।
अष्ट्रेलियामा सञ्चालित अष्ट्रेलियन इन्स्योरेन्स सर्भिस अलाइन्ज, अलाइन्ज इन्स्योरेन्सको मास्टर एजेन्ट हो । अष्ट्रेलियन इन्स्योरेन्स सर्भिस अलाइन्जले पनि अष्ट्रेलिया मै अफिस रहेको अष्ट्रेलियन इन्स्योरेन्स सर्भिस (आईसा)लाई आफ्नो मास्टर एजेन्ट बनाएको छ । आईसाले नेपालमा अफिस राखेर शैक्षिक परामर्श संस्थाहरुलाई एजेन्ट बनाउने काम गरेको छ । काठमाडौंको पुतलिसडक स्थित स्टार मलमा अष्ट्रेलियन इन्स्योरेन्स सर्भिस (आईसा)को अफिस रहेको छ ।
उक्त इन्स्योरेन्सको एजेन्ट बनेका शैक्षिक परामर्श संस्थाहरुले विद्यार्थीहरुलाई गलत परामर्श दिएर विश्वासमा पारी गैरकानुनी तरिकामा भुक्तानी गरेका छन् । अहिले विद्यार्थीहरुको पोलिसि तिर्न शैक्षिक परामर्श संस्थाहरुलाई समय सिमा तोकिएको छ । थोरै विद्यार्थी संख्या भएका केही शैक्षिक परामर्श संस्थाहरुले भने विद्यार्थीहरुको बीमा पोलिसिको रकम भुक्तानी गरिसकेका छन् । ठुलो संख्या भएका कारण सबै शैक्षिक परामर्श संस्थाहरुले तोकिएको समय सिमा भित्र सबै विद्यार्थीहरुको पोलिसि तीर्ने सम्भावना कम देखिएको छ । अबको केही दिनमा विद्यार्थीहरुको बीमा पोलिसि खारेज गरिने र गैर कानुनी प्रक्रियामा भुक्तानी गर्ने शैक्षिक परामर्श संस्थाहरुलाई एजेन्टबाट हटाउने प्रक्रियामा रहेको जानकारी प्राप्त भएको छ ।
शैक्षिक परामर्श संस्थाहरुलाई इन्स्योरेन्सको पैसा तिरेर गएका विद्यार्थीहरुको पोलिसि खारेज हुने भएपछि अहिले अष्ट्रेलिया पुगेका विद्यार्थीहरुलाई पुनः इन्स्योरेन्सको भुक्तानी गर्न दबाब दिइएको छ । विद्यार्थीहरु अष्ट्रेलियमा कुनै दुघर्टानामा परिहाले भने भुक्तानी नपाउने अवस्थामा छन् । उनीहरुलाई केही भै हाले स्वास्थ्य उपचारमा धरै रकम लाग्ने हँदा विद्यार्थी आफैले पैसा तिर्न पनि सक्दैनन् ।
धेरै कमिशन पाउने चक्करमा विद्यार्थीको भविष्यमाथी खेलवाड गर्दै चोरीएको कार्ड, ह्याक गरिएको च्यानल वा अन्य कुनै माध्यम मार्फत भुक्तानि गर्दा विद्यार्थीहरु सकसमा मात्र परेको छैनन उनीहरु अष्ट्रेलियमा गैरकानुनी रुपमा रहनु पर्छ, त्यो सम्भव छैन ।
कार्ड चारीएका व्यक्तिहरुको उजुरीका आधारमा नेपालबाट चोरीका कार्ड प्रयोग गरी भुत्तानी गरेको पाइएको र त्यस्ता खालका सबै विद्यार्थीको इन्स्योरेन्स पोलिसी खारेज गर्ने प्रक्रियामा कम्पनी रहेको छ । त्यसरी नेपालबाट गैरकानुनी तरिकाले पैसा तिरेको पाइएपछि विद्यार्थीहरुको इन्स्योरेन्स पोलिसिलाई एक्टिभ गराउन विद्यार्थीहरुलाई भुक्तानीका लागि इमेल गरिएको छ ।
शैक्षिक परामर्श संस्थाहरु धेरै कमिसिन पाउने प्रलोभनमा लाग्दा विद्याथीहरुले दुःख पाएका हुन् । विद्यर्थीहरु आफैले भुत्तानि गर्नुपर्ने पैसा शैक्षिक परामर्श संस्थाको गलत परामर्श दिँदै विद्यार्थीलाई विश्वासमा पारेर आफै इन्स्योरेन्सको पैसा तिर्ने गरेका छन् जुन उनीहरुले गर्न पाउँदैनन् । यौ संख्या ६ सय देखि ८ सयको हाराहारीमा रहेको र उनीहरुले प्रति विद्यार्थी करिब २ हजार डलरका दरले लिएको देखिएको छ ।
एजेन्ट माथि एजेन्ट, शैक्षिक परामर्श नै जिम्मेवार
नेपालमा सम्पर्क अफिस रहेको आईसाले शैक्षिक परामर्श संस्थाहरु र अष्ट्रेलियन इन्स्योरेन्स सर्भिस अलाईन्ज विचमा ब्रिजिङको काम मात्रै गरेको र शैक्षिक परामर्श संस्थाहरु एजेन्ट मात्रै बनाइदिएको जनाएको छ । आईसाले विद्यार्थीहरुलाई शैक्षिक परामर्श संस्थाहरुले नै ठगेका कारण उनीहरु नै जिम्मेवार हुने र यसको भुत्तानी उनीहरुले नै तिर्नुपर्ने जनाएको छ ।
साथै एउटा शैक्षिक परामर्श संस्थाले अरु शैक्षिक परामर्श संस्थाहरुलाई पनि एजेन्ट बनाएको र आफुमार्फत नै विद्यार्थीको भुक्तानी गरिरहेको पाइएको छ । यसले गर्दा इन्स्योरेन्स कम्पनीसँग वा अष्ट्रेलियामा रहेको अलाइन्जको मास्टर एजेन्टसँग सिधा सम्पर्क नभई शैक्षिक परामर्श संस्थाको विश्वासमा पैसा बुझाएको पाइएको हो ।
शैक्षिक परामर्श संस्थाहरुलाई बारम्बार बैंक मार्फत मात्रै भुक्तानी गर्न सुझाएपनि नमानेको आईसाको भनाई छ । आईसाले भन्यो अहिले सम्म हाम्रो अनुरोधमा विद्यार्थीको इन्स्योरेन्स रोकेर राखेका छौं, अब पनि भुत्तानी नगरे हामीले केही गर्न सक्दैनौं यसको जिम्मेवार उनीहरु नै लिनुपर्छ । साथै केही शैक्षिक परामर्श संस्थाहरुले सहयोग गरिदिनका लागि आग्रह गरेको जनाएको छ ।