काठमाडौं/१९ बैशाख– कुल राष्ट्रिय बजेटको २० प्रतिशत र कुल गार्हस्थकय उत्पादनको ६ प्रतिशत शिक्षामा बजेट उपलब्ध गराउन शिक्षक संगठनहरुले माग गरेका छन् । विगतका दशकहरुमा सरकारले राष्ट्रिय र अन्तराष्ट्रिय सम्झौताहरुमा प्रतिवद्ध गरे अनुरुप अन्तराष्ट्रिय मापदण्ड अनुसार शिक्षामा बजेट छुट्याउन माग गरेको हुन् ।
अन्तराष्ट्रिय शैक्षिक संस्था एजुकेशन इन्टरनेशनलमा आवद्ध विभिन्न युनियनहरुले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षामा लगानी बढाउन सरकारसँग आग्रह गरेका छन् । नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र संस्थागत विद्यालय शिक्षक युनियन(ईष्टु) अन्तराष्ट्रिय शैक्षिक संस्था एजुकेशन इन्टरनेशनलमा आबद्ध सदस्य युनियनहरु हुन् ।

तीनवटै युनियनहरुले शिक्षा मानव अधिकार भएको र शिक्षा प्रदान गर्नु राज्यको दायित्व रहेकोले विद्यालय तहसम्मको निशुल्क शिक्षालाई संविधानमा व्यवस्था भए अनुसार प्रबन्ध गरि राष्ट्रले आफ्नो दायित्व भित्र लिन माग गरेका छन् ।
उनीहरुले सरकारले शिक्षाको लागि अन्तराष्ट्रिय सहायता र निजीकरणमा मात्र भर पर्न नहुने भन्दै आन्तिरिक शिक्षमा समानता र समावेशीता सुनिश्चित गर्न यस्ता विधिहरुले खासै योगदान नगर्ने बताएका छन् । साथै सार्वजनिक शिक्षा गुणस्तरीय र दिगो बनाउन बाह्यि लगानी भन्दा आन्तरिक श्रोतबाट उठेको राजस्वबाट लगानी वृद्धि गर्दै लैजान सरकारलाई सुझव दिएका छन् ।





