अर्को हप्तादेखि अनलाइनबाटै एनओसी, राजस्व छल्ने शैक्षिक परामर्श संस्था निगरानीमा

काठमाडौं/१७ बैशाख-वैदेशिक अध्ययन अनुमति शाखाले आगामि हप्तादेखि अनलाइनबाटै एनओसी जारी हुने जनाएको छ । शाखाले एपिआई मोडेल र पोर्टल मोडलको प्रयोग गरी अनलाइनबाटै एनओसी जारी गर्न थलेको जनाएको हो ।


एपिआई मोडल अन्र्तगत सरोकारवाला शैक्षिक संस्थाहरूको एपिआई इन्ट्रिग्रेड गरी अनलाइन रुपमा आवेदकले प्रविष्ट गरेका कागजातहरूको अटोनोमस भेरिफिकेशन हुनेछ । विद्यार्थीले वैदेशिक मुद्राको सटही सुविधा लिए नलिएको विवरण बैंक तथा वित्तीय संस्थाहरूले उनीहरूलाई उपलब्ध हुने युजर एकाउन्ट डिटेल्स् प्रयोग गरी अनलाइन नै प्रविष्ट गर्ने व्यवस्था गरिएको वैदेशिक अध्ययन अनुमति शाखाले जनाएको छ ।


यसका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई अभिमुखीकरण गर्ने कार्य सम्पन्न भएको र उनीहरूको मागअनुसार यूजर म्यानुअल समेत तयार गरी पठाइ सकिएको छ । यसै सवालमा नेपाल राष्ट्र बैंकले अनलाइन रुपमा एनओसीको आधारमा विद्यार्थीलाई विदेशी मुद्रा सटही सुविधा दिनको लागि सर्कुलर गरेको छ । “शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९’ बमोजिम उक्त मन्त्रालयले व्यवस्था गरेको पोर्टल प्रयोगमा आएपश्चात् बैंक तथा वित्तीय संस्थाले सोही पोर्टमा उलपब्ध वैदेशिक अध्ययनको स्वीकृति (नो अब्जेक्सन सर्टिफिकेट)सम्बन्धी विवरण यकिन गरी सटही सुविधा उपलब्ध गराउनुपर्नेछ”, एकीकृत परिपत्रमा भनिएको छ । यसअघि यस्तो व्यवस्था थिएन ।

साथै यही बैशाख १९ गते नेपाल राष्ट्र बैंकको सहयोग र समन्वयमा विदेशी मुद्रा सटही सुविधा दिने बैंक तथा वित्तीय संस्थाहरूको विवरण सङ्कलन गरी निजहरूको युजर एकाउन्ट क्रिएट गर्ने कार्य सकिने वित्तिकै ढिलोमा अर्को हप्ता अनलाइनबाट एनओसीको सेवा प्रवाह प्रारम्भ हुने शाखाले जानकारी दिएको छ ।


शिक्षा सचिव रामकृष्ण सुवेदी आएपछि बैदेशिक अध्ययन अनुमती शाखाको सेवा प्रवाहलाई क्यास लेस, फेस लेस र पेपरलेस बनाउने उदेश्यले २०७९ भदौं ५ गते तत्कालिन महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको थियो ।


राजस्व छली गर्ने शैक्षिक परामर्श संस्था निगरानीमा


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालमा शैक्षिक परामर्श संस्था खोलेर विदेश पनि शाखाका रुपमा शैक्षिक परामर्श संस्था खोल्ने संस्थाको निगरानी गरिएको जनाएको छ । नेपालबाट विद्यार्थीलाई उच्च शिक्षाका लागि पठाउने त्यस्ता संस्थाहरुलाई व्यवस्थापन, नियमन गरीने साथै गलत गर्नेलाई कारबाही गरिने जनाएको छ ।


मन्त्रालयका अनुसार त्यस्ता संस्थाहरुले राजस्व छली गरेको, इन्सुरेन्सको नाममा विद्यार्थीलाई ठगेको साथै विभिन्न बाहानामा विद्यार्थी ठगिएको पाइएका कारण नियन्त्रण तथा निगरानीका लागि अध्ययन भइरहेको जनाएको छ । यसका लागि सचिव वा मन्त्री स्तरबाट निर्णय गरी नियन्त्रण गर्ने तयारी भएको मन्त्रालयले जनाएको हो ।


साथै नक्कली एनओसी बनाएर जाने विद्यार्थीहरुलाई अध्यागमनबाटै रोक्नका लागि तयारी थालिएको मन्त्रालयले जानकारी दिएको छ । उच्च शिक्षाको लागि जाने विद्यार्थीलाई सक्कली एनओसी हो वा होइन अनलाईनबाटै हेर्न मिल्ने र शिक्षा मन्त्रालयको पत्र बाहेर अरुको पत्रबाट जान नमिल्ने व्यवस्था गर्न थालिएको मन्त्रालयको भनाइ छ ।


पछिल्ले समय एनओसी शाखाले गरेका कार्य निम्न छन् :


१. शाखा प्रमुखले बैदेशिक अध्ययन सेवा प्रवाहामा हुने विभिन्न वेतिथिजन्य कृयाकलापलाई अन्त्य गर्न सफ्ठवेरलाई अपडेटगरी नागरीकता नम्बरको आधारमा एनओसी जारी गर्ने व्यवस्थाको सुरुवात गरिएको छ । यसले गर्दा एउटै व्यक्तिले फरक युुजर नम्बर राखेर पटक पटक एनओसी लिने र विगतको अभिलेखिकरण लुकाउने, विदेशी मुद्राको अपचलन गर्ने, गैरकानुनी तरिकाले मुद्रा पठाउने लगाएतका गलत क्रियाकलापलाई नियन्त्रण गरिएको छ ।


२. शाखाले मिति र समय अनुसार समयकार्डलाई पूर्ण रुपमा लागू गरि विद्यार्थीले एनओसी लिनका लागि घण्टौं लाइनमा बस्नुपर्ने परिस्थितीको अन्त्य भएको छ । शाखाले उपलब्ध गराएको समयमा विद्यार्थी गएर कम्तिमा २० मिनेटभित्र एनओसी प्राप्त गर्न सक्ने छन् ।


३. विदेशमा उच्च शिक्षाका लागि जाने विद्यार्थीले लिएको एनओसीको विवरण दैनिक रुपमा प्रकाशन गर्ने, विश्वविद्यालय अनुदान आयोग, विश्वविद्यालय लगाएत विभिन्न निकायलाई जानकारी गराउने गरिएको छ ।


४. बैदेशीक अध्ययन सम्बन्धी निर्देशिका २०७९ सार्वजनिक ।


५.गलत विवरण प्रविष्ट गरेर एनओसी लिने, एनओसीको नक्कली धन्दा गर्ने शैक्षिक परामर्श संस्थाहरुलाई अध्ययन अनुसन्धानका लागि प्रहरी समक्ष पठाइएको र गलत विवरण प्रविष्ट गर्ने शैक्षिक परामर्श संस्थाहरुसँग स्पष्टीकरण सोधिएको छ ।