भक्तपुर/३० चैत्र-राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक पाउन सफल र भक्तपुरको एक अब्बल विद्यालयको रुपमा चिनाउन सफल मदरल्याण्ड स्कुलले आफ्नो वार्षिकोत्सव मनाएको छ । विद्यार्थीलाई सम्मान एवं प्रतिभा प्रस्तुतीकरण कार्यक्रम सहित अभिभावकहरुको उपस्थितिमा चैत्र २५ गते वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा प्रमुख आतिथि रहेका नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालले विद्यार्थीहरुलाई गुणस्तर शिक्षा प्रदान गर्दै अतिरिक्त क्रियाकलापमा अब्बल बनाउनुपर्ने बताउँदै व्यवहारिक शिक्षा दिनुपर्ने चुनौतीका साथ निजी विद्यालय अघि बढेको धारणा राखे ।
कार्यक्रममा विशिष्ट अतिथि सूर्यविनायक नगरपालिकाका उप प्रमुख सरिता तिमिल्सिना भट्टराईले सुर्यविनायक नगरपालिकामा मदरल्याण्ड जस्तो उत्कृष्ट विद्यालय हुनु गौरवको कुरा गर्दै नगरपालिकालाई शैक्षिक गन्तव्य बनाउन अगाडि बढेको बताइन ।
अर्का विशिष्ट अतिथि नेशनल प्याव्सनका राष्ट्रिय सह–अध्यक्ष सुवास न्यौपानेले मदरल्याण्ड स्कुलले विद्यार्थीहरुको हरेक क्षमता र प्रतिभालाई बाहिर ल्याउने कार्य गरेको हुनाले अभिभावकहरुले ढुक्क भएर मदरल्याण्ड स्कुलमा भर्ना गरी आफ्नो बच्चाहरु जिम्मा दिन सुझाव दिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल संजय खड्काले विद्यालयमा भएको प्रगति र आगामी कार्य योजना उल्लेख गरेका थिए । खड्काले शैक्षिक क्षेत्रमा मदरल्याण्डलाई उत्कृष्ट बनाउँदै विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानका साथै हर क्षेत्रमा अब्बल बनाउन आफू लागि परेको हुनाले अभिभावकहरुको सहयोगको खाँचो रहेको बताए ।
कार्यक्रममा मदरल्याण्ड स्कुलको लागि नगर, जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने ५८ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । साथै शैक्षिक वर्ष २०७९ मा वर्षभरि विविध विधामा उत्कृष्ट हुने १० विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
त्यसैगरी विद्यालयमा १० वर्ष भन्दा लामो समय सेवा प्रदान गर्दै आएका शिक्षक तथा कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो ।