शिक्षा नै विकासको मूल आधार : राष्ट्रपति

काठमाडौं/७ चैत-नेपाल शिक्षक सङ्घले राष्ट्रपति रामचन्द्र पौडेललाई शुभकामना व्यक्त गरेको छ । राष्ट्रपति पदमा निर्वाचित भएकामा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।


सो अवसरमा राष्ट्रपति पौडेलले गुणस्तरीय शिक्षा प्रदान गर्न सबैको साझा प्रयत्न आवश्यक रहेको भन्दै सङ्घले त्यसका लागि विशेष भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे । उनले शिक्षा नै विकासको मूल आधार भएकाले गुणस्तरीय शिक्षा प्रदानमा सबैको ध्यान जानुपर्नेमा जोड दिए ।


सङ्घका अध्यक्ष राजेन्द्र पौडेलले शिक्षाको सुधार बेगर मुलुकको हित नहुँने भन्दै संघीय शिक्षा ऐन नआउँदा भएका तथा गुणस्तरीय शिक्षा प्रदानमा रहेका चुनौतीबारे प्रकाश पारेका थिए ।


सङ्घका अध्यक्ष राजेन्द्र राज पौडेलले राष्ट्रपति पौडेललाई सो अवसरमा सम्मानपत्र प्रदान गरे । साथै महासचिव सोमनाथ गिरीले सम्मानपत्र वाचन गरेका थिए । रासस