काभ्रे/६ चैत-पनौतीका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका विषयमा वृहत छलफलको आयोजना गरिएको छ । काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनसँग पनौतीको शैक्षिक गुणस्तर सुधारका विषयमा ५ बर्षे सहकार्यमा हस्ताक्षर गरेको स्थानीय स्तरको शैक्षिक सुधारमा क्रियाशील ग्रामीण सामुदायिक संगठन (आरसीएफ) नेपालको आयोजनामा यो छलफलको आयोजना भएको हो ।
काठमाडौ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्रा. डा. बालचन्द्र लुइटेलको प्रमुख आतिथ्यतामा भएकोकार्यक्रम पनौती आधारभूत विद्यालयको नयाँ प्रांगण भिमसेनस्थानमा आयोजना गरिएको हो ।
पनौतीमा रहेका ३४ वटा सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका विषयमा के कस्ता समस्या र आवश्यकता रहेका छन् भन्ने विषयमा विद्यालय व्यवस्थापन समिति एवम् शिक्षक अभिभावक संघका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक वा उहाँका प्रतिनिधिहरुले घनिभूत छलफल गरेका थिए ।
छलफललाई सुव्यवस्थित बनाउन शुरुमा १ देखि ५ कक्षासम्म सञ्चालित आधारभूत विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले आफ्नो विचार राखेका थिए । त्यसपछि १ देखि ८ कक्षासम्म सञ्चालित विद्यालयका प्रधानाध्यापक र विव्यस अध्यक्षहरु अनि १ देखि १० कक्षासम्म सञ्चालित माध्यमिक विद्यालयका प्रधानाध्यापक र विव्यस अध्यक्षहरु अनि अन्त्यमा १ देखि १२ कक्षासम्म सञ्चालित विद्यालयका प्रधानाध्यापक र विव्यस अध्यक्षहरुले आफ्नो विचार प्रस्तुत गरेका थिए ।
आफ्नो विचार राख्ने क्रममा सहभागीहरुले मूख्यतयाः विद्यालयमा बालकक्षाबाट कक्षा १ मा जाँदाको अन्तर कम भएको हुँदा बीचमा अर्को एक तह थप गर्नुपर्ने, पूर्व प्राथमिक शिक्षालाई प्राथमिकतामा राखी थप प्रभावकारी बनाउनुपर्ने, पर्याप्त शिक्षक संख्याको अभाव भएको हुँदा स्थायी व्यवस्थापन अघि स्वयंसेवी शिक्षकको व्यवस्थापन गर्नुपर्ने, शैक्षिक सामग्रीको पर्याप्ता र प्रयोग कमजोर रहेको हुँदा यसलाई बढाउनु पर्ने, कक्षाकोठामा नै केन्द्रित गरेर शिक्षक तालिमको व्यवस्थापन गर्नुपर्ने, विषयगत शिक्षक तालिम सञ्चालन गर्नुपर्ने, शिक्षक र विद्यार्थीलाई मोटिभेसन जगाउने किसिमका कार्यक्रम गर्नुपर्ने, आकर्षक र बालकेन्द्रित कक्षाकोठा व्यवस्थापन गर्नुपर्ने, विद्यालयलाई प्रविधिमैत्री बनाउन यससँग सम्वन्धित तालिम व्यवस्था गर्नुपर्ने, संगित, नृत्य, नाटक, चित्रकला र खेलकुद विषयका शिक्षक व्यवस्थापन गर्नुपर्ने, दैनिक जीवनमा आवश्यक पर्ने सीपमूलक र व्यवहारिक विषयका कक्षा सञ्चालन गर्नुपर्ने, विद्यालय व्यवस्थापन र शिक्षक अभिभावक संघको क्षमता अभिवृद्धि, हरेक विद्यालयमा विव्यसको कार्यकक्ष व्यवस्थापन गर्नुपर्ने, अभिभावक सचेतना एवं विद्यालय समुदायको सुमसुध सम्वन्ध विकास गर्नुपर्ने जस्ता विषयमा केन्द्रित भएर धारणाहरु राखेका थिए ।
आफ्नो भनाई राख्ने क्रममा पनौती ११ स्थित लड्केश्व आधारभुत विद्यालयका प्रधानाध्यापक विष्णु शर्माले काठमाडांै विश्वविद्यालयले पनौतीको शिक्षाको गुणस्तर अभिवृद्धिमा सहयोग गर्न लागेको देखेर अत्यन्त हर्ष लागेको र यस अभियानले उत्कृष्ट नतिजा निकालोस भन्ने अपेक्षा प्रस्तुत गरे । उनले हात्ती आयो हात्ती आयो फुस्सा जस्तो नहोस भनेर शैक्षिक सुधारको यो अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउन सचेत गराए ।
पनौती ७ स्थित इन्द्रेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक उमारुद्र बस्नेतले काम गर्ने क्रममा आएका निराशालाई यस किसिमका कार्यक्रमहरुले उत्साह जगाउने र आशाको सञ्चार गर्ने गरेको छ भन्दै निदाएर बसेको जस्तो अवस्थामा यस किसिमको कार्यले झक्झकाउने काम समेत गरेको बताए ।
पनौती ५ मा रहेको धनेश्वर आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष अनिरुद्र थापाले नयाँ र युवा पुस्तालाई शिक्षण पेशामा आकर्षित गर्नुपर्ने कुरामा जोड दिए । सामुदायिक विद्यालयहरुमा रहेको स्रोतको अभावलाई पुर्ति गर्न सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिए ।
पनौती ८ स्थित भालेश्वर माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र के.सी.ले आफूले १६ बर्षे विद्यालय व्यवस्थापन समितिको नेतृत्व गरेको समय अवधिमा विव्यस, पिटिए र प्रधानाध्यापकहरु एकै ठाउँमा वसेर यस किसिमको प्रभावकारी छलफलमा सहभागी हुन पाएको पहिलो पटक भएको भनाइ राखे । उनले विव्यस, पिटिए र विद्यालय प्रशासनबीचको सुमधुर सम्वन्धले मात्र विद्यालयलाई द्रुततर गतिमा अगाडि बढाउन मद्दत पुर्याउने विचार व्यक्त गरे ।
कार्यक्रमका क्रममा आयोजक संस्था ग्रामीण सामुदायिक संगठन (आरसीएफ) नेपालका कार्यकारी निर्देशक श्रीकृष्ण थापाले काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनले पनौतीको शैक्षिक गुणस्तर सुधारमा ५ बर्ष काम गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर गरेकोमा पनौतीको सामुदायिक शिक्षाको लागि यो कोशेढुंगा सावित हुने विचार प्रस्तुत गरे । यसबाट विद्यालयहरुले धेरै भन्दा धेरै सहयोग लिएर लाभान्वित हुनुपर्ने विचार व्यक्त गरे ।
काठमाडौ विश्वविद्यालयका असिष्टेन्ट प्रोफेसर इन्द्रमणी श्रेष्ठ र डा. लिना गुरुङले पनौतीको शैक्षिक सुधारका लागि आवश्यकता पहिचान गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
गएको २३ बर्ष जतिको द्रुत परिवर्तनलाई राज्य, समुदाय, नेता, नागरिकले अनुभुत त गरेको बताए । तर, यो परिवर्तनलाई शिक्षाका अबयबसँग कसरी जोड्ने भन्ने कुराको हेक्का राख्न सकेको नदेखिएको भनाइ थियो ।
कार्यक्रमका प्रमुख अतिथी काठमाडांै विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्रा.डा. बालचन्द्र लुइँटेलले गएको २३ बर्ष जतिको द्रुत परिवर्तनलाई राज्य, समुदाय, नेता, नागरिकले अनुभुत त गरेको बताए । तर, यो परिवर्तनलाई शिक्षाका अबयबसँग कसरी जोड्ने भन्ने कुराको हेक्का राख्न सकेको नदेखिएको भनाइ थियो । उनले शिक्षक र प्रधानाध्यापकलाई अलिक धेरै गाली गर्ने ट्रेण्ड विकास भएको भए पनि गालीले समस्या समाधान नहुने बरु विद्यालय सुधार्ने जिम्मेवारी मूख्यतयाः प्रधानाध्यापक र शिक्षकमा नै रहेको विचार व्यक्त गरे ।
यस कार्यमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघलाई साथसाथै लान चाहि भुल्न नहुने कुरामा लुइँटेलले जोड् दिए । उनले भने “सिक्ने शिक्षक भयो भने विद्यार्थीले पनि सजिलै सिक्छन । शिक्षकले काम नजान्न पाइन्छ तर नगर्न पाइन्न ।” उनले कार्यक्रममा भएको सहभागीहरुको अत्यधिक उपस्थितिले पनौतीको समुदाय यहाँको शिक्षा सुधारमा निकै प्रतिवद्ध रहेको देखिएको बताए ।
यस किसिमको प्रभावकारी कार्यक्रमको आयोजनाको लागि ग्रामीण सामुदायिक संगठन (आरसीएफ) नेपाललाई धन्यवाद दिँदै विद्यालय शिक्षा सुधारमा सहभागीहरुले उठाएका समस्या समाधानमा धेरै भन्दा धेरै सहयोग गर्ने बचनवद्धता व्यक्त गरे । विश्वविद्यालय आफैले गर्न सक्ने सहयोग आरसीएफ मार्फत गर्ने र विश्वविद्यालयले नसक्ने किसिमका सहयोग अन्य निकायहरुको मद्दत लिएर भए पनि गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमका सभापति आरसीएफका संस्थापक एवं कार्यसमितिका उपाध्यक्ष विना हुमागाईले शिक्षा सुधार एक पक्षले मात्र गरेर प्रभावकारी नहुने सवै पक्ष मिलेर सहकार्य गर्दा प्रभावकारी हुने र उत्कृष्ट नतिजा आउने विचार व्यक्त गरिन ।