माग सुनुवाइ नभए अनिश्चितकालीन विद्यालय बन्द गर्ने विद्यालय कर्मचारीको घोषणा

काठमाडौं/१४ फागुन-नेपाल विद्याल कर्मचारी परिषद्ले पुनः आन्दोलन गर्ने घोषणा गरेको छ । केही समय यता गरिएको आन्दोलन तथा छलफललाई राज्यले वेवस्ता गर्दै आएको र गैर जवाफदेही बन्दै गएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको छ ।


नेपाल विद्याल कर्मचारी परिषद्को तेस्रो राष्ट्रिय सम्मेलनको घोषणा पत्र जारी गर्दै सामुदायिक विद्यालयमा कार्यकरत विद्यालय कर्मचारीहरुका कुनै पनि माग अहिलेसम्म पुरा नभएकोले आन्दोलनको विकल्प नरहेको जनाएको छ ।


२०४६ सालदेखि आफ्ना पेशागत हकहित र विभिन्न सेवा सुविधाका लागि शिक्षक संगठनहरु संघर्ष गर्दै आएपनि विद्यालय कर्मचारीका मागहरु हालसम्म पुरा नभएको विषयमा तेस्रो राष्ट्रिय सम्मेलनमा छलफल भई विगत लामो समय देखि न्यून वेतनमा कार्यरत हुन बाध्यपारिएको ३४ हजार ८ सय ५० जना विद्यालय कर्मचारीहरुको सेवा सुविधा सहित स्थायित्वका लागि तीव्र पहल कदमी गर्नु पर्ने निष्कर्ष गरेको घोषणा पत्रमा उल्लेख गरेको छ ।


माग पुरा गर्नका लागि विगत केही समय यता गर्दै आएका आन्दोलन तथा छलफललाई राज्यले वेवस्ता गर्दै आएको साथै गैर जवाफदेही बन्दै गएकोले विद्यालय कर्मचारी परिषद्को नेतृत्वमा २०७९ भाद्र १ गतेदेखि विभिन्न चरणबद्ध आन्दोलन कार्यक्रम गरिएको र उक्त आन्दोलन पश्चात वार्ता तथा छलफलामा विद्यालय कर्मचारीहरुलाई दुई प्रकृतिको सेवा उपलब्ध गराउन शिक्षा मन्त्रालय मन्त्री स्तरिय निर्णय हुँदा समेत राज्यको तर्फबाट आन्दोलनको सम्बोधन हुने गरी प्रक्रिया अगाडी नबढेकोले पुन आन्दोलनका कार्यक्रम घोषणाको विकल्प नरहेको जनाएको छ ।


तेस्रो राष्ट्रिय सम्मेलनले दुई बुँदे घोषणापत्र जारी गर्दै फागुन १५ गतेदेखि मसान्तसम्म सबै स्थानीय तहमा ध्यानाकर्षणपत्र बुझाउने, चैत १–७ गतेसम्म सबै शिक्षा विकास तथा समन्वय एकाइमा ध्यानाकर्षणपत्र बुझाउने, चैत १५ गतेसम्म सामाजिक विकास मन्त्रालयमा ध्यानाकर्षणपत्र बुझाउने र चैत २१ गते सङ्घीय सरकारका सम्बन्धित निकायलाई ध्यानाकर्षणपत्र बुझाउने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

परिषद्का अध्यक्ष गङ्गाराम तिवारी र महासचिव शान्तिनाथ योगद्वारा जारी गरिएको घोषणा पत्रमा घोषणा गएिको आन्दोलनको अवधिमा पनि राज्यको तर्फबाट सकारात्मक परिणाम आउन नसकेमा अनिश्चितकालीन विद्यालय बन्दको कार्यक्रम अगाडी बढाउने चेतावनी दिइएको छ ।