शिक्षामा राज्यको लगानी,चुनौती र दायित्व

काठमाडौं/१० माघ-नेपालमा सरकारबाट सामुदायिक शिक्षामा शिक्षक तथा कर्मचारी व्यवस्थापन र शिक्षकको निवृत्तभरण तथा विविध सुविधामा वर्षेनि खरबौँ रकम खर्च हुँदै आएको छ । विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार निर्माण र व्यवस्थापनमा अरबौँ लगानी भइरहेको छ । विद्यार्थी केन्द्रित विभिन्न सुविधा दिइएका छन् । विद्यालय तहमा आवासीय र गैर आवासीय १५ किसिमका छात्रवृत्ति सुविधा आर्थिक वर्ष २०७७÷ २०७८ मा रु २,४३,७४,९२,८००। खर्च गर्दा २६,०४,२६२ जना लाभान्वित भएका थिए ।


सामुदायिक विद्यालयहरुमा बालविकासदेखि कक्षा ६ सम्मका विद्यार्थीहरुलाई वार्षिक १ सय ८० दिनका लागि प्रतिदिन रु १५ को दिवा खाजाको व्यवस्था छ । कक्षा १ —९ सम्म रंगिन पुस्तक तथा कक्षा १२ सम्म पाठ्यपुस्तक निःशुल्क छ । कक्षा ६—१२ सम्मका बालिकाहरुलाई सामुदायिक विद्यालयमा स्यानिटरी प्याड निःशुल्क वितरणको व्यवस्था छ । प्रदेश, स्थानीय तह, निजी संघसंस्था तथा वैयक्तिक कोषका दाताहरु र अन्यान्य प्रयोजनमा प्राप्त हुने छात्रवृत्ति यहाँ उल्लेख छैन । शिक्षा शैक्षिक सहुलियत, सेवासुविधा तथा छात्रवृत्तितर्फ २०७९÷०७८ मा संघीय सरकारको शिक्षा क्षेत्रमा विनियोजित रकम पनि त्यही रुपमा गरिएको छ ।


सरकारले आधारभूत तह कक्षा आठसम्मका लागि दिने गरेको वार्षिक रु ४००। छात्रवृत्तिप्रति व्यापक गुनासो छ । विद्यमान बजार मूल्य अनुसार प्राप्त सेवासुविधा र प्रयोगको तुलना गर्दा छात्रवृत्ति प्राप्त गर्ने उपभोक्ता बालबालिकाहरु सन्तुष्ट छैनन् र असन्तुष्टको दर उच्च छ । राज्य तहबाट छात्रवृत्ति सेवासुविधा सबै जनताका आम समुदाय तहमा पुराउने प्रयासको सर्वत्र सराहना भएपनि गरीब, विपन्न र आवश्यकता केन्द्रित लक्षित वर्गमा न्याय नभएको तथ्यले सरकारप्रति गुनासो उच्च पाइन्छ । समाजका विपन्न, निमुखा वर्गमुखी छात्रवृत्ति पद्धति विकास गर्न वा छुट्टै कोषको व्यवस्था गरी हरेक स्थानीय तह र समुदायमा देखिने कम्तिमा ३ देखि १० प्रतिशतसम्मका बालबालिकालाई कम्तिमा प्रतिमहिना एक हजार र सम्भव भएसम्म दुईहजार उपलब्ध गराउने व्यवस्था आवश्यक छ । अन्यथा सामुदायिक शिक्षा प्रणालीमा देहायका समस्या समाधान हुन कठिन छ ।


१. सामुदायिक विद्यालयमा सरकारको पूर्ण आर्थिक लगानीको शिक्षा प्रणालीलाई विश्वास नगरी झण्डै २० लाख विद्यार्थी संस्थागत निजी आर्थिक लगानीका विद्यालयमा छन् । आधारभूत तहको शिक्षा निःशुल्क र अनिवार्य भएको मुलुकमा पनि २८ प्रतिशतभन्दा बढी सहभागिता कम्पनी कानूनमा आवद्ध संस्थागत निजी क्षेत्रका विद्यालयमा आफै आर्थिक लगानी गरी विद्यार्थीले पढिरहेको देखिनु कम चुनौतीको विषय होइन । समाजका धनाढ्य हुन वा शिक्षित वर्ग, जागिरे हुन वा व्यवासायिक वर्ग सबैका सन्तानहरुले निजी माध्यमको शिक्षा प्रणालीलाई प्रोत्साहित गरेको पाइन्छ । सरकारी शिक्षा प्रणालीमा शैक्षिक गुणस्तर तथा व्यवस्थापनमा समस्या छ वा सामाजिक आर्थिक विभेदका कारण सम्पन्न वर्गले यो प्रणालीलाई प्रश्रय नदिएर सरकारलाई चुनौती गरिरहेछ, भन्ने स्पष्ट देखाउँछ ।


२.जनतामा बढ्दो निजी शिक्षाप्रतिको विश्वास, मोह र आकर्षणले सरकारलाई सामुदायिक शिक्षा व्यवस्थापन प्रणालीमा व्यापक परिवर्तन गर्न, राज्यको साधनस्रोतलाई अधिकतम रुपमा विपन्नता र आवश्यकतामुखी समूह केन्द्रित बनाएर छात्रवृत्ति, शैक्षिक सहुलियत, सहयोगको सेवासुविधामा समाजका आश्रयहिन, गरीब बालबालिकामुखी हुन मार्ग प्रशस्त गरेको अनुभव हुन्छ । राज्यको भूमिका लोककल्याणकारी र सामाजिक न्यायमूलक एवम् प्रजातान्त्रिक अभ्यासमा शैक्षिक प्रणालीलाई फलाउन, फुलाउन कम्तिमा आधारभूत तह – कक्षा ८ सम्म) को शिक्षा जुनसुकै मूल्यमान्यता र खर्चमा सरकारले आफै सञ्चालन गर्ने र आर्थिक वर्गलाई निषेधित गर्ने दिशामा केन्द्रित गर्न सक्नु पर्दछ, यो चुनौती सरकार हुँ भन्नेहरुलाई समयले दिएको अनुभव हुन्छ ।


३.राज्यले सक्दै नसक्ने कक्षा १२ सम्मको शिक्षा निःशुल्कको नारा राजनीतिक दलहरुले छाड्नु पर्दछ । शिक्षामा सबैको सहभागिता र समानताको जग हाल्दै, गुणस्तरीय शिक्षाको प्रबन्ध गरी कक्षा नौमाथिको शिक्षामा हुनेले शुल्क तिर, नहुनेले तोकिएको मापदण्डमा बसेर शैक्षिक सहुलियत र छात्रवृत्ति लिएर आफै शुल्क तिर र पढ भन्ने व्यवस्था कायम गर्न आवश्यक भएको छ । सामुदायिक र निजी विद्यालयहरु बीचको शैक्षिक खाडलले समाजलाई आर्थिक वर्गीकृत गरेकोले समाजलाई खण्डिकृत गरेको छ । यो खाडललाई कम गरी सामुदायिक विद्यालयप्रति आम जनताको विश्वास आर्जन गर्ने एक मात्र उपाय लाभ लागतका आधारमा सामथ्र्यवानसंग शुल्क लिने र विपन्नलाई शैक्षिक पहुँचको वातावरण सिर्जना गरी गुणस्तरीय पठनपाठनको प्रबन्ध गर्ने हो र निःशुल्कको प्रणाली हटाउने हो भन्ने चेतना सरकारमा बस्नेहरुमा हुुनुपर्ने मुख्य चुनौती समयले दिएको छ ।


राज्यको शिक्षा प्रणाली व्यवस्थापन केही सवालहरु


आधारभूत तहको वार्षिक छात्रवृत्ति रकम रु चार सयलाई सबैको पहुँचको सस्तो मुद्दा राजनीतिक रुपमा यथावत कायम गरिरह्ने वा राज्यलाई लोककल्याणकारी, समतामूलक, सामाजिक न्यायको शासनको आधार प्रणालीमा रुपान्तरण गर्ने हो स्पष्ट हुनै पर्दछ ।


समाजका आर्थिक विपन्न, पिछडावर्ग, अभिभावकत्व नपाएका वा नभएका तथा असहाय अवस्थाका र विशेष आवश्यकता भएका बालबालिका केन्द्रित राज्यको आर्थिक लगानी गर्न किन सकिदैँन । सामुदायिक शिक्षामा निःशुल्क हुनाले मात्र बालबालिकाको पहुँच पुग्छ तथा शैक्षिक गुणस्तर बढ्छ ?भन्ने मानसिकता राजनीतिक दल, सरकार तथा तिनका पदाधिकारीहरुमा कहिले हट्छ ? यसर्थ शैक्षिक सेवासुविधा तथा छात्रवृत्ति आदिको प्रयोग गर्ने नीतिमा र समग्र शिक्षा व्यवस्थापन पक्षमा स्पष्टताका लागि बहस उठ्नु, हुनु र निचोडमा पुग्नु आवश्यक भएको छ ।


मेरो अनुभवमा देहायका पक्षमा राज्यको ध्यान जानुपर्ने बेला भएको छ :


१. शैक्षिक सहुलियत, सेवासुविधा तथा छात्रवृत्तिका विषयमा सर्वाङ्गीण पक्ष समेट्न हिमाल, पहाड, तराई तथा मधेश क्षेत्रका शहर तथा ग्रामीण क्षेत्रका सबै पक्ष, वर्गको प्रतिनिधित्व हुने गरी विशेष अध्ययन हुनुपर्ने ।


२. शैक्षिक सहुलियत, सेवासुविधा तथा छात्रवृत्तिका विषयमा विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म नै बृहद अध्ययन गर्न, गराउन र छात्रवृत्ति, शैक्षिक सहुलियत तथा सेवासुविधाबारे स्पष्ट राष्द्रिय नीति, योजना, कार्यक्रम तर्जुमा गर्ने ।


३. शिक्षक, प्राध्यापक तथा शिक्षा सेवाका जनशक्तिहरु नितान्त कर्मचारी जागीरे मनोवृत्तिबाट मुक्त भई बौद्धिक, प्राज्ञिक तथा प्राविधिक रुपमा जवाफदेही हुने गरी पेसागत सबल, सक्षम र हरेक पक्षमा गहन जानकारी दिन, लिन सक्ने एवम् विषयगत अध्ययन,विश्लेषण र उपयुक्त समाधान गर्न सक्ने अध्ययन अनुसन्धानमुखी जनशक्तिले युक्त हुनुपर्ने ।


४. शिक्षा क्षेत्रको जुनसुकै तह र ओहदाको राष्द्रसेवकले हरेक समय जागिरे अवधिमा राज्य तथा जनताका हितमा थालिने जुनसुकै प्राज्ञिक तथा प्राविधिक कामलाई आफ्नो स्वास्थ्य र बौद्धिक क्षमताले साथ दिएसम्म पूर्ण निष्पक्ष, निर्डर तथा इमानदार भएर आफूले सम्पादन गर्ने र काम, कर्तव्य तथा अधिकारप्रति जवाफदेही हुनुपर्ने ।


५. मुलुकको शिक्षा प्रणालीबाट उत्पादित जनशक्ति सार्वजनिक सेवाका सरकारी तथा जुनसुकै पदाधिकारी वर्गले राज्य निर्माणका क्रममा पवित्र आत्मा तथा नियतले राष्ट्र र जनताप्रति गरिने कामलाई जनसमक्ष आफूले गरेका कामहरुको पूर्ण जवाफदेहिताबाट सबै परिणामप्रति आफँै उत्तरदायित्व बहनको कानूनी प्रबन्ध गर्ने ।


६. शैक्षिक योग्यताबाट राज्यका तहमा स्थापित जुनसुकै राष्ट्र सेवक तथा पदाधिकारीले प्राज्ञिक तथा बौद्धिक कार्यका क्षेत्रमा निरन्तर अथक संघर्षसाथ आफ्नो वैयक्तिक पेसागत पहिचान कायम गर्ने र सार्वजनिक क्षेत्रमा निस्वार्थ योगदान गरी मानव संसाधन तथा दक्ष सिर्जनशील जनशक्तिको रुपमा आफूलाई स्थापित गर्दा मात्र पुरस्कृत हुने प्रणाली विकास गर्ने ।


राज्यलाई बलियो बनाउने शिक्षा प्रणाली प्रारम्भ गरौँ


सार्वजनिक शिक्षाका मुख्य समस्या पक्षको विश्लेषण नहुनु नै सामुदायिक विद्यालय शिक्षा सुदृढीकरण तथा प्रवर्धनका लागि ठूलो समस्या देखिन्छ । यी विकराल समस्या हटाउने तथा सबैको विश्वास जित्ने चुनौती विद्यमान सरकारलाई छ । कतिपय जिल्ला, स्थानीय तह, विद्यालयमा विद्यार्थी भन्दा शिक्षक धेरै, कतिपय जिल्ला, स्थानीय तह, विद्यालयमा शिक्षक दरवन्दी अति कम, कतै दरवन्दी नै नभएको, कति विद्यालयमा जति शिक्षक त्यति विद्यार्थी पनि नभएको, प्रत्येक कक्षामा दुईचार जना विद्यार्थी पनि नभएको, कक्षा एक तीनसम्म १० जना विद्यार्थी नहुने तर शिक्षक दुई जना रहेको, कक्षा पाँचसम्मका विद्यालयमा २५ देखि ५० जना विद्यार्थी नभएका तथा तीन जना शिक्षक कार्यरत हुने विद्यालयहरु सयौँ रहेका जस्ता विवरणलाई सच्चाउने र ती थोरै विद्यार्थीलाई गुणस्तरीय सिकाइ गर्न सक्ने शिक्षक क्षमताको विकास गर्न नसकिनु समस्या र चुनौती रहेका छन्, जसलाई सच्याएर अगाडि बढ्न आवश्यक छ ।


मेरो अनुभवमा विद्यालय शिक्षा पद्धति रुपान्तरण तथा शिक्षण सिकाइको गुणात्मकता एवम् प्रभावकारी व्यवस्थापनका पक्षमा सामुदायिक शिक्षा प्रणालीमा देहायका कार्यहरु राज्यका उच्च प्राथमिकतामा पारिनु पर्दछ :


१. वैज्ञानिक नक्सांकनका आधारमा विद्यालयको नयाँ स्थापना, समायोजन, पुरानाको खारेजी तथा आवश्यक स्थानमा पुनर्वितरण वा स्थान्तरण र स्थापनासमेत गर्ने ।


२. सबै स्थानीय तहको विद्यालय शिक्षामा साधारण तथा प्राविधिक विषयमा बालबालिकाहरुको सुव्यवस्थित पहुँच र सहभागिता सुनिश्चित गर्ने ।


३. विद्यालय तहको शिक्षामा प्रारम्भिक कक्षादेखि माध्यमिक तहसम्म नै स्थानीय, प्रदेशगत भौगौलिक विशेषतासहित सांस्कृतिक, रीतिरिवाज व्यवहारकुशल सीपहरुका साथै जनताले अपनाउँदै आएका, स्थानीय पेसा व्यवसायलाई पाठ्यक्रममा एकीकृत गर्ने र शिक्षण सिकाइ र पेसा व्यवसाय सीप अभिवृद्धि पक्षलाई जोड्ने ।


४. शिक्षण सिकाइलाई दैनिक जीवनसंग आवद्ध गर्न विद्यमान पाठ्यक्रम तथा कक्षा सिकाइक्रियाकलापमा व्यापक सुधार गर्ने तथा भाषाको साथसाथै सामाजिक, विज्ञान, जीवनोपयोगी सीप जस्ता विषय एकीकृत गरी पठनपाठनको व्यवस्था मिलाउने ।


५. विद्यालय शिक्षाको जीवन यापनमा सान्दर्भिकता र आकर्षण बढाउन समुदायस्तरमा सामूहिक नेतृत्वदायी र सहकार्यशील क्षमता बढाउने ।


६. जात,लिंगका आधारमा वितरण हुँदै आएको छात्रवृत्ति तथा अन्य शैक्षिक सहायता वा सुविधा तथा सहुलियत प्रणालीमा आमूल परिवर्तन गर्ने ।


७. छात्रवृत्ति तथा शैक्षिक सेवासुविधालाई समाजका गरीब, विपन्न,सुविधाविहिन वर्ग,कठिन परिस्थितिमा वा आश्रयविहिन, आमाबाबु नभएका, अपांगता भएका बालबालिकामा मात्र सिमित गर्ने ।


८. विद्यालयमा भर्ना भएका बालबालिकाहरुले घरायसी बालमैत्री वातावरणमा निरन्तर सिक्न, सबै अवसरमा समान सहभागी हुन र सिर्जनशील हुन पाउने व्यवस्था गर्ने ।


९. विद्यालयलाई समावेशी, सबैको अपनत्व हुने शैक्षिक, भौतिक वातावरण मिलाउने तथा भय, विभेद तथा दुव्र्यवहारबाट मुक्त गर्ने ।


१०. समाजको सांस्कृतिक विविधता अनुकूलको उच्च सम्मान हुने र जातीय विभेद हटाएर समतामूलक वातावरण निर्माण गर्ने ।


११. माध्यमिक तहको शिक्षामा व्यावसायिक तथा प्राविधिक धारको शिक्षाको व्यावसायिक पक्षहरुको अध्ययनको थालनी गर्ने तथा कक्षा १० र १२ को अन्तिम परीक्षा दिएका विद्यार्थीका लागि तीन महिनादेखि छ महिनासम्मको व्यावसायिक सीप अभिवृद्धि प्रशिक्षण व्यवस्था अनिवार्य लागू गर्ने ।


१२. प्राविधिक तथा व्यावसायिक शिक्षा व्यवस्थापनका लागि उपयुक्त शैक्षिक, भौतिक संरचना तथा शैक्षिक कार्यक्रम विकास र कार्यान्वयन गर्ने,गराउने दायित्व प्रदेश र स्थानीय सरकारलाई दिने ।


१३. शिक्षकहरुलाई कक्षा १–३, १–५, १–८ मा बहुकक्षा शिक्षण सीप, बहुविषय शिक्षण सीपको विधि तथा प्रशिक्षणका जनशक्ति विकास गरी अति दुर्गम, पातला बस्ती र विद्यार्थी अति कम भएका समुदायका क्षेत्रहरुमा आकर्षक सुविधा दिएर विद्यालयहरुका सट्टामा शिक्षण सिकाइ केन्द्र, ट्युसन प्रणालीमा रुपान्तरण गर्ने एक शिक्षक धेरै विषय अध्यापन र कक्षा प्रणाली विकास गर्ने ।


शिक्षा क्षेत्रमा आर्थिक लगानी नीतिगत व्यवस्था


देशको सबैभन्दा ठूलो सम्पति मानवपूँजी हो । यसर्थ ससाना बालबालिकालाई राज्यको अभिभावकत्वप्रति दरिलो विश्वास र भरोसा हुनु पर्दछ । तसर्थ विद्यार्थी क्षमता विकास गर्न सरकारी प्रयासप्रति आमजनताको विश्वास नभएमा राज्यको संकट आसन्न ढिप्किएको प्रतीत हुन्छ । सिकाइ पद्धति, अध्यापन सामग्री र मूल्याङ्कन मापदण्ड र सीप सिकाइका पक्षमा जनताका माग बमोजिम सामुदायिक विद्यालयहरुमा जनशक्ति विकास नभएमा राज्यप्रति अविश्वास बढ्दछ । सामुदायिक विद्यालय सुदृढीकरणतर्फ राज्यको गम्भीर ध्यानाकर्षण पर्याप्त नभएका कारण नै २९ प्रतिशत निजी विद्यालयतिर विद्यार्थीहरु अध्ययन गर्न, गराउन अभिभावक बाध्य भएका हुन भन्ने तर्क सुनिन्छ, जुन कुरा राज्य, सरकारप्रति जनताको अविश्वास हो र यस्तो हुनु दुखद छ ।


राज्यले सामुदायिक विद्यालयका सबै शिक्षकहरुलाई सबै किसिमका सेवासुविधा उपलब्ध गराउनु र विद्यालयमा आधारभूत भौतिक पूर्वाधार व्यवस्थापन गर्दा पनि शिक्षामा प्रभावकारिता नहुनुको पछाडि सचेत, शिक्षित तथा आर्थिक सम्पन्नएवम् राज्यका हरेक तहमा पहुँच भएका अभिभावक वर्गको साथ र विश्वास नपाउनुको परिणाम हो ।


सरकारी शिक्षा किन कमजोर भयो, बनाइयो भन्ने ? वास्तविक कारण नखोजिनु र यथोचित समाधानका लागि खोज अनुसन्धान नगरी बाहिरी नाराबाजीमा सामुदायिक शिक्षा सुदृढीकरणका नार घन्काइनु नै मुख्य समस्या हो । यसर्थ मेरो अनुभवमा राज्यको शिक्षा प्रणाली व्यवस्थापन र सुदृढीकरणमा देहायका पक्षमा सरकारको ध्यान जानु अति आवश्यक छ :


१. राजनीतिक दलहरुको चुनावी प्रतिवद्धता अनुरुप शिक्षा क्षेत्रमा आर्थिक लगानी वृद्धि हुने वैज्ञानिक आधार पूरा गर्न शिक्षा क्षेत्रले छुट्टै विशेष योजना, कार्यक्रम विकास गरी जनताको सरोकारका विषयमा स्पष्ट शैक्षिक उत्पादन जनशक्तिको सहभागिता अनिवार्य गर्नुपर्ने देखिन्छ ।


२. उच्च शिक्षा क्षेत्रमा आर्थिक लगानी गर्दा लाभ लागतका आधारमा मुलुकको समृद्धिमा विषयगत, प्राविधिक तथा व्यावसायिक शिक्षा क्षेत्रको सबै राजकीय पक्षमा ती विद्यार्थीहरुको स्पष्ट सहभागिता तथा सार्वजनिक क्षेत्रमा एक वर्ष इन्टर्नसीप सेवा अनिवार्य गर्न सकिन्छ ।


३. उच्च शिक्षामा स्वयम् सेवी दस्ता वा अभ्यास ÷ प्रशिक्षणमा विद्यार्थीहरुलाई शिक्षण संस्था, प्राध्यापक, शिक्षकहरु, समाज सेवा, सार्वजनिक सेवा तथा विकास, प्राविधिक क्षेत्रमा कानुनी व्यवस्थासाथ अनिवार्य सक्रिय सहभागी हुने प्रबन्ध खाँचो देखिन्छ ।


४. उच्च शिक्षाको नीतिगत मापदण्ड अनुसार स्वयम् सेवी तथा अभ्यास कार्यमा खटिने विद्यार्थीहरुलाई निर्वाह भत्ताको सुविधा सहित कार्य क्षेत्रमा एक वर्ष अनिवार्य काम गर्नुपर्ने कानुनी पद्धति विकास आवश्यक देखिन्छ ।


५. सरकारी, सार्वजनिक क्षेत्रका सबै पदमा ६५ प्रतिशत मात्र स्थायी पद कायम गरी ३५ प्रतिशत पदलाई अभ्यासार्थी विद्यार्थीका लागि निर्धारित गरी एक पद दुई इन्टर्नसीप प्रशिक्षार्थी गरी निर्वाहभत्ता सहित देशका कुनाकाप्चामा जनशक्ति परिचालन गर्ने नीति आवश्यक अनुभव हुन्छ ।


६. यसरी समग्र राज्यको २० प्रतिशत आर्थिक लगानी शिक्षा बजेटमा विनियोजन गर्न र हरेक सार्वजनिक सेवा क्षेत्रमा प्रशिक्षार्थी विद्यार्थी पहुँच सुनिश्चित गर्न सम्भव हुन्छ ।


७. राज्यलाई शिक्षामा आर्थिक लगानी वृद्धि गर्न कुनै समस्या नहुने र मुलुकले नयाँ नयाँ उर्जाशील जनशक्तिको सेवा प्राप्त गर्ने मात्र नभई उच्च शिक्षाप्राप्त जनशक्तिलाई देशप्रेम र जिम्मेवारी बोधको स्पष्ट योजना दिन सफल हुन्छ ।


८. सार्वजनिक क्षेत्रमा एक वर्ष प्रशिक्षार्थी विद्यार्थी खटाउन तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न शिक्षाको कुल बजेटमध्ये करीब ४० प्रतिशत बजेट विश्वविद्यालयहरुलाई विनियोजन गर्ने व्यवस्था गर्न सकिन्छ ।


९. विश्वविद्यालयहरुले राज्यका हरेक किसिमका अनुसन्धान, विकास निर्माण, स्वयम् सेवक दलको रुपमा शैक्षिक संस्थान वा सार्वजनिक क्षेत्रमा एक वर्ष विद्यार्थीहरुलाई निर्वाह भत्तासहित अनिवार्य काम गर्ने व्यवस्था मिलाउन सकिन्छ ।


१०. शैक्षिक अनुसन्धान, गुणस्तर अभिवृद्धि तथा शैक्षिक सामग्री प्रयोगशाला जस्ता सब क्षेत्रका लागि खर्च गर्ने कानुनी व्यवस्थासाथ कुल शिक्षा बजेटको ४० प्रतिशत उच्च शिक्षामा आर्थिक लगानी गर्दा उच्च शिक्षाको रुपरेखा नै परिवर्तन हुने सुनिश्चितता हुन्छ ।


११. विद्यालय/ विश्वविद्यालय तहमा स्वयम् सेवी दस्ता तथा प्रशिक्षार्थी विद्यार्थी पठाउने कार्यक्रम ल्याउन र कार्यान्वयन हुने व्यवस्था तथा शैक्षिक आर्थिक नीति पारित गरी कार्यान्वयन गर्न सकिएमा जुनसुकै क्षेत्रका करार शिक्षक, अंग्रेजी, गणित र विज्ञान शिक्षण अनुदान, स्वास्थ्य संस्थामा नर्स, सहायक चिकित्सक, चिकित्सक, इन्जिनियर, कर्मचारी जस्ता कार्यक्रम स्वयम्सेवीहरुबाट सञ्चालन गर्न सकिन्छ ।


१२. सरकारी, शान्ति सुरक्षा, संघ संस्थान, सार्वजनिक सेवा, विश्वविद्यालयहरु जस्ता क्षेत्रका कुल स्थायी दरवन्दीमध्ये ३५ प्रतिशत पदहरु अभ्यास÷ प्रशिक्षार्थी स्वयम्सेवी एक स्थायी पदको सुविधामा प्रत्येक दुई जना विद्यार्थीलाई निर्वाह भत्ता दिने गरी पढ्दै रोजगारीको सेवा समेत दिन सकिन्छ ।


अन्तमा एउटै लेखमा सबै विषय अटाउन सक्दैन । क्रमश धेरै अनुभव र विचारहरुलाई जनताको पक्षमा समावेश र समर्पण गरी मुलुकको समृद्धि र विकासमा यो लेखक अहोरात्रसमर्पित छ ।


(लेखक ईश्वरीप्रसाद पोखरेल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय,उपसचिव हुन् ।)