घोराही/१ माघ-पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.दिपकबहादुर भण्डारीले प्राविधिक शिक्षा लिन सकियो भने कोही पनि बेरोजगार बन्न नपर्ने बताएका छन् । उनले प्राविधिक शिक्षा लिएपछि देशमै केहीगर्न सकिने भन्दै सिप सिकेर विदेश जानेले पनि राम्रो काम पाउने बताए । अहिले विदेशमा जाने क्रम बढेको भन्दै सिप विना विदेश जानेले दुःख मात्रै पाइरहेको भनाई थियो ।
राप्ती इञ्जिनिरियङ कलेज घोराहीको ११ औं बार्षिकोत्सवका अवसरमा शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै रजिष्ट्रार भण्डारीले युवाशक्ति विदेशमा जानका लागि लालायित भइरहेको भन्दै पढ्नका लागि भनेर विदेश गइरहेकाहरु कामदारका रुपमा परिणत भइरहेको बताए । ‘पढ्नका लागि भनेर विदेशमा गएकाहरुले गर्ने भनेकै मजदुरी हो, कोही व्यक्ति काम गर्दै पढाई गर्दछु भन्यो भने त्यो पनि सम्भव हुँदैन, विद्यार्थीका रुपमा जानेहरुले आफ्नो भविष्य अन्धकार बनाइरहेका छन्’ भण्डारीले भने ।
देशमै बसेर केही गर्नका लागि युवा विद्यार्थीलाई सुझाव दिंदै भण्डारीले संसारको जुन कुनामा रहेको गुणस्तरिय शिक्षा यहीँ बसेर लिन सकिने दावी गरे । बढ्दो सूचना प्रविधिको प्रयोग गरेर अथाह ज्ञान लिन सकिने भन्दै उनले सुचना र प्रविधिको प्रयोग गरेर विश्वका उत्कृष्ट ज्ञान लिन आग्रह गरे । अर्को प्रशंगमा उनले दाङ जिल्लामा शिक्षाको राम्रो सम्भावना रहेको बताए ।
दाङ जिल्लालाई शिक्षाको हब बनाउन सकिने आधारहरु रहेको भन्दै आफूहरुले १६ बर्ष अघि राप्ती इञ्जिनियरिङ कलेज स्थापनाका लागि अनुमती दिँदाको भन्दा अहिले अवस्था निकै फेरिएको धारणा राखे । नेपालको विकासका लागि काम लाग्ने इञ्जिनियर उत्पादनका लागि राप्ती इञ्जिनिरिङ कलेजले राम्रो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक तुलसीराम भण्डारीले नेपालमा प्राविधिक शिक्षाका लागि पोखरा विश्वविद्यालयले काम गरिरहेको भन्दै राप्ती इञ्जिनियरिङ कलेजले राम्रो जनशक्ति उत्पादन गरिरहेको भन्दै खुसी व्यक्त गरे ।
कार्यक्रममा कलेजका प्रिन्सीपल रेशम गिरीले कलेजको अवस्थाका बारेमा जानकारी गराउँदै कलेजबाट उत्पादन भएको जनशक्ति ९० प्रतिशत रोजगार तथा स्वरोजगारमा रहेको बताए । सो अवसरमा कलेजमा संचालन गरिएका विभिन्न खेलकुद र अतिरिक्त कृयाकलापमा प्रथम द्वितिय र तृतिय स्थान हासिल गरेका विद्यार्थीहरुलाई प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो ।



