विश्वविद्यालयले विद्यालय तहको महत्व बुझेर दक्ष शिक्षक उत्पादन गर्नुपर्ने सुझाब

काठमाडौं/१८ पुस-एकाइसौं शताब्दीका विश्वविद्यालयले विद्यालय तहको महत्व बुझेर दक्ष शिक्षक उत्पादनमा जोड् दिनुपर्ने विज्ञले बताएका छन् । विद्यालय तहको गुणस्तरीय शिक्षाका लागि दक्ष शिक्षकको आवश्यकता पर्ने बताउँदै विश्वविद्यालयले दक्ष शिक्षक उत्पादनमा जोड दिनुपर्ने बताएका हुन् ।


खबर एजुकेशनको आयोजनामा अक्षरा स्कूलमा विज्ञसँग गरिएको छलफल कार्यक्रममा बोल्दै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्द बहादुर सिंहले नेपालमा दक्ष शिक्षकहरुको अभाव रहेको बताउँदै विश्वविद्यालयहरुले ध्यान दिनुपर्ने बताए । विद्यालय तहमा राजनीति गर्न नहुने र विद्यालयको नेतृत्व राम्रो भए गुणस्तरीय शिक्षा कायम गर्न सकिने धारणा राख्दै उनले एजुकेशन आयोग गठन गरेर शिक्षा क्षेत्र सुधारका लागि सरकारले काम गर्नुपर्नेमा जोड दिए ।


उनले भने “विश्वविद्यालयमा समस्या मात्रै छ भनेर उपकुलपतिहरु बस्न हुँदैन । राजनीतिक दलसँग,कुलपतिसँग, सहकुलपतिसँग र स्थानीय तहहरुसँग बसेर छलफल गरी समाधान गर्नुपर्छ । अनि मात्रै विश्वविद्यालयलाई सुधार गर्न सकिन्छ ।”


त्यसैगरी मध्यपश्चिम विश्वविद्यालयमा आफु कुलपति भएर जाँदा ४० करोड बेरुजु भएकोमा त्यसलाई घटाएर अहिले ३ करोड ५२ लाखमा ल्याएको जानकारी दिए । “अहिले विश्वविद्यालय विश्वको ११ हजार ८ सय ८१ वरीयतामा रहेको छ । १ हजार वरीयता भित्र ल्याउने उदेश्यका साथ मैले काम गरीरहेको छु” उनले भने ।


उपकुलपति सिंहले दक्ष शिक्षक उत्पादनको अवधारणा बनाएर विश्वविद्यालयले पाठ्यक्रमको निर्माण गर्नुपर्ने बताउँदै मध्यपश्चिम विश्वविद्यालयले दक्ष शिक्षक उत्पादनका लागि नयाँ नयाँ विषयहरु सञ्चालन गर्न लागेको जानकारी दिए ।
शिक्षाविद् मेदिन लामिछानेले अहिलेकै तरीकाले शिक्षक उत्पादन गर्ने हो भने विश्वविद्यालयले यस्ता कार्यक्रमहरु सञ्चालन नगर्न आग्रह गरे । दक्ष शिक्षक उत्पादनका लागि नेपालमा शिक्षकको आवश्यकता कती हो,त्यसको एकिन गरेर त्यसै अनुरुप पाठ्यक्रम निर्माण गर्नुपर्ने सुझाब दिए ।


उनेले शिक्षा शास्त्र संकाय अन्तर्गत त्रिविले मात्रै ९९ हजार ग्राजुएट शिक्षक उत्पादन गरे पनि दक्ष शिक्षक नभएको बताए । उनले भने “अहिले ग्राजुएट गरेका शिक्षक कक्षा कोठामा बस्नै सक्दैनन् । विद्यालयले राम्रो सेवा सुविधा दिएपनि दक्ष शिक्षक पाउन मुस्किल छ । विश्वविद्यालयले त्यस्ता दक्ष शिक्षक उत्पादन गर्न सक्नुपर्छ जसले अरु पेशाका लागि सोच्न नपोरस् ।”


काठमाडौं वल्र्ड स्कुलका अध्यक्ष डा.मिथिलेस कुमार झाले अबको २५ वर्ष पछि शिक्षा क्षेत्र कहा पुग्ने प्रक्षेपण गरेर विश्वविद्यालयले त्यसै अनुरुपको काम गर्नुपर्ने बताए । साथै नेपाल सुहाउँदो योजना सहितको शिक्षा अपनाउनु पर्नेमा जोड् दिए । नेपालमा पढाउने पद्धतिमा समस्या रहेको बताउँदै यसको विकास गर्न विश्वविद्यालय लाग्नुपर्ने र पद्धतिसँगै दक्ष शिक्षक उत्पादन गर्नुपर्ने बताए ।


अक्षरा स्कूलकी फाउण्डर प्रिन्सिपल अञ्जु भट्टराइले विश्वविद्यालयले सैद्धान्तिक विषयलाई घटाएर व्यवहारिक विषयलाई ध्यान दिनुपर्ने बताइन । उनले सामाजिक इमोसनलाई हेरेर शिक्षक उत्पादन गर्नुपर्ने र त्यसै अनुसारको पाठ्यक्रम विश्वविद्यालयले निर्माण गर्नुपर्नेमा जोड् दिइन । साथै शिक्षकले विद्यार्थीलाई कस्तो व्यवहार गर्ने, संस्कारलाई बढी ध्यान दिनुपर्ने, इसिडि, प्राइमरी र मावि तह अनुसार कस्तो शिक्षक आवश्यक रहेको छ त्यसलाई ध्यान दिएर पाठ्यक्रम बनाउन आग्रह गरीन ।


सुदेशा स्कूलकी फाउण्डर प्रिन्सिपल बिरङ्गना महर्जनले शिक्षा संकायबाट आएका शिक्षक राख्दा विद्यालयले सोच्नुपर्ने अवस्था रहेको बताउँदै दक्ष शिक्षक उत्पादनमा विश्व्विद्यालयले ध्यान दिनुपर्ने बताईन । साथै अरु विषय पढ्न नसके पछि मात्र एजुकेशन पढ्ने गरेको पाइएकोले यसका लागि मापदण्ड निर्धारण गरेर उत्कृष्ट विद्यार्थीलाई विश्वविद्यालयले भर्ना लिनुपर्ने बताईन ।