काठमाडौं/१२ पुस-शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपाल र कार्टुनिष्ट क्लब अफ नेपालको सहकार्यमा शैक्षिक कार्टुन प्रदर्शनी गरीएको छ । कार्टुनको माध्यमबाट शैक्षिक मुद्दाहरुलाई अझ बढी मुखरित बनाउन र सशक्त सन्देश दिने उदेश्यले शैक्षिक कार्टुन प्रदर्शनी गरीएको हो ।
ब्ल्याकबोर्ड शिक्षकमा ६५ वटा शैक्षिक कार्टुनहरु नेपाल आर्ट काउन्सिलमा प्रदर्शनमा राखिएको छ । एनसिई नेपालद्धारा आयोजित सार्वजनिक शिक्षा सम्मेलन २०७९ कै अङ्गका रुपमा शैक्षिक कार्टुनहरु प्रदर्शनीमा रहेको एनसिइका अध्यक्ष राजेन्द्र पहाडीले बताए । उनले हजार शब्दलाई एउटै चित्रमार्फत बुझाउन सक्ने कार्टुन सशक्त माध्यम रहेको धारणा व्यक्त गरे ।
त्यसैगरी कार्टुनिष्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले प्रदर्शित कार्टुनले कोभिडको संकटपूर्ण अवधि र वर्तमान अवस्थाको दुरावस्था गरी नेपालको शिक्षामा भोगिएका दुई अवधिलाई झल्काउने बताए । अहिले पनि शिक्षा ब्ल्याकबोर्डकै चरणमा गुज्रिरहेकोले कार्टुन प्रदर्शनीलाई विम्बका रुपमा ब्ल्याकबोर्ड नामाकरण गरीएको बताए ।
उनले कोभिड महामारीमा भोग्नुपरेको कठिनाई, शिक्षामा अहिलेको बेथिति, संविधानमा व्यवस्था भएपनि बालबालिकाले सार्वजनिक विद्यालयमा निशुल्क शिक्षा पाउन बञ्चित हुनुपरिरहेको अवस्थालगायत दर्जनौं मुद्दालाई कार्टुनमा दर्शाउन खोजिएको र कार्टुनमार्फत जवाफदेहिताको खोजी गरिएको बताए ।


















