प्रदेशस्तरीय वक्तृत्वकलामा मदरल्याण्ड र नृत्यकलामा पारागन प्रथम

काठमाडौं/९ पुस-राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) बागमती प्रदेशद्वारा आयोजित अन्तरजिल्ला प्रदेशस्तरिय वक्तृत्वकला प्रतियोगितामा मदरल्याण्ड स्कुल भक्तपुरकी प्रशंसा कार्की प्रथम स्थान र लोकनृत्य प्रतियोगितामा भक्तपुर कै पारागन एकेडेमी स्कुलको लोकनृत्य समूह प्रथम भइ हुन सफल भएका छन् ।


नेसनल प्याब्सन बागमती प्रदेश समितिको अध्यक्ष नारायण कुमार कार्कीको अध्यक्षता, सचिव गेन्द्र लामाद्वारा संचालित, नेसनल प्याब्सन केन्द्रिय सह–अध्यक्ष सुबास न्यौपानेको प्रमुख आतिथ्यता, नेसनल प्याब्सन केन्द्रिय उपाध्यक्ष डम्बर कार्कीको विशेष अतिथि , नेसनल प्याब्सन सिन्धुली जिल्ला अध्यक्ष सोनाम बज्यु, नेसनल प्याब्सन भक्तपुर अध्यक्ष संजय खड्का, नेसनल प्याब्सन ललितपुर जिल्ला अध्यक्ष तारा सापकोटा, नेसनल प्याब्सन काभ्रे उपाध्यक्ष बोधि केश लगायत बिभिन्न व्यक्तित्वहरुको उपस्थितिमा निब्स स्कुल मण्डीखाटारमा भव्य रुपमा सम्पन भएको थियो ।


उक्त वक्तृत्वकला प्रतियोगितामा मनास्लु वर्ल्ड स्कुल चुच्चेपाटी काठमाण्डौका अनुश्री न्यौपाने दोस्रो र समय पाठशाला सिन्धुलीका अमिस कुमार गुप्ता तेस्रो हुन सफल भएका छन् । त्यसैगरि लोकनृत्य तर्फ समय पाठशाला सिन्धुली दोस्रो र ओराकल इंग्लिश मेडियम स्कुल ललितपुर तेस्रो भएका छन् । प्रथम, दोस्रो तथा तेस्रो हुन सफल भएका प्रतियोगीहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ ।


साथै दुवै विधामा प्रथम स्थान हाँसिल गरेकाले विद्यार्थीहरुले आगामी पौष २७ गते राष्ट्रिय सभागृहमा नेसनल प्याब्सनको २५ औं स्थापना दिवसको अवसरमा सम्पन्न हुने राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुनेछन् ।